आज अचानक पत्र लेख्ने इच्छा जाग्यो । मिति लेख्न भित्ते पात्रो हेरें । तीन नोभेम्बर रहेछ ? यो त सारै ननीको दिन । हातमा कलम थामिएन । सम्झँदै स्तब्ध भएँ । यो लुटाहा मिति कहिल्यै नआए हुन्थ्यो । यसले केसम्म गरेन ? सारा धन–सम्पत्ति लुट्यो । मेरो सुखी परिवार, समाज र आफन्तहरूबाट टाढामात्र बनाएन अँधेरी रातमा देशै छाडेर भाग्न विवश बनायो ।
त्यस रात रोयल भूटान पुलिसका ओ.सी, हवल्दार र दुई जना कन्स्टेबल मलाई छल्न आएछन् । साम्ची जिल्लामा राजा जिग्मी सिंगे वाङ्गचुकसँग ब्लक मण्डलहरूको मिटिङ्ग छ भनेपछि रातको एक बजे बाटो लागियो । हुकुमको जवाफ छैन । जानै पर्छ । कहिलेकाँहि यस्तै हुने गर्थ्यो । मनभित्र शङ्कै भएन । बाटो लाग्नासाथ हाउभाउ फरक पाएँ । दुई जना मेराअघि दुई जना पछिल्तिर लागे । ममाथि षड्यन्त्र भो । केहि बेरपछि भाग्ने जमर्को गरें ।
मौका हेर्दै तोदे खोला किनारासम्म पुगियो । झोला भुइँमा राखें । निष्पट्ट अध्यारोमा झुक्याएर हाम फालें । खोलामा पानी धेरै रहेछ । केहिक्षण बगाए पनि बल गर्दा भारततर्फको बगरमा उत्रन सफल भएँ । ती ब्वाँसाहरूले म खोलाभित्र डुबुल्किएको पत्तै पाएनन् । पारिपट्टिबाट सुटुक्क भागिहालें । मनमनै जन्मभूमि भूटानलाई निरंकुशताको दल्दल्बाट मुक्ति दिलाउने प्रण गरे । साठी किलोमिटर खालिखुट्टा हिडेर ज्यान जोगाइयो ।
सन् १९८९ नोभेम्बर तीनको आगमन समयमा सारा भूटानीहरू मस्त निद्रामा हुँदा म एक्लै गन्तब्यहीन बाटोतर्फ दगुरेको थिएँ । मेरा लागि चार जना पुलिसलाई छल्नु जति सजिलो र खुसी थियो श्रीमती, बालख छोराछोरीसहित सम्पत्ति र जन्मभूमिलाई सदाका लागि पराय बनाइनु त्यति सहज र सह्य विषय थिएन । साथमा कोहि थिएनन् । कहाँ पुग्ने ? लक्ष्य थिएन । आशय थियो भाग्ने, ज्यान बचाउने । ईश्वर दाइना भएर आफू जोगिए पनि बालबच्चाहरूको बिचल्ली हुने पीडाले छात्तीमा आगो बल्थ्यो ।
समाधानको उपाय खोज्ने एउटै मात्र सहारा ईश्वरमाथिको पूर्ण भरोसा साथमा थियो । म भागेलगत्तै घरमा तालाबन्दी भएछ । सम्पत्ति लुटिएछ । परिवारले कयौं दिनरात जङ्गलमा बिताएछन् । चार महिनापछि भतीजो तीर्थ पौडेल, गौरीशंकर खनाल र जियालाल अग्रवालको प्रयासबाट परिवारसँग मिलन भयो । अरू सबै पराधीनमा छन् ।
हामीले मागेका हौं केवल समान अधिकारसहितको प्रजातन्त्र । पायौं बृहत् धोखा, तिरष्कार र लाञ्छना । सायद यीनै मानव जीवनका अभिन्न मित्रहरू हुन् । “कता जान्छस हराउने बिलाउनेको देशमा” भनेझैं हाम्रो लक्ष्य अन्त कतै बिलाउने थिएन ।” वाल बच्चा, परिवार हाम्रा भविष्यका आधार हुन् । उनीहरूका लागि हाम्रो चित्त काटिनै पर्छ । सुख, सुविधा र उज्वल भविष्यको मार्गचित्र हामीले नै कोरी दिनुपर्छ । यद्यपि, पुनर्वास हाम्रो लक्ष्य थिएन । समाजबाट टाडिने इच्छा होइन । जन्मभूमि त्याग्ने कल्पनासम्म गरिएन । तर, नचाहेर पनि स्वीकार्नु परेको छ । हेर्दाहेर्दै आफन्त, साथीहरू परदेशी भए । सामाजिक सञ्जालतिर भेटिए तर्किने, छलिने भए । सुनेको छु कुरा चल्दा अज्ञानी, अनपढ, अनाडी भन्न सिपालु छन् रे’ ।
