काठमाडौं, ११ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक नेपाल भ्रमणको ‘भिभिआइपी उडान व्यवस्थापन’मा जुटेको छ ।
भ्रमण प्रारम्भ हुने मुख्य बिन्दु विमानस्थलबाटै मुलुकको पहिलो छवि झल्कने भन्दै विमानस्थल व्यवस्थापन त्यसको तयारीमा जुटेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
मुखर्जी १७ देखि १९ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै छन् । यस क्रममा दुई दिन सर्वसाधारणले भने सास्ती भोग्नुपर्नेछ ।
मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् ।
सन् २०१४ मा सार्क सम्मेलनमा भाग लिन आउने पाहुनाको व्यवस्थापन गर्दा चार दिनसम्म विमानस्थल पूर्णतया प्रभावित भएको थियो ।
त्यसवेला धेरै यात्रुले आफ्नो उडान–तालिका परिवर्तन गरी टिकट रद्द गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा हुने स–साना घटनाले पनि उडान–अवतरण प्रभावित हुने गर्छ ।















प्रतिक्रिया