३० आश्विन २०८३, शुक्रबार

लोकतन्त्रका मुसाहरु लोकमानसंगै सती जाऊ..

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

unnamedहिजो आज नेपाल लोक भरि अजंगको जीउँ भएका लोकमानकै चर्चा छ । मनुवाहरु लोकमानको हिडाई, खवाई,लवाई र घुमाई सबैको चर्चा गरिरहेका छन् मानौँ यो लोकतन्त्र  लोकमानकै लागि आएको हो । हाम्रा बा ले वेदका मन्त्र घोके जस्तै चौतारो देखि चिया पसल सम्म यिनै लोकमानकै चर्चो गरिरहेका छन् ।

लोकले नमानेका लोकमानको ईतिहाँस मैले किन कोट्याउनु र ! सबै मिडियाको खुराक बनेकै छ , मैले त केहि ‘लोग’ ले  ठानेका लोकले नमानेका लोकमानको महात्म्य मात्र चर्चा गरे  पुग्ने भयो । लोकतन्त्र भन्ने ब्यवस्थामा लोकमानकै कुरा नगर्नु पनि कसरी ? केहि ‘लोग’ ले  मानेपछि लोकले मान्नु नपर्ने रहेछ । बडेमानका लोकमानको  जय होस् । लोकमानका ख्वामितको जय होस् !

यी लोकमान पनि अचम्मका रहेछन्, अालुको तरकारी जस्तै जता पनि सुहाउने, चिटिक्क ! भाग्यमानी हुन् यिनी : राजाका पनि प्रिय, युवराजका पनि प्रिय र अहिलेका नवयुवराजका झनै प्रिय । हुकुमी प्रमांगीबाट फ्याट्ट फड्केर राजाका सेवक लोकमान हुँदा हुँदै लोकतन्त्र पछि त झन् ढुकुटीकै सेवक सम्म बन्न पुगेछन् । यिनको बखान गर्न गाली शिरोमणी र ताली शिरोमणी अनि गाडी शिरोमणीले त सक्दैनन् भने म काली शिरोमणीले के सक्नू र ?

खासमा कुरो के भने क़ाज़ी देखि ‘दा’ जी सम्मका प्यारा पहिले पन्चायतमा पनि प्यारा, बहुदलमा पनि प्यारा, अझ लोकतन्त्रको आन्दोलन दवाउन बडो कष्ट झेल्दा पनि ख्वामितहरुको साझा उमेदवार बन्न पाउनु त पुरस्कार पो थियो: उनले यो  पुरस्कारको पनि क़दर गर्नै पर्थ्यो :  ब्यक्तिगत रिसईवी भएका अमुक अमुक: हरुलाई भ्रष्टाचार करार गरिदिने, सेतो कपाल देखि लामो कपाल सम्मका लाई प्रेम पत्र पठाउने यस्ता झोँक प्रेमी लोकमान ज्यू को चर्चा हजार जिभ्रो भएका शेषनागले त गर्न सक्दैनन् भने म बबुरोले के गर्नु र ?

लोकमान महात्म्यलाई मुसा र बिरालो संग जोडेर ब्याख्या गर्ने हो रमाईलै होला: लोकतन्त्र पछि पनि धेरै कोट काट्ने मूसाहरुको बिगबिगी भयो, यिनीहरु कहिले छानु काट्ने, कहिले तानु काट्ने त कहिले मानु काट्ने अमूक मुसाहरुले अजंगको बिरालो लोकमानलाई आफ्नो हितमा काम गर्ने गरी बिशेष दूत बनाएर पठाएकै हो क्यारे !

मुसाका धेरै दुलो हरु देखेका बडेमानका बिरालो रुपी लोकमानले ठूला ठूला मुसाहरुलाई एक छत्र धन्सार देखि संसार सम्म कुटुकुटु काट्दा आँखा चिम्लेर ध्यानमग्न हूँदा भए भन्ने आरोपहरु पनि आएकै हुन् । बिरालो रुपी लोकमानले आफैले कति तर चोरे भन्ने कुरा मुसाहरुले कसरी पो मालूम गरून् र !
खासमा यी लोकमानले ठूला मुसाहरुलाई समाउन सक्दैनन्, सक्ने भए समाई सक्थे ।

सबैलाई थाहा छ: मुसाहरुका खास बन्न पुगेका बिरालो रुपी लोकमानले वफ़ादार भएरै स-साना छेपाराहरुलाई आफ्नो दिब्यदृष्टिले शिकार गरिरहेकै हुन् । ढुकुटीको हेरचाह गर्ने ज़िम्मा पाएका बिरालो रुपी लोकमानले घोर्ले मुसाको शिकार त कसरी गरून् र ! अब मुसाहरुकै निगाहमा ढुकुटी हेर्न पाएका  लोकमान म्याउँ म्याउँ गरी केहि घरेलु मुसा देखि जंगली मुसाको  शिकार गर्ने प्रहसन गर्दा मुसाहरुको ठूलो समूह ढाडे बिरालोरुपी लोकमान  प्रति क्रोधित भएकै हो । केहि मुसाहरु सँग कुरा मिल्यो, केहि संग बिच्कियो ! फेरि मिल्यो, फेरि बिच्कियो ! हर ! हर  ! लोकमानतन्त्र !

