३० कार्तिक २०८३, सोमबार

भित्रभित्रै के–के गर्दैछ संघीय गठबन्धन ? प्रधानमन्त्रीलाई यसरी आउँदैछ अप्ठेरो अवस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachand-pmकाठमाडौं, १ कात्तिक । संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले छठपछि आन्दोलनलाई पुनः चर्काउनका लागि आन्तरिक गृहकार्य थालेको छ ।

सोही तयारीका लागि तीनकुनेस्थित संघीय गठबन्धनको सम्पर्क कार्यालयमा आजकाल दैनिक सरह छलफल, भेटघाट र अनौपचारिक परामर्श हुन थालेका छन् । ती परामर्शबाट शीर्ष नेताहरूलाई आन्दोलनमा जान दबाब परिरहेको छ ।

गठबन्धनका नेता तथा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेससँग भएको तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रस्ताव छिटो संसदमा दर्ता गराउनु पर्ने बताए ।

‘संघीय गठबन्धनले माओवादी केन्द्र र कांग्रेससँग तीन बुँदे सहमति गरेको हो’, उनले भने, ‘संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता हुनु पर्छ । अरु हामीले जान्दैनौँ ।’

एमालेको समर्थनविना संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्नुको के अर्थ हुन्छ भन्ने जिज्ञासामा सहअध्यक्ष श्रेष्ठले भने, ‘एमालेसँग हामीले सहमति गरेको होइन । त्यो जिम्मेवारी माओवादी केन्द्र र कांग्रेसको हो । एमाले प्रमुख विपक्षी दल भएकाले त्यसलाई सहमति ल्याउने वा नल्याउने सत्तारुढ दलहरू आफै जानुन् ।’

माओवादी केन्द्र र कांग्रेसले संविधान संशोधन सहितका अरु केही राजनीतिक विषयलाई पूरा गर्न आनाकानी गरेको बताएका श्रेष्ठले भने, ‘धेरै ढिला भइसकेको छ । अब गठबन्धन चुप लागेर बस्दैन । आन्दोलनको तयारी गर्नै पर्छ ।’

आन्दोलनको तयारी स्वरुप संघीय गठबन्धनले कस्ताखालका आन्दोलन ल्याउन भनेर अनौपचारिक छलफल समेत थालेको सहअध्यक्ष श्रेष्ठको भनाइ छ । छिट्ट गठबन्धनको बैठक आह्वान गरेर एक प्रकारको निर्णय गरिने उनले उल्लेख गरे ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले पनि सरकारले गरेको लिखित प्रतिवद्धता अनुसारका काम नगरे छठपछि आन्दोलन सुरु गर्ने चेतावनी दोहराए । ‘सरकार गठनका बेला भएको सहमति पूरा नगर्ने हो भने किन समर्थन दिइन रहने ?’, महासचिव झाले भने, ‘छठसम्म पर्खने छौँ । माग पूरा हुने अवस्था देखिन भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर अर्को बाटो लिनुपर्ने अवस्था आउन सक्छ ।’

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमन पनि अब चुपलागेर बस्ने अवस्थामा गठबन्धन नरहेको बताउँछन् । ‘सहमति कार्यान्वयन हुन्छ भनेर कति दिन बस्ने ?’, उनले भने, ‘अब आन्दोलनमा जानुको बिकल्प छैन ।’

संघीय गठबन्धनले संशोधन गरेर सीमाङ्कन मिलाउनु पर्ने, नागरिकका केही विषयलाई स्पष्ट पार्नुपर्ने लगायतका कुरा जोडदार रुपमा उठाउँदै आएको छ ।

गठबन्धनसँगको सहमति अनुसार संविधान संशोधन र अरु राजनीतिक विषय पूरा नभए प्रधानमन्त्री दाहाललाई आउँदाका तीन साताभित्र ठूलै संकट आउन सक्ने चेतावनी असन्तुष्ट पक्षको छ ।