दाङ, २८ असोज । दशैँको मुखैमा आर्थिक कारोबार गर्नेहरुको अत्यधिक भिड । घोराहीस्थित नेपाल बैंकमा रहेको भिड पन्छ्याउँदै एक वृद्ध बैंकको काउन्टर नजिकै पुगे । हातमा फारम समातेका घोराही १ का ७३ वर्षीय कलाधर रिजाल वृद्ध भत्ताका लागि खाता खोल्न पुगेका रहेछन् । तर अत्यधिक भिडमा आफ्नो कामको ‘मेसो’ पहिल्याउन सकेका थिएनन् । ‘यस्तो भिड छ, फारम बुझाउने भनेको कहाँ हो ?’उनि भन्दै थिए ‘बुढो मान्छेलाई यति सास्ती किन दिईएको होला ?’ नजिकै कुसी फेला पारेपछि थचक्क बस्दै उनले थपे ‘बुढो मान्छेलाई सहुलीयतका नाममा झन दुख दियो सरकारले ।’यसअघि सम्म कलाधरले चौमासिक रुपमा बृद्ध भत्ता नगरपालिका कार्यालयबाटै बुझ्थे । त्यो सजिलो पनि थियो । ‘सबैजना भेला हुन्थिम्,अनि पालैपालो नगरपालिकाबाटै पैसा बुझिन्थ्यो,’उनले भने ‘त्यहि सिस्टम राम्रो थियो, अहिले सहुलियत दिएको हो कि कष्ट ?’
दाङ रमनाकी ७४ बर्षिया मनपुरा वलीमा पनि उस्तै अन्यौलता थियो । बृद्ध भत्ताकै लागि बैंकमा मेसो पहिल्याउन नसकेपछि उनि काउन्टर नजिकैको कुर्सीमा बसिरहेकी थिईन् । ‘बैंकमा गएर फारम भर्नुपर्छ भनेपछि आएकी हुँ,’उनले भनिन् ‘आएको पनि धेरै बेर भैसक्यो,फारम भर्ने कता हो ? केहि थाहा छैन ।’ अहिलेको झन्झटिलो प्रकृया ले दिक्क बनेकी उनि समयमै भत्ता नपाउनुमा पनि उत्तिकै दुखी छिन् । ‘असारमा भनेको साउनमा भत्ता पाईन्छ,’उनले भनिन् ‘बेलैमा दिएपो हामीहरुलाई सजिलो हुने थियो ।’
विहिवार अत्यधिक भिडरहेको नेपाल राष्ट्रबैंकमा यस्ता थुप्रै बृद्धबृद्धाहरु अन्यौलमा थिए । केहि खाता खोल्ने प्रकृयाका बारेमा अनभिज्ञ थिए त, केहि फारम बुझाउने स्थान पहिचान गर्न नसकेर थकित मुद्रामा देखिन्थे । उनिहरु सबै सरकारको नयाँ नीति देखि सन्तुष्ट थिएनन् ।
दशैँको मुखमा भत्ता पाईहालिन्छकी भनेर विहिवार बिहानै बैंक पुगेका घोराहीका रामजीत नेपाली भत्ता बारे सोध्ने ठाउँ पत्ता लगाउन नसक्दा बैंक भित्र रनभुल्लमा थिए । खुट्टा थाकेर काउन्टर नजिकैको कुर्सीमा बसेका उनि पनि त्यहाँ गएका अन्य सेवाग्रहीहरु संग सोधीखोजी गरिरहेका थिए । जहाँ हेर्यो उस्तै भिड । केहिबेरपछि उनि भिड छिचोल्दै ‘ग्राहक सहायता डेष्क’ सम्म पुगे । बल्ल थाहा भयो ‘भत्ता नपाईने रैछ भन्ने ।’ ‘कति मुश्किलले सकि नसकि भिड भित्र पसेँ,’उनि भन्दै थिए ‘दशैँ मानम्ला भन्ने थियो,भत्ता नपाईने भयो,।’
यसअघि गाविस वा नगरपालिका कार्यालयबाटै परिचयपत्रका आधारमा सामाजिक सेवा भत्ता वितरण गर्दै आएको सरकारले अहिले वैंकिङ प्रणाली अनिवार्य गरेपछि बृद्धबृद्धाहरुलाई सास्ती भएको छ । यो प्रकृया अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुले नेपालका ‘क’ र ‘ख’ बर्गका बैंकमा खाता अनिवार्य खोल्नु पर्दछ । सरकारले सामाजिक सुरक्षा भत्ता वापतको रकम सोही खातामा सिधै हालिदिने व्यवस्था गरेको छ । कागजी प्रकृयाबारे अनभिज्ञ रहने उनिहरुलाई वैंकमा खाता खोल्ने मेसो पहिल्याउनै हम्मे हम्मे पर्ने गरेको छ ।