दोष उनीहरूको मात्र होइन, युगौं चलिआएको मानव स्वभाव हो । हामीले चित्त बुझाउनु पर्छ । आशा गर्नुपर्छ समय बदली रहन्छ । ठक्कर खाएपछि पहरो फुट्छ । धेरै उम्लिए आफै पोखिन्छ । घमण्ड केहि समयपछि स्वतः तोेडिन्छ । मनभित्रका चोटहरू पुरिँदै जान्छन् । घाउ बिस्तारै भरिएपछि खुम्चिएर साविककै अवस्थामा फर्कनु पर्छ । यो प्राकृतिक नियम हो । समय धेरै बलवान हुन्छ । सही र सत्य ढिलै उजागर हुन्छ प्रतीक्षा गर्नुपर्छ । संयमताले मार्ग चित्र कोर्छ । अन्न, पानी खानेले हरेश खानु दुष्कर्म ठहरिन्छ । धेरै हतासिएर पनि हुँदैन गलत अर्थ लाग्न सक्छ ।
साथी ! आज सत्ताइस वर्षपछि पहिलोपटक सामाजिक सञ्जालमार्फत मनभित्रको बह पोख्दै छु । यो पत्र पढ्नेबित्तिकै क्रिया, प्रतिक्रियाको बाढ् नै चल्ने निश्चित पनि छ । यद्यपि, यो नौलो भने होइन । यसअघि भएको छ । अब हुन्छ । हुनु पनि पर्छ । मेरो विचारसित सहमत हुनेको आन्तरिक सोच सजिलै थाहा हुन्न तर, विमति या उग्र विरोध गर्नेहरूकोे व्यक्तित्व आफै उजागर हुँनेहुँदा मलाई मनपर्छ । मैले मात्र होइन पाठक वर्गसमेतले छर्लङ्ग बुझ्ने गरि लेखि दिनेहुँदा मेरा लागि विरोधी दुर्वचनहरू शिक्षाप्रद हुन्छन् । लाञ्छना र विरोध भनेकै सतर्कताको संदेश हो । स्वस्थ्यकर विरोधको स्वागतसहित आह्वान पनि गर्छु ।

अन्त्यमा, हामी शारीरिकरूपमा टाडिए पनि मानसिक सामञ्जस्यता रहनै पर्छ । मानव जीवन चक्रझैं घुम्ने गर्छ । निराशा नजिक नओस् । जिम्मेवारी वोधलाई कमजोर नपारौं । घरको सम्झनामा, समाजको वेदनामा, जन्मभूमिको समस्यामा टाडिएर होइन आत्म विश्वासकासाथ अघिबढ्नु पर्छ । निश्चय नै हामी मात्र थन्किएर पुग्दैन ।
परिवर्तनको बलिवेदीमा होमिएका साथीहरूको मुक्तिमा लागि सबै जुट्नु पर्छ । सहिदको सपना साकार पार्ने जिम्मेवारी हाम्रो काँधमा छ । देशभित्रका जनता पिञ्जरामा बन्दी छन् । सुनकै भए पनि पिञ्जरा बन्धन नै हो । त्यहाँबाट बाहिरिन मूल ढोका खोल्नै पर्छ । सदीयौदेखि निरंकुशताको आगोभित्र जलिरहेको मुलुकका लागि एकताको खाँचो छ । दैनिक दुईथोपा आँसु र थोरै पसिनामात्र खर्चियौं भने विविध समस्याको निदान हुन्छ । खर्च ठूलो हुँदैन, छैन पनि ।
शारीरिक रूपमा उपस्थित हुन जरूरी छैन । इश्र्या, घमण्ड र अहंकार त्याग्नेवित्तिकै आफ्नो परिचय खुल्छ । भाषा, समाज, कला, संस्कृति र जन्मभूमिको महत्वको वोध हुन्छ । यो मेरो कसैप्रतिको आक्रोस होइन । इश्र्या, लाञ्छना वा उपदेश होइन । देशको सम्झनामा, आफ्नो कर्तव्यमा लक्षित विचारहरू लिपीवद्ध गरिएका मात्र हुन् ।
त्यो देश उसको निमित्तको माटो होइन जहाँ आफ्नै चिहानका लागि दुई पाऊ जमिन छैन । यसैले अरूले साथ नदिए पनि मचाँहि मेरै मुलुक फर्कने लक्ष्यमा छु । यो आजको मितिको ठीक वर्ष दिनपछि मैले बामे सरेको आँगनमा रमाउन पाउँ । यही मीठो कल्पना र चाहना बाँडेर आज बिदा लिएँ । विस्तृत अर्को पत्रमा… ।
(बलराम पौडेल भुटानको स्वतन्त्रता आन्दोलनमा सक्रिय र निर्वासित जीवन बिताइ रहनु भएका अधिकारकर्मी हुनुहन्छ । यो पत्र पौडेलको फेसबुकबाट साभार गरिएको हो )
















प्रतिक्रिया