
– ईश्वर पोखरेल
नेकपा एमालेका सिराहा क्षेत्र नं ४ का तात्कालिन सांसद हेमनारायण यादवको २०६० माघ १९ गते हत्या भएको थियो । त्यसबेला उहाँ नेकपा एमाले सिराहा जिल्ला कमिटीको सचिवालयका सदस्य र राजाको प्रतिगमन विरोधी राजनीतिक आन्दोलनमा जिल्लाका अगुवा नेता समेत हुनुहुन्थ्यो । उहाँ सशक्त, जुझारू र स्थापित नेताका रूपमा परिचित हुनुहुन्थ्यो । त्यही आन्दोलनको तयारीका सिलसिलामा लहानमा जाँदैगर्दा बाटैमा पर्ने नेपाली सेनाको ब्यारेकबाट गिरफ़्तार गरियो र पछि उहाँलाई त्यहीँबाट वेपत्ता पारियो । दुई दिनपछि उहाँको शव कमला नदीको किनारामा अस्वभाविक अवस्थामा भेटिएको थियो । त्यो हत्याको विरोधमा सिंगो जिल्ला विरोधमा उत्रेको थियो । जिल्लाका आमनागरिकले सत्ताका सुरक्षा अंगबाट सुनियोजित रूपमा गरिएको हत्या भनेर विरोध जनाइरहेका थिए । जिल्ला तथा देशका विभिन्न ठाउँमा विरोधका कार्यक्रमहरू आयोजना भइरहेका थिए । यस्तै आन्दोलनको सशक्त दबाबका कारण राजा ज्ञानेन्द्र एक कदम पछाडि हट्न बाध्य बनेका थिए । र, आफैले अपदस्थ गरेका प्रधानमन्त्री शेरवहादुर देउवालाई प्रधानमन्त्री पदमा स्थापित गर्न बाध्य बनेका थिए । यस्तो अवस्थामा ‘प्रतिगमन ठहरावमा पुगेको’, ‘प्रतिगमन आधा सच्चिएको’ भन्ने विश्लेषणका साथ हामी एमाले देउवाको सरकारमा सामेल गएका थियौं । र, त्यही सिलसिलामा म पनि देउवाले नेतृत्व गरेको सरकारको मन्त्री बन्न पुगेको थिएँ ।
हामी देउवा सरकारमा सामेल भए पनि आन्दोलनसित गाँसिएका कतिपय मागहरूलाई मन्त्रिपरिषद्को बैठकबाटै औपचारिक निर्णय गराएर पूरा गराउने हाम्रो कोसिस हुने गर्थ्यो । यही प्रयत्न स्वरूप २०७२ साल माघ १८ गतेको मन्त्रिपरिषद्को बैठकबाटै कमरेड हेमनारायण यादवको हत्या सम्वन्धमा छानबिन गर्न एउटा अधिकार सम्पन्न आयोग गठन गर्ने निर्णय भएको थियो । त्यो निर्णयबाट लामो समयदेखि हुन नसकेको एउटा भए पनि काम भयो भनेर मलाई औधी खुशी लागेको थियो । यही खुशी बोकेर भोलिपल्ट अर्थात् २०६२ साल माघ १९ गते म विराटनगर हुँदै सिराहातर्फ लागेको थिएँ । छानबिनका लागि आयोग बन्ने, हेमनारायणजीको शालिक बनाउने र त्यसका लागि राज्यका तर्फबाट १० लाख रुपैँया उपलव्ध हुने कुराको औपचारिक जानकारी गराउँदै दोश्रो श्रद्धान्जली कार्यक्रममा सहभागिताका लागि म त्यता लागेको थिएँ । तर त्यो खुशीलाई मैले सिराहाका साथीहरू र हेमनारायणजीको परिवारसमक्ष पुर्याउन सकिन । म मन्त्री पदमा रहँदारहँदै सिराहा जाँदै गर्दा राजबिराजमै गिरफ्तार गरिएँ । त्यही बिहान राजा ज्ञानेन्द्रद्वारा सम्पूर्ण सत्ता आफ्नो हातमा लिएको घोषणा गरिएको थियो। यही घोषणासंगै म बहालवाला मन्त्री हुँदाहुँदै पनि गिरफ़्तार भएको थिएँ । कमरेड हेमनारायण यादवप्रति मेरो श्रद्धान्जली व्यक्त गर्ने, शालिक शिलान्यास गर्ने चाहना र योजना त्यसै चक्नाचुर बनेको थियो ।

त्यसवेला प्रारम्भ भएको कहालीलाग्दो राजनीतिक परिस्थितिले सिर्जना गरेको अनिश्चितताका बीचमा मैले प्रहरी हिरासतबाटै कमरेड हेमनारायणलाई श्रद्धान्जली दिएको थिएँ । त्यसपछि विकसित परिस्थितिका अनेक उतारचढावका बीच हामीहरूले गुज्रनुपर्यो । तर पनि बीचबीचमा कमरेड हेमनारायणसित सम्वन्धित विम्वहरू मेरा दिमागमा नाचिरहे । उहाँका विभिन्न गतिविधिहरू तथा अभिव्यक्तिका विम्वहरू मेरा दिमागमा आइनै रहन्थे । तर संयोगले आज २०७३ साल कार्तिक १७ गते जनकपुरमा नेकपा एमाले प्रदेश नं. २ द्वारा दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको अवसरमा सिराहा आउन बनाइएको कार्यक्रममा कमरेड हेमनारायणको शालिकमा माल्यार्पण गर्ने औसर पनि मिल्यो । साथीहरूले सिराहा बजारको बीचमा रहेको उहाँको शालिकमा माल्यार्पण गर्ने, उहाँप्रति श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम बनाउनु भएको रहेछ । म खुशी भएँ र कमरेड हेमनारायणप्रति विगतदेखि आफैभित्र थुनिएर रहेका भावनाहरू एकाएक व्यक्त हुनलागेको अनुभूत गरें । बजारको बीच चोकमा अत्यन्त आकर्षक ढंगले अग्लो कदमा निर्माण गरिएको हेमनारायणजीको शालिक सामू श्रद्धापूर्वक शिर निहुर्याएर पहिले उभिएँ । र, पछि उहाँको शालिकमा माल्यार्पण गरें । माल्यार्पण गरेर उहाँको शालिकमा हेरिरहँदा उहाँले हामीहरू सबैतिर हेरेर भनिरहे जस्तो लाग्यो– ‘कमरेडहरू, प्रतिकूलताहरू आइरहनेछन् , तर हिम्मत नहार्नुहोला ! एमालेको भविष्य उज्जवल छ, देश बचाउनुपर्छ !’
आज एक किसिमले मन हलुका भए जस्तो लागिरह्यो । शाही शासनको कहालीलाग्दो दुष्चक्रका कारण त्यसवेला खोसिएको क्षण आज पुनः पाए जस्तो लाग्यो । कमरेड हेमनारायणप्रति हार्दिक श्रद्धान्जली !















प्रतिक्रिया