३० कार्तिक २०८३, सोमबार

‘हिँड्दाहिँड्दै भएको भेटलाई प्रधानमन्त्री…भन्नु भयो, सिंग भएको स्याल जस्तो देख्छु’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim_rawal_lकाठमाडौं, २ कात्तिक । एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोवामा चीनका राष्ट्रपति सि जिनपिङ् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा त्रिदेशीय साझेदारी भयो भनेर हल्ला फैलाउनु कुटनीतिक मर्यादा बाहिर रहेको टिप्पणी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले प्रधानमन्त्री प्रचण्डले प्रतिक्षालयमा भएको उक्त भेटलाई नेपालको लागि दुर्लभ भेट भन्नु प्रचार बाहेक अरु केही नभएको जिकिर गरे । रावलले भने, ‘प्रतिक्षालयमा बस्दा कुनै देशको प्रमुख वा सरकार प्रमुखसँग भेट हुनु के नौलो कुरा हो र ?’

रावलले प्रधानमन्त्री प्रचण्डले उक्त भेटलाई त्रिदेशीय साझेदारी भनेर हल्ला फिँजाएको १२ घण्टा बित्न नपाउँदै भारत र नेपाल दुवै देशका विदेश मन्त्रालयले त्यसको खण्डन गर्नुले नेपालको कुटनीति र राष्ट्रियतामा झनै आँच आएको र बेइज्जती भएको टिप्पणी गरे ।

उनले भने, ‘हिँड्दाहिँड्दै भएको भेटलाई हाम्रो प्रधानमन्त्रीले छाती फुलेर सिंह जत्रो भयो भन्नु भयो, तर म त सिंग भएको स्यालजस्तो देख्छु ।’

प्रधानमन्त्रीजस्तो व्यक्तिले आफ्नो पदीय मर्यादाको ख्याल नै नगरी त्यस्तो प्रतिक्रिया दिनु भनेको नेपालको कूटनीतिक मर्यादामा आँच पुर्याउने काम मात्रै भएको उनको गुनासो छ । प्रधानमन्त्री दाहालले हल्कापन देखाएर नेपालको कुटनीतिमा झन् एक बक्सिंग हानेको उनको भनाई थियो ।

उनले आफू संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन जाँदा विश्वका धेरै नेताहरुसँग बाटोमा हिँड्दाहिँड्दै भेट भएको र फोटो सेसन चलेको स्मरण गर्दै भने, ‘मैले त्यतिवेला धेरै देशका प्रधानमन्त्री तथा राष्ट्रपतिसँग हात मिलाएको थिएँ, तर मैले त्यसलाई प्रचारको विषय बनाईंन, अमेरिकी राष्ट्रपति बराक ओबामासँगपनि भेट भएको थियो, खोई मैले त्यसलाई प्रचार गर्न आवश्यक ठाँनिन् ।’

उनले प्रधानमन्त्रीको सचिवालयले प्रतिक्षालयमा भएको भेटलाई त्रिदेशीय साझेदारीमा समझदारी भयो भनेर प्रचार गरेको केही घण्टा वित्न नपाउँदै नेपालकै परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गर्नु कुटनीतिक असफलता भएको दाबी गरे ।

प्रधानमन्त्री प्रचण्डले भ्रमण सकेर स्वदेश फर्कने क्रममा आफूले देशकै लागि गर्व गर्ने काम गरेको भएपनि नेपालका मिडियाले आफूलाई गाली गरेको भनेर आक्रोश पोखेको उल्लेख गर्दै रावलले भने, ‘प्रधानमन्त्रीजीले राम्रो काम गरेको भए अरु त परै जाओस्, हामी प्रतिपक्षी दल एमालेले पनि खुलेरै स्वागत तथा प्रशंसा गर्दथ्यो, अब तपाईले नै त्यस्तो काम गर्नुभयो अनि आलोचना नगरे के गर्नु त ?’

रावलले दिल्लीबाट गोवा प्रस्थान गर्दा प्रधानमन्त्री दाहाल भुटानी प्रधानमन्त्रीसँग नै किन उडेका होलान् भन्दै प्रश्न समेत गरे । रावलले भने, ‘उहाँ अरु देशको राष्ट्रपति र प्रधानमन्त्रीसँग किन सँगै जानुभएन, रुसका राष्ट्रपतिसँग किन उड्नुभएन ? दक्षिण अफ्रिकाका राष्ट्रपतिसँग किन उड्नुभएन ? अरु सँग नउडेर भुटानी प्रधानमन्त्रीसँग किन उड्नुभयो, कारण के परेछ ?’

उनले भुटानी प्रधानमन्त्रीलाई आफूले कमजोर भनेर चित्रित गर्न नखोजेको समेत स्पष्ट पारे । उनले अघि थपे,‘भुटान त संयुक्त राष्ट्रसंघ अन्र्तगर्तको ट्रस्टी हो, भुटानको पराष्ट्र नीति आदि ईत्यादी जुन हाम्रो प्रधानमन्त्रीले भारत जाँदा २५ बुँदेमा गर्न खोज्नुभएको थियो ।’