वाशिंगटन डिसी । नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का, बसन्त रेग्मी, शरद भेषावकर, सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु क्रिकेट खेल्न अमेरिका आउने भएका छन् ।
उनीहरु अमेरिकाको टेक्सास राज्यको हुस्टनमा हुने प्रतियोगिताको लागि सात सदस्यीय टोलि आउने निश्चित भएको हो । आगामी नोवेम्बर को ९ देखि १३ तारिखसम्म आयोजना हुने प्रतिस्पर्धात्मक खेलमा सहभागी जनाउने भएका छन् ।
उक्त खेल टोलीलाई पूर्णता दिन अमेरिकामा रहेका नेपाली राइनोज क्रिकेट क्लबका खेलाडीहरुले साथ दिने भएका छन् ।
यसको अतिरिक्त राष्ट्रिय खेलाडीको अमेरिका आगमन संगै अक्टोबर ३० तारिखमा डीसी महानगर क्षेत्रको भर्जिनियामा कप्तान पारस खड्का, सिद्धान्त लोहनी तथा बसन्त खड्का संग भेटघाट तथा स्वागत कार्यक्रम राखिएको छ ।
यसको अतिरिक्त क्रिकेट खेलाडीहरु घाइते भएमा सहयोग गर्ने हेतुले केहि राहत कोष वृद्धि कार्यक्रम समेत राखिएको छ ।
आयोजकले राष्ट्रका गौरब र शिर उच्च बनाउन सफल नेपालका चर्चित राष्ट्रिय क्रिकेटहरुलाई हौशला दिन डीसी महानगर क्षेत्रका सबै नेपाली समुदायलाई आग्रह गरेको छ ।
यसको साथै नोवेम्बर ६ तारिख मेरिल्याण्ड राज्यको हयात्सभिलमा घाइते राहत कोष वृद्धिको साथै नेपाली राइनोस क्रिकेट कल्बका बिरुद्ध वाशिंगटन क्रिकेट क्लबका सबै खेलाडीहरुबीच मैत्रीपूर्ण तथा च्यारिटी ९परोपकार० क्रिकेट खेल हुने तय भएको छ ।
उक्त खेलमा बिशेष खानाको प्रबन्ध गरिनु को साथै सांगीतिक माहौलको साथमा क्रिकेट खेल हुने आयोजक नेपाल राइनोज क्रिकेट टिम ले जनाएको छ ।
कार्यक्रमको तारतम्य, व्यवस्थापन तथा सम्पूर्ण रेखदेख थ्री ई इन्टरटेनमेन्ट तथा मेरिल्याण्डका हामी नेपालीको सहकार्यमा हुने भएको छ ।
प्रतियोगिताको मुख्य उद्देस्य नेपालका क्रिकेट खेलाडीलाई अमेरिकाको भ्रमण गराई घाइते राहत कोषको वृद्धि गर्नु रहेको आयोजकले बताएका छन् ।
यसको साथै थ्री ई इन्टरटेनमेन्टले कार्यक्रम बाट उठेको आर्थिक आम्दानी तथा खर्च कटाएर बचत भएको रकम राहत कोषमा जाने बताएको छ ।
आयोजक ,नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो ।
यस्को लागि राइनोस क्रिकेट कल्ब गैर मुनाफा सामाजिक संस्था युएसए नेपाल कम्युनिटि आउटरिच नेटवर्क ,टेक्सास नेपाली समाज ,डलास एवेरेस्ट लाइन्स कल्ब तथा अन्य नेपाली गैर मुनाफा सामाजिक संस्था संग सहकार्य गर्दै अभियानलाई सफल बनाउने प्रतिबद्धता लिएको छ ।
हुस्टनमा नोवेम्बर ९ देखि हुने खेलको लागि नेपाल, युएई, बेलायत, पाकिस्तान तथा अमेरिकाका अन्य क्लबहरुको सहभागिता रहनेछ । उक्त टि– २० नामक प्रतियोगिता ५ दिन चल्नेछ ।
पहिलो दिन नोवेम्बर ९ तारिख नेपाली राइनोज बिरुद्ध बेलायत भिड्ने छन् भने नोवेम्बर १० तारिख नेपाल राइनोज बिरुद्ध युएई खेल्ने छन् ।
नोवेम्बर ११ तारिख नेपाली राइनोज बिरुद्ध न्युजर्सी समरसेट भिड्ने छन् । नोवेम्बर १२ तारिख तथा १३ तारिख सेमी फाइनल तथा नोवेम्बर १३ तारिख अन्तिम खेल (फाइनल) हुनेछ ।
















प्रतिक्रिया