युवा अवस्थामा नै व्यवसायीक क्षेत्रमा सफलताको सगरमाथामा पाइला राख्न सफल व्यक्तिहरुमध्येका एक हुनुहुन्छ–युवा उद्यमी खड्कबहादुर बुढाथोकी । घोराही–११ निवासी युवा व्यवसायी बुढाथोकी दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष पनि हुनुहुन्छ । दाङलाई प्रादेशीक राजधानी बनाउन दवाव र जागरणको भूमिका खेलिरहुनुभएका बुढाथोकीले दाङ जिल्ला उवासंघले निर्माण गर्न लागिरहेको बहुउद्देश्यीय सभाहल निर्माणका लागि पनि आफ्नो तर्फबाट उल्लेख्य भूमिका खेलिरहनुभएको छ । यतिबेला नेपालीहरु चाडपर्वको माहोलमा छन् । प्रस्तुत छ, चाडपर्वमा बजारको अवस्था, सुधारका लागि उवासंघले केके गरिरहेको छ रु भन्ने विषयमा र अन्य यावत विषयमा आधारित रहेर पत्रकार निशानदाजु भट्टराईले गरेको कुराकानीको सारसंक्षेप ।
नेपालीको सबै भन्दा ठूलो चाड दसैँ घर आँगनमा छ, अनि तिहार पनि आउँदैछ । कसरी मनाउने सोंचमा हुनुहुन्छ ?
दसैं र तिहार हामी नेपालीहरुको सबै भन्दा ठूला चाडपर्व हुन् । यी पर्वहरुले परिवार, इष्टमित्र, भाइबन्धु, छरछिमेक बीचको सम्बन्धलाई अझैं प्रगाढ र सुमधुर बनाउँदछन् । त्यसैले हामी सबै नेपालीले यसलाई हर्षोल्लासका साथ मनाउँदै आएका छौं । म र मेरो घरपरिवारले यी पर्वहरुलाई यसरी नै मनाउने तयारी गरिरहेका छौं ।
बजार भाउ ह्वात्तै बढेको छ । पर्वहरु खर्चिला भए भन्ने छ नि ?
विभिन्न कारणले गर्दा अहिले महङ्गाई बढेको छ । जसले गर्दा पनि पर्वहरु खर्चिला भएका छन् । तर, यसलाई सहजरुपमा लिनुपर्छ । जस्तो कि पर्वहरुलाई सबै परिवारलाई आफू खुसी खर्च गर्ने छुट छ । कसैलाई पनि तैँले यति नै खर्च गर्नुपर्छ भन्ने कर छैन । त्यसैले आफ्नो कमाइ अनुसार पर्वहरुमा खर्च गर्नेतर्फ ध्यान दिइयो भने गुनासाहरु नै आउँदैनन् । अरुको देखासिकीमा खर्च गर्नेहरुका कारण कहिलेकाँही पर्वहरुमा समस्याहरु सिर्जना भएको हामीले पाउँछौं ।
पर्वहरुमा बजारमा सर्वसाधारण सेवाग्राहीहरुले विभिन्न नाममा अनावश्यक दुःख पाउँछन् भन्ने गुनासो सुनिन्छ । यहाँ दाङ जिल्ला उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष पनि हुनुहुन्छ । यस विषयमा संघले के गरिरहेको छ ?
यहाँले भनेझैं हामीले पनि यस प्रकारका गुनासाहरु बेला मौकामा सुन्ने गरेका छौं । तर, सुनिएका गुनासाहरुलाई मेट्नका लागि संघकै नेतृत्वमा बजार अनुगमनलगायतका कामहरु भए । तर, बजार हल्ला जस्तो यस विषयमा विकराल अवस्था हामीले पाएनौं । तर, पनि दाङ जिल्ला उद्योग वाणिज्य संघको मान्यता हाम्रो सबै खाले सेवा ग्राहकमैत्री हुनुपर्छ । यदि कोही कसैले खराब कार्य गर्छ, भने त्यो व्यवसायी हुन सक्दैन । व्यवसायीक मर्यादाभित्र रहेर, राज्यका नीति, नियम, कानुन र संघको विधान अनुसार नै व्यवसायीहरुले आफ्नो सेवा सूचारु गर्नुपर्छ भन्ने हाम्रो संस्थागत भनाइ हो । संघको तर्फबाट हामी हाम्रा सबै व्यवसायीहरुलाई आफ्नो सेवामा स्वच्छता कायम गर्न अनुरोध गर्दछौं ।
चाडपर्वको अवसरमा दाङका व्यवसायीहरुले सेवाग्राहीका लागि के कस्ता योजनाहरु ल्याएका छन् ?
