३० कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीले धेरै गफ गरेको कांग्रेसको आरोप, संविधान संशोधनबारे छलफल नभएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dr-_ramsharan_mahatकाठमाडौं, ३० असोज । सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महतले भारतको गोवामा भैरहेको ब्रिक्स सम्मेलनबाट नेपालले ठूलो लाभ लिन नसक्ने स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले ब्रिक्स सम्मेलनमा नेपालले द्विपक्षीय भेटवार्ता गर्ने उपयोगिता बाहेक अन्य उपलब्धि हासिल गर्न नसक्ने बताएका हुन् ।

डा. महतले भने, ‘नेपाल ब्रिक्सको सदस्य राष्ट्रपनि होइन, त्यसैले यसमा हामीले ठूलो अपेक्षा गर्नुभन्दा पनि द्विपक्षीय महत्वपूर्ण भेटवार्ताका उपयोगिताहरु हुन सक्छन्, त्यसबाहेक अरु त के नै हुन्छ र ?’

डा. महतले सम्मेलनमा भाग लिँदैमा केही नहुने तर्क गरेका छन् । उनले भने, ‘पहिलो कुरा राष्ट्र बलियो हुनुपर्छ, नेपालले त चीन र भारतसँगको सम्बन्धलाई अझै मजबुद बनाउनुपर्छ ।’

डा.महतले चीन, नेपाल र भारतवीको त्रिदेशीय साझेदारीको कुरामा भने आफूले पनि राम्रो संभावना देखेको बताए । उनले भने, ‘त्रिपक्षीय साझेदारीको लागि नेपाल महत्वपूर्ण कोरिडोर बन्न सक्छ, यो कुरामा म पनि सहमत छु ।’

‘संविधान संशोधनबारे सरकारले हामीसँग छलफल नै गरेको छैन’

संविधानलाई लिएर असन्तुष्ट बनेका मधेश केन्द्रित दल लगायत अन्य पक्षहरुको माग पूरा गर्नको लागि सरकारले यथेष्ट छलफल नै नगरेको डा.महतको आरोप छ । उनले भने, ‘सरकार बनेको दुई महिना भैसक्यो, तर संविधान संशोधनवारे अहिलेसम्म कुनै छलफल नै भएको छैन, अरुसँग भए मलाई थाहा छैन, कमसेकम सत्तापक्षको हाम्रो दल काँग्रेससँग भएको जानकारी मलाई छैन ।’

उनले एमाले अध्यक्ष केपी ओलीले पनि संविधान संशोधनको लागि आफ्नो पार्टी बाधक नबन्ने तर संशोधनको औचित्य र आधार सरकारले प्रस्तुत गर्नुपर्ने स्पष्ट रुपमा राखिसकेकोले सरकारले त्यही बमोजिम गृहकार्य गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले सहमति जुटाउनुपर्छ, एमालेसँग त परै जाओस्, काँग्रेससँग त अहिलेसम्म यसबारेमा छलफल भएको छैन ।’

अहिलेकै संरचना अनुसार चुनाव हुनुपर्छ

डा. महतले स्थानीय निकायको पूर्नसंरचनाबारे हतारमा निर्णय गर्दा झनै विवाद उत्पन्न भएको गुनासो पोखे । महतले भने, ‘आयोगले एकातिर एउटा कुरा भनेको छ, हामी राजनीतिक दलहरुले चाहीँ हतार–हतारमा निर्णय गर्यौं, अहिले समस्या त्यही भएर उत्पन्न भएको छ ।’ उनले पूर्नसंरचना गर्दा आयोगले भनेझैं ५६५को संख्या र दलहरुले भनेझैं ९०० को संख्या बनाएपनि समस्या समाधान नहुने ठोकुवा गरे ।

कांग्रेसको गुटबन्दी महाभेला बोलाएपनि अन्त्य हुँदैन

नेता डा.महतले मुलुकको निकास र विकासको लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पछिल्लो समय कांग्रेसभित्र चरम गुटबन्दी रहेकोमा भने चिन्ता व्यक्त गरे । महतले भने,‘अहिले पार्टीभित्र आँफैमा लडाई भैरहेको छ, युवाहरुको आन्तरिक लडाईमै उर्जा समाप्त भैसकेको छ ।’ उनले कांग्रेस कमजोर भए मुलुक र लोकतान्त्रिक पद्धति नै कमजोर हुने चिन्ता व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले भाषण बढी गरे, खोई काम ?

डा.महतले वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कामभन्दा बढि भाषण गरेको आरोप लगाए । उनले भने, ‘भाषणवाजी बढी भयो, कामतिर जोड भएन, परियोजनाबारे कुनै गम्भिरता देखिएन ।’

उनले कुरा गरेर आकांक्षा बढाउने कुरा एउटा भएपनि काम गरेर देखाउन प्रचण्डलाई चूनौति दिए । उनले भुकम्पपीडित अहिलेपनि दुःखको मारमा रहेको गुनासो पोखे ।

डा.महतले भने,‘प्रचण्डजी भंग भंग बोलिदिनुहुन्छ, जबकी यो सरकारमा हाम्रो पार्टी पनि मेजर होल्डर हो नि, तर कतिपय दलीय सहमति जुटाएर बोल्नुपर्ने विषयमा उहाँ त्यतिकै हचुवामा बोल्नुहुन्छ ।’ उनले प्रचण्डलाई ठोस प्रोजेक्ट र जनताको सेवा प्रवाहमा ध्यान दिन सुझाव दिए ।