३० आश्विन २०८३, शुक्रबार

जनताको मनमा बसेका ती वीरेन्द्र शाह, यी केपी ओली, अनि भारतको गिद्दे नजर

27.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

img_7695

ट्रली बस लगायत चीनले बनाइदिएका अधिकांश ठूला उद्योगहरु बन्द भएपछि चीन धेरै बर्षसम्म नेपाललाई ठूलो सहयोग नगरी मौन बस्यो । तर केपी ओली प्रधानमन्त्री हुँदा चिनिया विश्वास ह्वात्तै बढेको थियो । त्यसैले नेपालले अनुरोध गरेको खण्डमा चीन पुनः ठूलो सहयोग गर्न तयार भयो । फलस्वरूप तत्कालिन प्रधानमन्त्री ओलीले चीनसित गरेको सम्झौता बमोजिम चीनले केरुङ्ग, काठमाडौँ, पोखरा हुँदै लुम्बिनीसम्म रेलमार्ग बनाइदिन्छु भनेर सर्भे गर्न टोली समेत पठाइसकेको कुरा कसैसामु लुकेको छैन् । तेल र खनिज पदार्थ उत्खनन गर्न पनि चिनियाँ टोली आएर काम गरेकै हो । चिनियाँ रेल आएमा नेपालको बिकासमा कोसेढुंगा साबित हुने कुरामा कुनै शंका छैन । तर प्रधानमन्त्री दाहालले बजेट छैन कहाँबाट बन्छ रेल भनेर अर्थ्याए । यदि त्यतिबेलाका राजाले पनि अर्काको भर परेर हुँदैन, बजेट छैन कहाँबाट बन्छ हिमाल सिमेन्ट ? कहाँबाट बन्छ अरनिको राजमार्ग ? कहाँ बाट बन्छ वीरगञ्ज चिनी कारखाना ? भनेको भए ती एक दर्जन उद्योगहरु बन्थ्यो र ? बरु राजा वीरेन्द्रले बजेट छैन् कहाँबाट बन्छ ट«ली बस भनेको भए नेपालमा ट«ली बस चल्थ्यो ? तर काँग्रेसले, बजेट छैन् कहाँबाट चल्छ ट«ली बस ः भनेर बन्द गराइदियो । त्यसैले काम सुरु गरौँ बजेट बर्षैपिच्छे थप्दै जान मिल्छ । सबै बजेट एकैचोटी चाहिने होइन । चीनले त भनेको थिएन नि बजेट छैन् होला तपाईंहरुसँग किन गर्नु सर्भे ? बनाइदिन्छु भनेपछि वित्तीय श्रोत जुटाउनु चीनका लागि कुनै ठूलो कुरा थिएन । बरु प्रचण्डले बजेट छैन् कहाँबाट हुन्छ जनयुद्ध ? भनिदिएको भए त्यतिबेला सत्र हजार मान्छेको ज्यान त जाने थिएन ।

चिनियाँ रेल नेपाल पक्का आउँथ्यो तर जालझेल र भारतीय खेलले भाँडियो । कांग्रेस र माओवादीको सत्ता मोहले अझ रेल भाँड्ने खेललाई ठूलो मद्दत पुग्यो । नेपाली नेतालाई चिनियाँ रेल होइन सत्ता चाहियो । त्रिभुवन र महेन्द्र हुँदै वीरेन्द्रको पालासम्म आउँदा नेपाली राजाको ब्यावहार भारतलाई पट्टक्कै मन पर्दैन थियो । किनकी बिहारबाट छिरेका भारतीयहरुलाई राजा वीरेन्द्रले नागरिता दिन चाहेनन्, यसलाई भारतले मधेसी समुदायमाथि नेपालले भेदभाव गर्यो भनेर अर्थ लगाइरह्यो । जुन कुरा अहिलेसम्म कायम छ ।