त्यसमाथि वैंकम रकम बुझ्नु पनि बृद्धबृद्धा तथा अशक्तहरुलाई सजिलो नहुने उनिहरु वताउँछन् । ‘हामीहरु अरु जस्तो लाईनमा उभिएर पैसा निकाल्न सक्दैनौ,’कलाधर रिजालले भने ‘हाम्रो लागि बैंकमा लाईन बस्नु नपर्ने व्यवस्था भए राम्रो हुने थियो ।’ बैंकीङ प्रणाली मार्फत सुरक्षा भत्ता वितरण गर्ने नीति ल्याएको सरकारले यस्ता बृद्ध तथा अशक्तहरुका लागि वैंकीङ कामकाज गर्ने छुट्टै विशेष व्यवस्था गरेको छैन । फलस्वरुप विहिवार खाता खाोल्नका लागि बैंक पुगेका थुप्रै बृद्धबृद्धाहरु भिडमै हराईरहेका थिए । ‘हामी बुढा उमेरका मान्छेहरुलाई बैंकमा लाईनमा बस्न धौ हुन्छ,’घोराहीकै रामजीत नेपाली भन्दै थिए ‘बुढाबुढीहरुलाई त कसरी हुन्छ सहुलियत पो दिने हो त ।’
अँझ वैंक क्षेत्र (बजार आसपास) का नागरिकहरुलाई भन्दा पनि दुर्गम भेकका नागरिहरुलाई यसले बढि सास्ती दिएको छ । गाविसका कुनाकुनामा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि बजार पुग्नु पर्ने उनिहरुका लागि झनै ठूलो चुनौती थपिएको छ । ‘घर आँगनबाटै भत्ता पाईराखिन्थ्यो,अब त्यसका लागि बजार सम्म धाउनै पर्ने समस्या भयो,’धर्ना गाउँका बृद्ध मनोज सार्किले भने ‘हामीहरुलाई यस्तो समस्यामा नपारिदिए हुन्थ्यो ।’ राज्यले अहिले ज्येष्ठ नागरिकहरुलाई मासिक एक हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।
वैंकिङ प्राणली लागु भएपछि अपांगता भएकाहरुलाई झनै असहजता हुने अपांगता भएकाहरु वताउँछन् । शारिरीक रुपमा अशक्त भएकाहरु वैंक सम्म पुग्नै समस्या हुने भएकाले उनिहरु वैंकमा लाम बसेर रकम निकाल्नु कम चानचुने कुरा छैन । अपांग मानव अधिकार तथा सरोकार मन्चका बिबेक खड्काले सरकारको नयाँ नीति आर्थिक पारदर्शिताका हिसाबले ठिक भएपनि सेवाग्राहीहरुलाई भने यसले धेरै ठूलो समस्या उत्पन्न गराएको वताउँछन् । ‘पारदर्शिताको नीति एक हिसावले राम्रो होला,तर ह्विल चियरको सहारामा रहेका अपांगता भएका व्यक्तिहरु कसरी वैंक सम्म पुग्न सक्छन्?’उनले भने ‘ भर्याङ चढ्नै पर्ने बैंकहरुमा त अपांगता भएकाहरुको झनै बेहालै हुन्छ ।’ त्यसमाथि रकमका लागि लाम लाग्नु पर्ने अवस्था भए झनै गाह्रो हुने खड्काले वताए । सरकारले पूर्ण अपांगता भएकाहरुलाई मासिक दुईहजार र आंशिक अपांगता भएकाहरुलाई ६ सय रुपैयाँ वितरण गर्दै आएको छ ।
सरकारले आर्थिक पारदर्शिताका लागि भन्दै सामाजिक सुरक्षा भत्ता वितरण प्रकृयालाई वैंकिङ प्रणाली मार्फत सुरु गरेको हो । नगरपालिकाहरुको हकमा यो सिस्टम केहि बर्ष देखिनै सुरु भएपनि गाविसहरुका नागरिकहरुको हकमा भने यसै आर्थिक बर्ष देखि यो प्रणाली लागु भएको सरोकारवालाहरु वताउँछन् । त्यसोत,नगरपालिकाकै नागरिहरुले पनि यसअघिनै यो प्रणालीको बिरोध गरेका थिए ।
‘नगरपालिकाको हकमा केहि बर्ष देखिनै वैंकिङ प्रणाली लागु भैसकेको हो,’ घोराही नगरपालिकाका पञ्जिकाधिकारी लिलाजीत नेपालीले भने ‘तर उहाँहरुले अप्ठ्यारो भयो भनेर गुनासो गरेपछि वैंककै कर्मचारीहरुको रोहबरमा नगरपालिकाबाटै भत्ता बाँड्ने व्यवस्था मिलाईएको थियो, तर अहिले फेरी सरकारले नविार्य रुपमै वैंकिङ प्रणाली अबलम्न गर्न परिपत्र गरेको छ ।
दाङमा सामाजिक सुरक्षा पाउने १० हजार ज्येष्ठ नागरिक छन् । यस्तै बिधुवा ७ हजार ४ सय,पूर्ण अपांगता भएका ३ सय ९,आंशिक अपांगता भएका ६२, लोपोन्मुख आदीवासी समुदायका २९ रहेका छन् । चौमासिक रुपमा भत्ता बुभ्दै आएका नागरिकहरुले पछिल्लो पटक गत असारमा रकम बुझेका थिए ।
तस्बिरः विहिवार घोराहीस्थित नेपाल राष्ट्र वैंकमा सामाजिक सुरक्षा भत्ताका लागि खाता खोल्न पुगेका घोराहीका ज्येष्ठ नागरिक कलाधर रिजाल ।











प्रतिक्रिया