काठमाडौं, ४ कात्तिक । युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध एमाले र माओवादीकेन्द्रका १ सय ५७ सांसदहरू बुधबार दर्ता गराएको महाभियोग प्रस्तावको स्वागत गरेको छ ।
संघकी कार्यबाहक अध्यक्ष दिलु पन्तले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर दोस्रो जनआन्दोलनमा लोकतान्त्रिक गणतन्त्र पक्षधर आन्दोलनकारीहरूमाथि दमनको अगुवाई गर्ने कार्की जस्ता व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउनुको सट्टा अख्तियार जस्तो संवैधानिक निकायको प्रमुख बनाइएकोमा युवा संघ नेपालले सधै विरोध गर्दै आएको बताएकी छिन् ।
उनले आयोगको प्रमुख रहँदा संविधान र कानूनले निर्दिष्ट गरेको भूमिका बमोजिम भ्रष्टाचार निवारण गरी मुलुकमा सुशासन स्थापना गर्नेतिर लाग्नेभन्दा पदको दुरुपयोग गरी लोकतान्त्रिक विधि, मूल्य मान्यतामाथि कार्कीले ठाडो चुनौति दिँदै आएको बताएकी छिन् ।
पञ्चायत कालमा हुकुम प्रमांगीबाट नियुक्तभई पदीय दुरुपयोग गर्दै अकूत सम्पत्ति कमाएका कार्कीको स्वदेश तथा विदेशमा रहेको सम्पत्ति तत्काल रोक्का गरी छानबिन प्रक्रिया अघि बढाउन संघले माग गरेको छ । उसले कार्कीको सम्पत्ति राष्ट्रियकरण गर्न समेत माग गरेको छ ।












प्रतिक्रिया