पञ्चायत कालमा राजाले भारतको चाल बुझेर चीनसित सुमधुर र आत्मीय सम्बन्ध बनाएका थिए । यो कुरा भारतलाई झन् मन परेको थिएन, तर राजा वीरेन्द्र नेपाली जनता माझ लोकप्रिय हुनाले राजालाई हटाउने वा पन्छाउने कुनै तरिका भारतले पाइरहेको थिएन । त्यसैले नै भारतले माओवादीलाइ मलजल गरेर बलियो पारेको हो भनेर आरोप लगाउनेहरु पनि धेरै छन् । कतिपय मान्छेले मदन भण्डारी र वीरेन्द्रको हत्यालाई यही कुरासँग जोडेर हेर्ने पनि गर्दछन् ।

चीनले नेपाललाई माया र बिश्वास गरेर बिशाल र ठूला उद्योगहरु स्थापना गरिदिएको थियो । त्यो बेलाको जमानामा ट्रली बस, हिमाल सिमेन्ट कारखाना, हेटौँडा कपडा, बीरगञ्ज चिनी मिल आदि दर्जँनौ उद्योगहरु र अरनिको राजमार्ग सित्तैमा बनाइदिनु चानचुने कुरा थिएन । त्यो जमानामा त्यत्रा उद्योगहरु सित्तैमा बनाइदिनु र अहिले एउटा रेल बनाइदिनु उस्तै उस्तै हो । सँधैभरि परिस्थिति उस्तै हुँदैन । बनाइदिन्छु भनेको बेलामा बनाउन दिनुपर्थ्यो । बनाउने वाताबरण तयार गरिदिनुपर्थ्यो । भोलि चीनमा पनि नेतृत्व फेरिएला, परिस्थिति फेरिएला । नीति र कार्यक्रम फेरिएला । त्यसैले जुन जुन उद्देश्यले रेल योजना भाँडियो, त्यसले धेरै नेतालाई कलंकित बनाएको छ । अरुले गरिदिन्छु भन्दा पनि गर्न नदिने यो कस्तो नीच राजनीति ?

हो, राजनीति सत्ताकै लागि गरिन्छ । तर, देश र जनतालाई घात हुने काम गरेर सत्तामा जाने प्रवृतिले कुनै पार्टीलाई फाइदा गर्दैन । क्षणिक पदमोहले गर्दा देश विदेशीको स्वार्थमा अल्झिन पुग्दछ । भारतको चाहना नेपाललाई असफल राष्ट्र बनाएर सके तरार्इ हडप्ने, नसके भुटान जस्तो बनाउने नै हो । नेपाल विकसित भयो भने आफूलाई चाहिने सम्पूर्ण सामान आफै बनाउँछ र आफ्नो खर्बौँको ब्यापार डुब्छ भन्ने उसले राम्ररी बुझेको छ । जुन नकारात्मक सोच हो । तर चीनको नीति र सोच छिमेकी धनी भयो भने आफ्नो पनि ब्यापार बढ्छ भन्ने छ ।

नेपालमा चिनिया रेल आउँदा भारतको के बिग्रिन्छ ? चिनियाँ रेलले भारततिर धुँवा फाल्ने हो कि ? भारतमा वातावरण प्रदुषण गराउने हो कि ? भारतमा आक्रमण गर्न चीनले काठमाडौँमा हतियार गोदाम बनाउने हो कि ? नेपालमा चिनियाँ रेल चढेर भारतीय जनता बिग्रने हुन् कि ? कुरा के हो बुझ्न सकिएन । भारतलाई आफ्नो भैँसी दुब्लाएको भन्दा नेपालको भैंसी मोटाएकोमा बढी चिन्ता लागेको हो । खै नेपाली नेताहरु र मिडियाले प्रतिबाद गरेको ? चीनले रेल बनाइदिन्छु भन्दा भारतीय मिडियाहरुमा रुवाबासी नै चलेको थियो । त्यसैले कुनै न कुनै कालखण्डमा आएर भारतले यो योजना भाँड्छ भन्ने ठूलो डर थियो, जुन कुरा साँचो निस्कियो । त्यसैले भारतलाई पनि विश्वासमा नलिइै नेपालमा रेल बन्न गाह्रो छ । भारतीय चाहाना अनुसार प्रचण्ड सरकारले यो योजना अघि नबढाउन आलटाल रणनीति अपनाउँदैछ । भारतले नेपालको सीमासम्म रेल जोड्न चाँहि हुने, काठमाडौँसम्म रेल बनाउने सर्भे गर्न हुने तर चीनले बनाउन चाँहि किन नहुने ? के नेपाल भारतको उपनिबेश हो ? हरेक कुरा उसको हित अनुकुल हुने गरि गर्नुपर्ने हो ? हरेक कुरा उसलाई सोधेर गर्नुपर्ने हो ? त्यसो हुनाले यो भारतको नीच सोच र संकीर्ण बिचार बाहेक केही होइन् । नेपाल एउटा सार्बभौम राष्ट्र हो । त्यसैले भारतलाई कुनै अफ्ठेरो नपर्ने गरी आफ्नै तरिकाले विकास गर्ने नेपाललार्इ पूरा अधिकार छ । यदि भारतले भाँड्न खोज्छ वा टांग लडाउन खोज्छ भने नेपाली जनताको नजरमा भारत अझ गिर्नेछ । भूकम्पपछि तङरिँदै गर्दा ५ महिना लामो नाकाबन्दी लगाएर दुख दिएको नेपाली जनताले कहिले भुल्ने छैनन् । जसले भारतको समर्थनमा सत्तामा जान पाए तिनीहरुले मात्र भुले होलान् ।

