
– प्रकाश श्रेष्ठ
नेपालीहरुको महान चाड दशैँ देश विदेशमा रहेका नेपालीहरुले धुमधामसँग मनाएका छन् । खासगरि विजया दशमीको दिन मान्यजन एवं आफन्त, इष्टमित्रहरुबाट टिका लगाएर आशिर्वाद माग्ने चलन छ । कतिपय कारण र बाध्यताले गर्दा विजयादशमीको दिन टीका लगाउन नभ्याउनेहरुले पूर्णिमाको दिनसम्म टीका लगाउँछन् ।
विशेषत हिन्दू एवं केही बौद्धधर्मालम्बीहरुले आ–आफ्नो ढंगबाट दशै मनाएको पाइयो । अझ आजकल सामाजिक संजालको बढ्दो प्रयोगले कसले, कसरी, कहाँ दशैँलाई उत्सवको रुपमा मनायो भन्ने पनि जानकारी मिल्न मिल्छ । यसले एकातर्फ देखासिकी बढ्दै गएको र आपसमा प्रतिस्पर्धा एवं होडवाजी सिर्जना गरेर चाडबाडहरु तडकभडकको रुपमा मनाउनुपर्ने मान्यताको पनि विकास हुँदै गएको हो कि भन्ने अनुभूति हुन थालेको छ ।
विगत केही समय पहिले कसले, कसरी घर भित्र चाडवाड मनाउने गर्थे भन्ने खासै सबैमा जानकारी हुँदैन्थ्यो तर आजकल आधुनिक प्रविधिले सबै कुरा आपसमा सेयर गर्न सक्ने अवस्था बनेको छ । यसले कतिपय अवस्थामा सकारात्मक र कतिपय नकारात्मक प्रभावहरु पारेको पाइन्छ । त्यसै सन्दर्भमा यो दशैँमा पनि बली प्रथा बारे निकै बहस सामाजिक सञ्जालहरुमा भएको देखियो । त्यसतर्फ म जान चाहिन ।
मैले यहाँ उठाउन खोजेको चाँहि दशैँमा मान्यजनको हातबाट टीका, जमरा लिएर आशिर्वाद लिने चलनको विषयमा हो । वैवाहिक जीवनमा गाँसिएका श्रीमान र श्रीमतीहरुको सन्दर्भमा दशैको दिन श्रीमानले श्रीमतीलाई पनि टीका लगाएर आशिर्वाद दिने परम्परागत चलन छ । त्यसो त हरेक हिन्दू नारीले विवाहपश्चात श्रीमानलाई देवता सरह मानेर पतिव्रत हुनुपर्ने आचरण एवं व्यवहार सानै बच्चा छँदै परिवारमा सिकाइन्छ । त्यस्तै मुलरुपमा नारीहरुले पुरुषहरु र परिवारप्रति गर्नुपर्ने कर्तव्य धेरै घरपरिवारमा पढाइन्छ । जसको फलस्वरूप नारीहरु समाजमा निकै पछाडि पर्दै गएको पनि देखियो । तथापि आजकल भने नारीहरु शिक्षा र चेतनाका कारण जागरुक भएर समाजमा रहेका कतिपय रुढीवादी परम्परागत मान्यताहरु परिवर्तन गर्न सफल भएका छन् ।
त्यसको ज्वलन्त उदाहरण भनेको ग्रामिण भेगमा समेत पतिको मृत्युपश्चात रातो वस्त्र धारण गर्न र रातो टिका लगाउन नहुने मान्यताको साटो आजकल पतिको मृत्युपश्चात पनि रातो वस्त्र र रातो टिका लगाउने चलन चल्न थालेको छ । जसको फलस्वरूप पतिको मृत्युपछि जिन्दगीभर शोकको चिन्हहरु वा प्रतिविम्वहरु धारणा गरेर समाजमा बाँच्नुपर्ने परिस्थितिको क्रमशः अन्त्य हुने मोडमा समाज रुपान्तरित हुँदैछ ।
त्यस्तै सासु एवं बुहारीहरुबीचको सम्बन्धहरु पनि क्रमशः आमा छोरीको रुपमा स्थापित हुँदै गएको पाइन्छ । यसलाई पनि समाज परिवर्तनको अनुकुल अवस्थाको रुपमा लिन सकिन्छ । यस्तै परिवर्तनलाई मध्यनजर राख्दै मैले यस बर्षको बडा दशैँदेखि श्रीमतीको हातबाट टीका जमरा लगाएर आशिर्वाद लिने निर्णय गरेँ । नारी पुरुष रथका दुई पांग्रा हुन भनिन्छ । विवाहित पुरुष सँधै उच्च स्थानमा र विवाहित नारी पुरुषको अधीनस्थ भइ रहनुपर्ने मान्यता विद्यमान रहेको अवस्थामा मेरो सानो प्रयासले नारी पुरुष दुवैको समान हैसियत र सामाजिक मान्यता छ भन्ने सन्देश देओस्, म त्यही चाहन्छु ।
हुन पनि विवाह वन्धनमा बाँधिदा वर र वधुले आपसमा एक अर्कालाई टिका लगाइदिन हुने र त्यसपछि भने श्रीमानले मात्र श्रीमतीलाई टिका लगाइदिने अनि श्रीमतीले पुजाआजा, व्रत बसेपछि पुजापाठ गरेर अक्षता सहितको पुजाको थाली दिने र श्रीमानले आफै टीका लगाउने चलन चल्दै आएको पाइन्छ । त्यो त्यति व्यवहारिक देखिँदैन जस्तो लाग्छ । किनकी पुजाआजा गरिसकेपछि श्रीमतीले श्रीमानलाई टिका लगाइदिँदा त्यसले के नै पो फरक पार्छ र ? यस्तै संकुचित सोचबाट माथि उठ्न नसके समाज परिवर्तनको नारा केवल नारामै सीमित रहने देखिन्छ । त्यसैले पनि परम्परागत धार्मिक मुल्य मान्यतामा केही व्यवहारिक रुपमा परिवर्तन आउनैपर्छ । अझै पनि विभिन्न धार्मिक विरोधाभासहरु समाजमा देखिन्छ । त्यसलाई समयसान्दर्भिक परिवर्तन गर्दै जानु आवश्यक छ ।
बागलुङ (हालः अमेरिका)











प्रतिक्रिया