काठमाडौ, ४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनरत शक्ति एवं मित्रराष्ट्रको भावना र सबै पक्षको प्रतिनिधित्व हुने गरी संशोधन विधेयक ल्याउन लागे पनि सत्ता गठबन्धनकै कांग्रेस र प्रतिपक्षी एमालेले असहयोग गरेको आरोप लगाएका छन् ।
माओवादी केन्द्र संसदीय दलको बुधबार बिहान बसेको बैठकमा प्रधानमन्त्रीले गणतन्त्र संस्थागत गर्न संविधान कार्यान्वयन अपरिहार्य रहेको भन्दै यसमा कांग्रेस–एमालेको असहयोग हुनु दुःखद् भएको बताए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘संविधान संशोधनका लागि असन्तुष्ट पक्ष मधेसी, थारू, आदिवासी÷जनजातिलगायत राष्ट्रभित्रका शक्ति र मित्र राष्ट्रहरूको भावनालाई समेट्नु अनिवार्य छ ।’
स्रोतले भन्यो, ‘संशोधनका लागि आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतबाट सहयोग र सुझाव आए पनि सत्तारूढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबाट सहयोग छैन ।’
दलको कार्यालयमा भएको बैठकमा दाहालले सत्ता सञ्चालनमा कांग्रेसबाट ठूलो असहयोग भएको समेत बताएका थिए ।
‘कांग्रेसले संविधान संशोधनमा मलाई असहयोग गरेको छ’, दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमालेलाई सहमतिमा ल्याउन कांग्रेसको पनि उत्तिकै भूमिका हुन्छ तर त्यस्तो सहयोग मैले पाएको छैन ।’
चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतको गोवामा भएको द्विपक्षीय भेटमा समेत आफूलाई उनीहरूले सबै पक्षलाई समेट्ने गरी संविधान संशोधन गर्न सुझाव दिएको दाहालले खुलासा गरे ।
छठअघि संशोधन प्रस्ताव संसद्मा दर्ता नगरिए मधेसी मोर्चाले आफूलाई दिएको समर्थन फिर्ता लिने सम्भावनाप्रति प्रधानमन्त्री दाहालले चिन्ता व्यक्त गरे । ‘संशोधनलाई लिएर मधेसी मोर्चाले समर्थन फिर्ता लिने चेतावनी दिइरहेको छ’, उनले भने, ‘सहमति नभई संशोधन प्रस्ताव अघि बढाउने हो भने फेरि गठबन्धन समस्यामा पर्ने हो कि भन्ने आशंका छ ।’
एमालेले राम्रो काम गर्दा पनि गलत प्रचार गरी हैरान बनाएको गुनासो दाहालले गरे । माओवादी केन्द्र नेतृत्वले आफ्नै नेतृत्वमा रहेको सरकारका पक्षमा खुलेआम अभिव्यक्ति दिन नसकेको भन्दै प्रधानमन्त्री दाहालले बैठकमा असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।
संविधान संशोधनका विषयमा कांग्रेसको असहयोग र एमालेको आक्रामक शैलीप्रति चिन्तित देखिएका प्रधानमन्त्री दाहालले छठसम्म राजनीतिक सहमतिको वातावरण बनाउनेतर्फ पार्टीपंक्तिलाई सहयोग गर्न आग्रह गरेका थिए ।















प्रतिक्रिया