३० आश्विन २०८३, शुक्रबार

‘मायाप्रिती र यौन दुराचारको विषय पढ्दा कञ्चट नै तातिए’

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chandraraj-panta-new२०६२ चैत २४ गतेदेखि सुरु भएको १९ दिने जनआन्दोलन, नेपाली जनता समक्ष सात दलद्वारा आह्वान, तत्कालीन नेकपा माओवादीद्वारा संचालित सशस्त्र संघर्षलाई स्थगित गरेको अवस्थामा दलहरुबीचको एकताप्रति उत्साहित हुँदै सर्वसाधारण नेपाली जनता साथै उद्योग व्यवसायी, पेशाकर्मी, शिक्षक, विद्यार्थी, मजदुर, सिंगो नागरिक समाज सबै तह र तप्काहरू नै अधिराज्य भरका सहर र सदरमुकाममा केन्द्रित हुँदै आन्दोलनमा सहभागी हुँदै गए । राजधानीमा आन्दोलनले ज्वारभाटा पैदा गर्न लाग्यो ।

त्यसैक्रममा दाङको सदरमुकाम घोराहीमा आन्दोलनले व्यापकता पाउँदै गयो । क्रमशः २०६३ चैत्र १० गतेसम्म आउँदा त दाङले केन्द्रलाई नै धक्का दिने कार्यक्रम भयो । त्यसदिन घोराहीमा दुई लाख भन्दा बढी आन्दोलनकारीको सहभागिताले ऐतिहासिकता नै प्राप्त गर्न सफल रह्यो । आन्दोलनको सुरुको दिन २०६२ चैत्र २४ गते पहिलो दिनदेखिनै एउटा युवक फुर्तिलो जोसिलो पारामा चर्काचर्का नारा लगाउँदै आन्दोलनकारीको मासलाई व्यवस्थित गर्न तल्लीन देखिन्थे । कहिले अगाडि त कहिले बीचमा र कहिले पछिल्लो भागमा गएर पनि लाइन मिलाउने, नारा घन्काउन लगाउने, युवाहरुलाई परिचालित गर्दै रहे ।

यो पङ्तीकारका लागि उनी अपरिचित जस्तै थिए । पछि मात्र थाहा भयो उनको सविन प्रियासन हो । नवोधित पत्रकार हुन् । कहाँका हुन्, के गर्छन् बाँकी त्यसदिन थाहा भएन । सुरुका दिनदेखि अन्तिम दिनसम्म अर्थात १९ दिन सम्मनै उनी एकदमै क्रियाशील रहिरहे । गर्मीयाम भएको हुँदा जनप्रदर्शन धेरैजसो दिनमा दुई पटक हुन्थ्यो । विहान र साँझ पख । सविन दुबैपटक सम्मिलित हुनुका साथै उनको अग्रसरता निरन्तर कायमनै देखिन्थ्यो । मौका पाउँदा कोण सभामा चर्का भाषण गर्न पनि चुक्दैनथे । उद्घोषकको शैली राम्रै थियो । पूरै १९ दिने जनआन्दोलनमा पनि ज्यादै क्रियाशील रहिरहे । त्यसपछिका दिनहरुमा मेरो पनि उनीसंग सामिप्यता बढ्दै गयो । उनको विशेषता अर्कालाई आदर गर्ने पक्षले पनि म प्रभावित हुँदै गए ।

०६२/०६३ को जनआन्दोलनको सफलता पश्चात मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गयो । दलहरुबीचको एकताको दुरी बढ्यो । सामाजिक क्षेत्रमा समेत राजनैतिककरण हुँदै गयो । विकास निर्माणमा राजनैतिक हस्तक्षेप बढ्यो । यस्तो अवस्थामा सहजीकरणका लागि सामाजिक परिचालनहरु मध्येमा पत्रकार सविन प्रियासनको पनि सक्रियता थियो नै । त्यस्तै पहिलो र दोश्रो संविधान सभा निर्वाचनमा संचारकर्मीको भूमिकामा पनि उनी पछि परेनन् । जिल्लाको विकास निर्माण साथै सरकारी गैरसरकारी कार्यहरुमा हुने ढिलासुस्ती, जनताका सेवा सुविधाका विषयहरुमा चासो रह्यो । पेशाले संचारकर्मी भएता पनि सामाजिक कार्यहरुमा क्रियाशिलता नै रहेको छ ।

पुनरागमन उपन्यास प्रकाशित भएको समाचारले म अचम्मित पनि भए । मलाई लाग्यो राजनीतिक विषयको उपन्यास होला । कौतुहल जाग्यो प्रियासनले उपन्यास पनि लेख्ने रहेछन् । केही दिनपछि मुखै फोरेर उपन्यास मागे । सविनले पाउनु भाछैन भनि प्रतिप्रश्न गरे र किताब दिए । सुझावका लागि आग्रह पनि गरे । बिचोबिचको पाना पल्टाएर पढ्न लागे । मायाप्रिती र यौन दुराचारको विषय पढ्दा कन्चट नै तातिएको जस्तो भयो ।

राजनैतिक विषय होला भनेको त फरक विषय पो रहेछ । पत्रिकामा राम्रो दखल राख्ने, राजनीतिमा समेत चासो रहेका सविनले उपन्यासको दुई तीन पानाले मलाई दिग्भ्रमित बनायो । सुरुदेखि पढ्दै जाँदा क्रमशः मन प्रफुलित हुँदै पनि गयो । समाजमा देखिएको व्याप्त विकृति विसंगतिका कारण अहिलेको पिंढी युवायुवतीहरुले विवेक नपुराउँदा पुरै जीवन नै कष्टकर मात्र हुने होइनकी घरपरिवार साथै समाजमा नै अपहेलित भएर बाँच्नुपर्ने अवस्थाका पीडाहरुलाई रोमान्टिक शैलीमा उपन्यासमा समावेश गरिएको छ ।