दसैँ र तिहार हामी सबैका लागि गौरव र उमङ्गका पर्वहरु हुन् । यसर्थ यी पर्वहरुलाई हामी व्यवसायीले पनि उच्च प्राथमिकता दिएका छौं । बजारमा विभिन्न प्रकारका उपहार र छुटका व्यवस्थाहरु गरिएका छन् ।
चाडपर्वहरुको समयमा अत्यावश्यक सामग्रीहरुको अभाव हुने गर्दछन् । जिल्लामा अत्यावश्यक सामग्रीहरुको कमी हुन नदिन यहाँहरुले के गरिरहनु भएको छ ?
निश्चय नै कहिले काँही आपूर्ति भन्दा खपत धेरै भएको खण्डमा अत्यावश्यक सामग्रीहरुको कमी हुने गरेका छन् । यही कुरालाई मध्यनजर गर्दै हामीले संघको तर्फबाट कार्यसमिति, बस्तुगत सबै समितिहरुलाई चाडपर्वको समयमा कुनै पनि अत्यावश्यक सामग्रीहरुको अभाव नहोस् भनेर विशेष अनुरोध र निर्देशन दिनुका साथै सम्बन्धित क्षेत्रहरुमा पनि यस विषयमा कुरा गरेका छौं । जिल्लामा चाडपर्वको समयमा कुनै पनि अत्यावश्यक सामग्रीहरुको अभाव हुँदैन ।
विशेषगरी चाडपर्वहरु होहल्ला हुने, कुटपिट, लुटपाट हुने र शान्ति सुरक्षामा गम्भीर असर पुग्ने किसिमका गतिविधिहरु हुन्छन् । यस्ता कार्यहरुबाट व्यवसायीदेखि सर्वसाधारणहरु पीडित हुने भएकाले यसमा यहाँहरुले कस्तो कदम उठाउनुभएको छ ?
शान्ति सुरक्षा हामी व्यवसायीहरुका लागि सबैभन्दा महत्वपूर्ण विषय हो । शान्ति सुरक्षा विना हामी व्यवसायीले न व्यवसाय गर्न सक्छौं, न त लगानी नै । त्यसैले शान्ति सुरक्षाको सवालमा हामीले सधैँभरि प्रहरी प्रशासनलाई घच्घच्याइ रहन्छौं । शान्ति सुरक्षाको कुरा गर्दा, चाडपर्वहरुमा अझ बढी यसको खाँचो हुने भएकाले यस विषयमा हामीले सम्बन्धित निकायहरुसँंग छलफल, सम्वाद गरिसकेको छौं । प्रहरी प्रशासनको तर्फबाट पनि जिल्लाको शान्ति सुरक्षा प्रभावकारी बनाउन विशेष योजनाहरु बनाइएका छन् ।
बहुउद्देश्यीय सभाहल निर्माण कहिलेसम्म पुरा होला ?
बहुउद्देश्यीय सभाहल निर्माण कार्य अबको तीनचार वर्षमा पुरा हुने अनुमान हाम्रो छ । यो प्रोजेक्ट अलि ठूलो स्केलको भएकाले हामीले मात्र चाहेर यो पुरा हुन सक्दैन । यसमा राज्यदेखि सरोकारवाला निकाय र सर्वसाधारण सबैले सहयोगी भूमिका खेल्नुपर्छ । यस्तो हुन सक्यो भने छिटो भन्दा छिटो सभाहल निर्माण कार्य सम्पन्न हुनेछ ।
दाङलाई प्रादेशीक राजधानी बनाउने चर्चा छ । यस विषयमा यहाँको के भनाइ छ ?
