– विजय थापा
वाशिंगटन डीसी, २४ असोज । डेमोक्रेटिक दलकी राष्ट्रपति कि प्रत्यासी हिलारी क्लिन्टनलाई बिजयी गराउन ‘नेपाली फर हिलारी’ नामक अभियानलाई तिब्र पारिएको छ ।
नेपाली मतदाता तथा हिलारीका समर्थकलाई परिचालन गर्दै चुनावी प्रचार प्रसारलाई व्यापक बनाउने तथा घरदैलो अभियान समेत गर्ने भएको छ ।
आगामी नोभेम्बर ८ तारिखमा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनलाई पूर्ण लक्ष्य बनाई एएपीआई ‘भिक्ट्री फन्ड’ नामक संस्थाले गत अक्टोबर ८ तारिखमा आयोजना गरेको कार्यक्रममा नेपाली समुदायले ऐक्यबद्धता देखाउँदै शक्ति प्रदर्शन गरेका छन् ।
एसियन अमेरिकन तथा प्रशान्त द्वीप वासी समुदायलाई आगामी नोभेम्बरमा हुने निर्वाचनमा योग्य मतदातालाई मत खसाल्न उत्प्रेरणा गर्ने ध्येयले एएपीआई–भिक्ट्री फन्ड को निर्माण गरेको हो ।
एएपीआई–भिक्ट्री फन्डले डीसी महानगर क्षेत्रमा अवस्थित नोभा सामुदायिक महाबिद्यालयमा गत अक्टोबर ८ तारिख बिहान ११ बजेदेखि ३ बजेसम्म कार्यक्रम सफलतापूर्वक सञ्चालन गरि उल्लेख्य संख्यामा समर्थकहरु जुटाउन सफल भएको छ ।
‘नेपाली फर हिलारी’ नामक उक्त कार्यक्रममा भर्जिनियाका गभर्नर टेरी म्याकअलिफ, सांसद जेरी कोनोली, उपमन्त्री क्रिस्टोफर पी लू, फिलिस रान्डेल, निरा टन्डन तथा अन्य बिशिष्ट अतिथिहरुको सहभागिता रहेको थियो । चुनावी प्रचारको सिलसिलामा अभियानले तयार गरेको गन्जी समेत वितरण गरिएको थियो ।
भर्जिनियाका गभर्नर टेरी म्याकअलुफले कार्यक्रममा सम्बोधन गर्दै हिलारी अमेरिकाको राष्ट्रपति हुन योग्य छिन् भन्दै डोनाल्ड ट्रम्प राष्ट्रपति त के राष्ट्रपतिको उम्मेद्वार हुन पनि योग्य नभएको विचार राखेका थिए ।
कार्यक्रममा डेमाक्रेटिक दलका अन्य बिभिन्न नेताहरुले मन्तब्य राखेका थिए ।
कार्यक्रममा हिलारीको समर्थनमा नेपाली समुदायको अतिरिक्त अफ्रिकन अमेरिकन डेमोक्रेटिक क्लब, सी प्याड मेरिल्याण्ड, शिख फर हिलारी, वुमेन नेसनल डेमोक्रेटिक क्लब, इटालियन नेसनल डेमोक्रेटिक लिडरशिप काउन्सिल, जेन्डर राइट, एनजी डि सी, एलजीबिटि डेमोक्रेट, डब्लु एल एन, मुस्लिम फर हिलारी, भर्जिनिया वुमेन फर हिलारी, कोरियन अमेरिकन लिडरशिप काउन्शिल तथा कासा इन एक्सन नामक संस्थाहरुले ऐक्यबद्धता देखाएका थिए ।
उक्त कार्यक्रममा अनेकौ देशका प्रतिनिधिहरुका सामुन्ने नेपाली समुदायको तर्फबाट भर्जिनिया सेन्टरभिल कि बिद्यार्थी प्रकृति देउजाले अमेरिकन राष्ट्रिय गीत गाउने अवसर पाएकी थिइन् ।
झन्डै दुई दशक अगाडी देखि डीसी क्षेत्रमा बसोबास गर्दै आएका डेमोक्रेटिक दलका युवा नेता हरि शर्माले नेपाली सहभागिताको संयोजन गरेका थिए । उनले नेपालीहरूको ठूलो सहभागिताले हिलारीको पक्षमा व्यापक समर्थन जुट्ने कुरामा आफू बिश्वस्त रहेको बताए ।



















प्रतिक्रिया