हामीलाई त ३ करोड नेपालीको खुसीयाली हासिल गर्नुछ । देशलाई गरिबीबाट माथि उकास्नु छ । दुरदराजसम्मका नेपालीहरुलाई शिक्षा स्वास्थ्य र रोजगारी पुराउनु छ । त्यसैले बिदेशीको चंगुलबाट बाहिर न निस्केसम्म यी कुरा सम्भब हुँदैनन् । यदि हाम्रा नेताहरु राम्रा हुने हो भने नेपाल चाँडै इजरायल जस्तो शक्तिशाली र विकसित हुनेछ । सबै कुरा चीनले वा विदेशीले बनाइदिन्छन् भन्न खोजेको होइन् तर अहिलेको स्थितिमा बिदेशीको सहयोग नलिई उपाय छैन् । त्यसैले क्रमशः आत्मनिर्भर बन्दै जानुपर्छ ।

यदि ओली सरकार नढालिएको भए दशैँसम्म चिनियाँ राष्ट्रपति पक्का नेपाल आउने थिए । केरुङ्ग काठमाडौँ रेलमार्गको शिलान्यास भएर बिधिवत काम सुरु हुने थियो । प्रचण्ड सरकार भारतीय चाहना अनुसार बनेको कुरा चीनले पनि राम्ररी बुझेको छ । त्यसैले तत्काल चिनियाँ राष्ट्रपति नेपाल आइहाल्लान भन्न सकिन्न । नेपाल सरकारले भ्रमणका लागि कुनै ठोस तयारी गर्न सकेको छैन् । गरिबको घरमा पाउना आउँदा छिमेकीको घरबाट सिरक र डस्ना मागेर पाउनालाई दिए जस्तो हालत छ सरकारको । चिनियाँ राष्ट्रपति आउँदा बुलेट प्रुफ र बम नपड्किने जामर प्रबिधियुक्त गाडी नेपाल सरकारसँग छैन् । पाउना आउँदा सिरक डस्ना बोकेर आए जस्तो आफ्नै गाडी लिएर आउनुपर्ने अवस्था छ । देशको स्वाभिमानको हिसाबले यो लाजमर्दो कुरा हो । चीनसित भएका सम्झौताहरु कार्यान्वयन हुने बाताबरण नबनेसम्म चीनले प्रचण्ड सरखारलाई विश्वास गर्ने छैन । ओली प्रधानमन्त्री हुँदा सुरु भएका अधिकांश योजनाहरु अलपत्र पारिएका छन् । यस्तो अलपत्र पाराले देश कहिलेसम्म चल्ने हो हेर्दै जाउँ । नेपाली जनताले तपाईंहरुलाई सम्मान, विश्वास र प्रशंसा गर्न पाउने कहिले ? हामी त्यो दिनको प्रतिक्षामा छौँ । नत्र हामी चुनाव हुने दिनको प्रतीक्षा हुनेछौँ । जुन दिन हाम्रो मात्र होइन्, तपाईंहरुको भविष्यको पनि फैसल्ला हुनेछ ।