सामान्य लहडबाट उत्पन्न हुने ज्वारभाटाले ठूलै रुप लिदै मायाप्रितिको आगोसमा जगडेर राख्ने हुँदा यौन उत्तेजनाको चक्रव्यूले उसलाई घुमाइ नै रहन्छ । त्यसबेला चाहेर पनि अलग हुन सक्ने अवस्था नहुन सक्छ । अलग त्यसबेला मात्र हुन सक्छ जसबेला अनेकौ प्रकारका अवरोधहरु तेर्सिएका हुन्छन् । त्यस्ता अवरोधले उसको जिन्दगीलाई नै धुमिल पार्न सक्छ । वर्तमान समयमा पनि हाम्रो समाज सामाजिक संरचनाले पचाउन सक्दैन । समाजमा टिकाटिप्पणी हुने हुँदा सहजै त्यसको सामना गर्नसक्ने अवस्था पनि आउँदैन ।

खासगरी आफ्नो क्षमता अनुसारको शिक्षा हासिल गरेपछि युवायुवतीहरुमा केही गर्ने इच्छा जागृत हुनु स्वभाविक हो । जसबाट आफ्नो भविष्य सुखमय बन्दै जावस् भन्ने चाहाना राख्दै सर्भिस व्यापार, वैदेशिक रोजगार आदिमा कार्यरत हुनै पर्दछ । त्यसबेला आफ्नो पेशा थायित्वका लागि अनेकौ असहज परिस्थितिको सामना गर्नुपर्ने, लचकता अपनाउनु पर्ने बाध्यताको अवस्था एकातिर टट्कारो रुपमा ठडिएको हुन्छ भने जवानीले उसलाई रंगिन दुनियाप्रतिपनि आकर्षित पार्दै जान्छ ।

संगत गुनाको फलले पनि उसलाई कुमार्ग या सत्मार्गमा अगाडि बढाउने वा पछाडी पार्ने अवस्था रहन्छ । अतिनै महत्वकांक्षी बन्दै रंगिन सपना देख्नेहरु प्राय असफल हुन्छन् भने आफ्नो क्षमता अनुसार नै चल्नुपर्छ । कर्मगर्दै जानु कर्म गरेमा नै फल प्राप्त हुन्छ भन्ने मान्यतासाथ अगाडी बढेमा जीवन सुखमय बन्दै जान्छ ।

हाम्रो सामाजिक परिवेश, कला संस्कृतिलाई अहिले विश्व जगतमै उच्च स्तरीय सम्मानका साथ लिइन्छ । यसमा हामीले गर्व गर्नुपर्छ । हाम्रो सामाजिक मुल्य मान्यताका राम्रो पक्षलाई झनै विकसित गर्दै गएमा हामीबीच सामाजिक सद्भाव, सामन्जस्यता प्रगाढ हुने हुँदा आफ्नै किसिमको पहिचानमा बढोत्तरी हुनेछ । उपन्यास पुनरागमनको पहिलो भागमा बसन्त र पाण्डव मामा र फुपुको छोरा दुई भाइबीचको सौहार्दतालाई नमुनाकै रुपमा लिन सकिन्छ । उपन्यासमा महिला पत्रकारहरुले भोग्नुपरेको व्यथा, कथालाई राम्रै गरी उजागर पारिएको छ ।

साथै दृढ इच्छाशक्ति भए जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने क्षमता महिलामा हुन सक्छ भन्ने उदाहरण पत्रकार अरुणालाई पात्र बनाइएको छ । त्यतिमात्र नभई बालककाल देखिनै भौतारिएकी सराव र सवाबमा चुर्लुम्म डुबेर थोत्रिएकी सकुन्तलालाई समेत अरुणाले उद्दार गर्नुले कुलतमा फसेकाहरुका लागि पनि प्रेरणाको श्रोत महिला नै बन्न सक्छन् । कुनै पनि पेशा व्यवसायमा रहेर पनि विकृतिका विरुद्ध सामाजिक सुधारका लागि सबैले आफ्नो कर्तव्य निभाउनु पर्छ भन्ने उद्देश्य रहेको छ पुनरागमन उपन्यासका पानाहरुमा ।
अन्त्यमा, उपन्यासकार सविन प्रियासनका कला संस्कृतिको निरन्तरताको अपेक्षा राख्दै झनै परिस्किृत हुँदै जाउन् ।

राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा समेत टेवा पुग्दै नयाँ पिढीका लागि पनि मार्ग दर्शक कै रुपमा रहनेछ । मुलुकमा लामो संघर्ष र बलिदानबाट प्राप्त राजनीतिक स्वतन्त्रता पश्चात अब आर्थिक सामाजिक, सांस्कृतिक विकास अपरिहार्य छ । यसका लागि पत्रकार, साहित्यकारहरु नै समाजका दृष्टि हुन् । अब सामाजिक रुपान्तरणको अपरिहार्यतालाई उपन्यासकार प्रियासन लगायत साहित्कारहरुले आफ्ना कलमका माध्यमबाट अग्रगमनको मार्गमा नयाँ पिंढीलाई मार्ग निर्देशन गर्दै अगाडि बढी रहनेछन् भन्ने अपेक्षा सहित धन्यवाद ।

(लेखक दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं नागरिक समाज दाङका सचिव हुनुहुन्छ )