जे होस् धन्सार हेर्ने ज़िम्मा पाएका लोकमानले सन्सार हेर्न तम्सेपछि के गर्नू र ! अति भए पछि खती हुन्छ भन्थे बिधि मिच्ने मामलामा लोकमानको ढाडेपन पनि कहाँ चानचुने छ र ?
बिरालो र मुसाको मिल्दैनन् भन्थे मान्छेहरु तर मुसाकै गर्भ बाट जन्मेको बिरालो र मुसाको केमेष्ट्री ठ्याक्कै मिल्ने रहेछ क्यारे यत्तिका दिन त मिलेकै हो नि ! गज्जव छ: खान पाईन्जेल र स्वार्थ मिलिन्जेल जता पनि डि. एन. ए. मिल्छ , मिल्ने रहेछ !

होईन भने गोबिन्द बाजेले दश पटक सम्म आमरण अनसन गर्दा चुईक्क नबोल्ने मुसाहरु अकस्मात् कसरी लोकमानलाई महाअभियोग लगाउने अभियानमा सहमत भए । यो सहमतिमा के गुह्य लुकेको छ त्यो त हेर्नै बाँकी छ तर हिजो आँखा चिम्लेर बसेका लोकतन्त्रका नवयुवराज  मुसाहरु एकाएक लोकमान संग रिसानी हुनुको राज कतै आफ्नै धोती फुस्कने डर भएर हो कि भन्ने पो लाग्या छ यो बबुरोलाई । तर राम्रै नियतले भएको देख्ने सुन्ने मन् छ यो बबुरोको ! भोलि बिरालोको ठाउँमा फ्याउरो आउने हो कि भन्ने डर छ, जनतालाई त बाघ पो चाहिएको थियो ।

रायमाझी आयोगले दोषी ठहराएका लोकमानलाई त दण्डित गर्नुपर्ने थियो: मुसाहरुले पुरस्कृत गरे, त्यो के बाध्यता थियो यो त ख्वामितहरुले मुख खोल्दै जालान् । आची गरिसकेपछि दैलो देखेर के काम ! तर मिलेमतोमा जे पनि गर्न उद्दत यी बिरालो र मुसाहरुको मिलनलाई जनता जनार्दनले राम्ररी बुझ्नु पर्ने छ ।

यो देशमा न्याँय मरेको धेरै भईसकेको छ । केहि मुठ्ठी भर बिरालो र मुसाकै खटनमा देश चलिरहँदा
हामी जनता चाहिँ साक्षी बसेर चिच्याई मात्र पो रहेका छौँ । अझ फुटको तानाबाना बुनिरहेका छौँ । जे भन्छन् पत्याई रहेका छौँ ।

sargam-bhattrai-1हो ! लोकतन्त्रमा अदालतलाई सम्म लत्याउने लोकमानतन्त्र  हावी हुनु हुन्न, तर यहि सिलसिलामा धन्सार देखि सन्सारमा चलखेल गर्ने लोकतन्त्रका मुसाहरु कुनै बहानामा उम्कने हुन् कि भन्ने पो डर भो बा ! सबै मुसाहरु लोकमान रुपी बिरालो संगै  सती जानुपर्छ, वा पठाउनु पर्छ । अख्तियारमा अब बिरालो हैन हिम्मतवाला बाघले बागडोर सम्हाल्नु पर्छ ।

एउटा बिरालो रुपी लोकमानले भन्दा सयौँ गुना बढि लोकतन्त्रका मुसाहरुले देशको छातीमा प्वाल पारेका छन् ।

यी सबै मुसाहरुलाई बिरालो संगै सती पठाउनुपर्छ वा देश निकाला गर्नुपर्छ तर अफ़सोच मुसाहरुको  गठबन्धन बलियो भईरहेको छ । तर केही मुसाहरुलाई धर्म संकट छ: न त लोकमानको बिरोधमा खुलेर लाग्न सकेका छन् न त समर्थन नै गर्न सकेका छन् । यीनीहरुका लागि लोकमानको मुद्दा नखाउँ त दिन भरिको शिकार, खाउँ त कान्छा बाबुको अनुहार भएको छ ।
तर जनता चाहन्छन्: अति गर्ने लोकमान र खती गर्ने मुसाहरु दुबैलाई ठिक गर्ने घोर्ले बाघको पर्दापण हुनुपर्छ । पर्ख र हेर भनेर च्याँखे थापेर बस्ने लोखर्केहरुको बेलैमा नशबन्दी गरिदिनु पर्छ । बिरालोरुपी लोकमान सती गएको, या झन बलियो भएको खुशी यी लोकतन्त्रका बिविध मुसाहरुले मनाउनु हुँदैन । मुसाहरु पनि संगै सती जानु पर्छ ! यदि यीनीहरु सती गएनन् भने फेरी मुसाहरुकै कुटुकुटु तन्त्र चल्ने छ । बिरालो रुपी लोकमानले जिते भने त झन् मनपरी तन्त्र चल्ने छ !
यो बबुरोलाई बडो चिन्ता लागि रहेछ !!