दाङ प्रदेशनम्वर ५ को राजधानी बन्छ, बन्नुपर्छ । यस कुरामा हामी धेरै नै आशावादी छौं । दाङ यो प्रदेशको बीच भागमा हुनुका साथै भौगोलिक बनौंट, सुरक्षा, प्रशस्त जमीन, पर्याप्त पानी, जंगल, उत्तम हावापानीलगायतका कारणले गर्दा दाङ यो प्रदेशको राजधानी हुने कुरामा दुईमत छैन । यसका साथै राज्य र यहाँका सबै दलहरुले दाङप्रति सदासयता देखाएका छन् । यसका साथै तुलसीपुरमा प्रदेशस्तरीय उच्च अदालत गठन भइसकेको छ । विभिन्न कुराहरुले गर्दा दाङ यो प्रदेशको राजधानी हुनेछ भन्नेमा कुनै शंका छैन ।
दाङमै प्रदेशको राजधानी हुने भयो भने फेरि घोराही, तुलसीपुर, देउखुरी राख्नुपर्छ भनेर लडाई सुरु हुने त हैन ?
दाङ उद्योग वाणिज्य संघले प्रदेशनम्वर ५ को राजधानी दाङ नै हुनुपर्छ भनेर जायज माग र तर्कहरु धेरै अगाडिदेखि राख्दै त्यसको नेतृत्व पनि गरिरहेको छ । यस हिसाबले हामी यतिबेला केवल राजधानी दाङ हुनुपर्छ भन्ने मान्यतामा छौं । विगतमा केही विषयमा ठाउँलाई लिएर जिल्लाभित्र मतभेद भएका थिएँ । तर, यतिबेलाको समाज फराकिलो भइसकेको छ । प्रदेशस्तरिय उच्च अदालत तुलसीपुरमा गठन हुँदा हामीले घोराहीबाट मन खोलेर स्वागत गरेको थियौं । तसर्थ राज्यले दाङलाई राजधानी घोषणा गरेपछि हामी जिल्लाबासी यहाँको जुनसुकै कुनामा प्रशासनिक केन्द्र बनाउन खोजेपनि त्यसको बिरोधमा उत्रने छैनौं । हाम्रो एउटा मात्र माग हो, यनिहाउ प्रदेशको राजधानी दाङ बनाऔं ।
संविधान बनेको एकवर्ष भएको छ । मुलुकले विभिन्न खालका समस्याहरु व्यहोरेको छ । उद्योगी व्यवसायीहरु पनि विभिन्न किसिमका समस्याबाट पीडित छन्, अब के गर्दा मुलुकको समृद्धि, उद्योग, कलकारखानाको विकास हुन सक्छ होला ?
निश्चित्रुपमा मुलुकले ठूला भन्दा ठूला समस्याहरु व्यहोर्दै त्यसलाई हल गर्दै अगाडि बढेको छ । हामीले अधिकार केन्द्रीत महत्वपूर्ण आन्दोलहरु पनि गरिसकेका छौं । सबै कुराहरुको बलमा नयाँ संविधान बनेको छ । अब नयाँ संविधानलाई कार्यान्वयन गर्दै मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउने योजनाहरु बनाइनुपर्छ । झिनामसिना कुराहरुमा अब पनि आन्दोलन गर्नेलगायत कामहरु कसैले गर्नुहुँदैन । नयाँ संविधानको जगमा टेकेर अगाडि बढेमा आर्थिक समृद्धि प्राप्त गर्न सकिनेछ । राज्यले यस्तो वातावरण निर्माण गरेमा स्वभाविकरुपमा यहाँका उद्योग कलकारखाना, व्यापार व्यसायहरु पनि फस्टाउनेछन् । लगानी भित्रिनेछ । लगानी बढ्नेछ । स्थानीयस्तरमै स्वरजगारको वातावरण बन्नेछ । विदेशीने संख्यामा कमि आउनेछ ।
अन्तमा केही भन्नुछ कि ?
सर्वप्रथम त, चाडपर्वको समयमा संघको तर्फबाट भनाइ राख्ने अवसर प्रदान गर्नुभएकोमा पत्रिकाको टीमलाई धन्यवाद दिन चाहन्छु । आउँदै गरेको विषयादशमी, शुभदीपावली र छठपर्वले सबैको कल्याण गर्न सकोस्, यही छ मंगलमय शुभकामना ।












प्रतिक्रिया