काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका सांसद फरमुल्लाह मन्सुरले संविधान संशोधन गरेर मधेसी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिए जस्तै हुने चेतावनी दिएका छन् ।
संसदको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद मन्सुरले भने, ‘पाकिस्तानमा सत्तरीको दशकमा यसैगरी पूर्वी पाकिस्तानका मुस्लिमले आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा राज्यले नदिएपछि पूर्वी पाकिस्तान फुटेर बंगलादेश बनेको स्मरण गराउन चाहान्छु ।’
संविधान संशोधन नभई कुनै पनि तहको निर्वाचन हुन नसक्ने भन्दै मन्सुरले आफूहरूले असहमति राखेर संविधानसभामा मतदान गरेको बताए ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले ९० प्रतिशतले जारी गरेको संविधान १० प्रतिशतले मान्दिन भन्दैमा बिना औचित्य संशोधन हुँदैन भनेकोतर्फ संकेत गर्दै उनले यसो भनिएमा देश टुक्रिन सक्ने उदाहरण दिएका हुन् ।
उनले भने, ‘९० प्रतिशतले संविधान जारी गरेको भन्नेहरुलाई म स्मरण गराउन चाहान्छु कि, हामीले त्यसबेला रिजर्भेशन राखेर मतदान गरेका हौं, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रोष्टममा उभिएर मधेसी, थारु र मुस्लिमको माग बमोजिम संसदको पहिलो बैठकले संविधान संशोधन गर्छ भन्नुभएपछि हामी मानेका थियौं ।’
मन्सुर कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । मन्सुरले १३औँ महाधिवेशनमा आफू अनुकुल हुन नसकेपछि कोइराला क्याम्प छाडेर शेरबहादुर देउवाको समूहमा प्रवेश गरेका थिए ।











प्रतिक्रिया