१२ कार्तिक २०८३, बिहिबार

अन्तर्राष्ट्रिय विराट् हिन्दू सम्मेलनमा क्रिश्चियनहरूको घुसपैठ !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14720558_1296263150413630_4164509583248589244_nकाठमाडौं, ६ कात्तिक । हिन्दू धर्मका नाममा पूर्वराजा ज्ञानेन्द्रलाई पुनस्र्थापित गर्ने अभियान चलाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय विराट् हिन्दू सम्मेलनमा कुटाकुट र हुलदंगापछि भाँडभैलो मच्चिएको छ ।

सनातन हिन्दू मोर्चासहितको एउटा ठूलो समूहले अप्रजातान्त्रिक प्रक्रियाबाट पूर्वजनरल भरतकेशर सिंहलाई शुक्रबार जबर्जस्ती विश्व हिन्दू महासंघको अध्यक्ष घोषणा गरिएको भन्दै विरोध जनाएपछि सम्मेलनमा कुटाकुट र भाँडभैलो मच्चिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

बिहीबार पशुपतिस्थित वनकालीमा उद्घाटनपछि प्रज्ञाभवन कमलादीमा धर्मसभा चलिरहँदा भाँडभैलो मच्चिएपछि सम्मेलनको दोस्रो दिन नै प्रतिनिधिहरू तितरबितर भएका छन् । सम्मेलन समापन हुँदा साँझ २५–३० जनाको संख्यामा प्रतिनिधि धर्मसभामा थिए ।

निर्वाचनमण्डलले सिंहलाई अध्यक्ष घोषणा गरिरहेकै वेला मोर्चा प्रतिवाद गर्दै सम्मेलनबाट बाहिरिएको थियो । सिंह पक्षधर र मोर्चा पक्षधरको झडपमा ज्योतिष परिषद्का केन्द्रीय सदस्य विशाल सिवाकोटी घाइते भएका छन् ।

उनलाई टाउको, आँखा र ढाडमा चोट लागेको छ । घाइते सिवाकोटीको वीर अस्पतालमा उपचार गरिएको मोर्चाका प्रवक्ता पुष्पराज पुरुषले बताए ।

यसरी सुरु भएको थियो विवाद

सम्मेलनमा १० देशबाट करिब दुई सय प्रतिनिधि सहभागी भएको बताइए पनि करिब सयभन्दा बढी सम्मेलनमा सहभागी थिएनन् ।

विश्व हिन्दू महासंघको महत्वपूर्ण घटक सनातन हिन्दू मोर्चा सम्मेलनबाट विधान संशोधन गरी चुनावी प्रक्रियाबाट अध्यक्ष चयन गर्नुपर्ने पक्षमा थियो ।

तर, सिंह पक्षधर भने भारतीय जनता पार्टीका नेता तथा लोकसभभा सांसद आदित्यनाथ सिंहको समर्थनमा उनैलाई अध्यक्षमा दोहो-याउने पक्षमा उभियो ।

मोर्चामा आबद्ध प्रतिनिधिहरूले हिन्दू राज्य पुनस्र्थापना घोषणा गर्नुपर्ने, तर पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनस्र्थापित गर्ने अभियानको विरोधमा रहे पनि सिंह पक्षधर भने दुवै काम गर्नुपर्ने पक्षका कारण सम्मेलन उद्घाटनदेखि नै विवाद सुरु भएको थियो ।

सिंहलाई अध्यक्षको माला लगाउनासाथ झडप

सम्मेलन चलिरहँदा विधान संशोधन नै नगरी निर्वाचनमण्डलले एक्कासि सिंहलाई अध्यक्ष घोषणा गर्नासाथ धर्मसभामा झडप सुरु भएको थियो ।

निर्वाचनमण्डलका संयोजक केशव सापकोटाले सिंहलाई अध्यक्ष घोषणा गर्नासाथ मोर्चाको नेतृत्व गरिरहेका अध्यक्ष प्रा.डा. माधव भट्टाई, महासचिव भरतराज पौडेललगायतको निर्देशनमा उनीपक्षीय प्रतिनिधिहरूले प्रक्रियाको विरोध जनाएका थिए ।

‘सिंहलाई अप्रजातान्त्रिक हुकुमी शैलीमा अध्यक्ष घोषणा गरेर माला लगाउन थालेपछि हाम्रा साथीहरूले विरोध जनाउन थाल्नुभो,’ मोर्चाका प्रवक्ता पुरुषले भने, ‘त्यसपछि केही केटाहरू लगाएर हाम्रा साथीहरूमाथि आक्रमण गर्ने काम भएपछि बहिष्कार गरेर बाहिरियौँ ।’

तर, महासंघका सहकोषाध्यक्ष राधेश्याम थापाले भने विधान र नियमलाई नबुझीकनै विरोध जनाएर असन्तुष्टि पोखेको दाबी गरे ।

‘हामीले निम्ता गरेका पाहुनालाई त्यसरी गाली गर्न जरुरी थिएन, विधान र नियमअनुसार उम्मेदवारी दिदा भइहाल्थ्यो, तर कुरै नबुझी उनीहरूले मुर्दावादको नारा लगाए ।’

क्रिस्चियनको घुसपैठ भनेपछि आदित्यनाथविरुद्ध नाराबाजी

झडप सुरु हुनासाथ मञ्चबाट उठेका भारतीय लोकसभाका सांसद आदित्यनाथले ठूलो स्वरमा क्रिस्चियनको घुसपैठ भन्नासाथ आक्रोशित समूह भरतकेशर र आदित्यनाथ मुर्दावाद भन्दै सम्मेलनस्थलबाट बाहिरिएको थियो ।

एक सय ३३ संस्थाको प्रतिनिधित्व गर्ने मोर्चाका ५० जना प्रतिनिधि र ५० जना पर्यवेक्षक सम्मेलनबाट बाहिरिएका थिए । महासंघकी सचिव अस्मिता भण्डारीले प्रतिनिधिभन्दा बाहिरका मान्छेले सम्मेलन असफल पार्ने प्रयास गरेको बताइन् ।