
‘आदरणीय श्रोताबृन्द म हजुरकै आवाजको साथी प्राप्ती । आज पनि हामीले तपाईहरुका लागि झरना एफएम ८८ मेगाहर्जमा बजि रहेको कार्यक्रम सफलताका पाइलाहरु मार्फत फरक ज्ञान, रोचक जानकारी अनि भरपुर मनोरञ्जन दिने जमर्को गरिरहेका छौ । आज खेल क्षेत्रको बारेमा चर्चा परिचर्चा गर्नेछौ । खेल क्षेत्रले कसरी देशको नाम सबै ठाउँमा चिनाउँछ, यसले पार्ने राम्रा प्रभावहरु के–के छन् । के कारणले खेल क्षेत्र हाम्रो देशमा फस्टाउन सकेको छैन । यस विषयमा गहन विश्लेषण गर्नेछौ । त्यसपछि यो क्षेत्रमा आबद्ध केही व्यक्तिहरुसँग कुराकानी पनि गर्नेछौ । कतै नजानु होला, अब श्रोताहरुकै लागि म मिठो गीत बजाउँदैछु । गीत लगत्तै हजुरहरुको कानको पर्दामा मेरो आवाज पुनः ठोकिनेछ ।’
रेडियासेटमा कोइलीको जस्तो मिठो बोली गुञ्जि रहेको थियो । कार्यक्रममा गीत बज्न थाल्छ । श्रोताहरुलाई मन्त्रमुग्ध बनाउँदै गीत सकिन्छ । अनि कार्यक्रम प्रस्तोता प्राप्तीले आफ्नो आवाजको जादूलाई पुनः प्रष्टफुटन गर्न थाल्छिन्, ‘श्रोतबृन्द गीतमा शक्तिको भण्डार छ । म पनि गीत सुनेर रुने गुर्छु, हाँस्छु, कहिले काँही गीतले मलाई सफलताको सगरमाथामा चढ्न सहयोग गर्छ । कहिले गीतकै तालमा दुःखको सुनामीसँग पैठेजोरी गर्छु । गीतले साथमा भएका अनि जीवनको यात्रामा छुटेका सबैसबैको याद दिलाउँछ । तपाईहरुलाई पनि यस्तै हुन्छ होला भन्ने मेरो ठम्याई हो । हामीले भर्खरै आजका धनी गायक एसके श्रेष्ठको मिठो गीत सुन्यौ । अब म पुनः आजको विषय बस्तुतर्फ अगाडि बढ्छु । कतै नजानु होला, अरु पनि थुप्रै मिठा गीतहरु कार्यक्रमको बीचबीचमा हामीले पस्कनेछौ । कार्यक्रम कस्तो लाग्छ ? हामीलाई सुझाव अनि सल्लाह दिन नभुल्नु होला’, प्राप्ती रोकिन्छिन् ।
प्राबिधिक कक्षमा कार्य गरिरहेको प्राविधिकले कार्यक्रमका लागि तयार पारेको धुन बजाउँछ । धुन सकिनासाथ प्राप्तीका ओठहरु फरफराउन थाल्छन्, ‘हामी श्रोताहरुको सुझाबको भोका छौ । तपाईको सुझाबले हामीलाई समृद्ध बनाउने छ । सच्चिने मौका मिल्ने छ । हामीमा हिम्मत बढ्नेछ, नयाँनयाँ खुराकहरु खोज्न हामीलाई हौसाउनेछ । हामी शव्दका मिठामिठा चौरासी व्यन्जनसहितको परिकार पस्कनेछौ । तर, हाम्रो शव्दको परिकारले हजुरहरुको भोक, प्यास मेटिने छैन । हजुरहरुलाई अझ भोक लगाउनेछ । हाम्रो शव्द अनि कार्यक्रमले अझँ तलतल बनाउँनेछ । हजुरहरु कार्यक्रमको नशामा यसरी डुव्नु हुनेछ कि सकिएपछि पनि घण्टौसम्म हजुरहरुको कानमा हाम्रो कार्यक्रमले टर्चर गरिरहनेछ । हामीलाई विश्वास छ, हजुरहरुलाई मिठो अनुभूति दिई रहनेछ ।’
प्राप्ती धाराप्रवाह बोली रहेकी थिइन् । उनको आवाजको जादुले लाखौलाख श्रोताहरुको मनलाई मन्त्रमुग्ध बनाई रहेको थियो । प्राप्ती शव्दको हाटबजारमा थिइन्, ‘कार्यक्रमको अन्तमा सदाझै आज पनि हामीले हाम्रो कार्यक्रममा फोन गर्ने एकजना श्रोतालाई गोलाप्रथाबाट पुरस्कारको व्यवस्था गरेका छौ । आजको बिजेताले होटल हायातमा डिनर, क्यूएफएक्समा फिलिम अनि फनपार्कमा घुम्ने अबसर पाउनु हुनेछ । तसर्थ आफ्नो रेडियो सेटबाट कार्यक्रम अबधिभर टाढा नहुनुहोला । हामीले कार्यक्रमको बारेमा विश्लेषण गरिसकेपछि विज्ञहरुसँग कुराकानी गर्नेछौ, त्यसपछि आजकै कार्यक्रममा आधारित रहेर प्रश्न सोधिने छ । श्रोताहरुले कार्यक्रमको अन्तिममा फोन मार्फत त्यसको जवाफ दिनुपर्नेछ । सही उत्तर दिने मध्यबाट एकजना बिजेता बन्नु हुनेछ ।’
सदाझै आज पनि लाखौ श्रोताहरुको मन जित्दै प्राप्तीले कार्यक्रम चलाउँछिन् । अनलाईनमा हजारौले उनको कार्यक्रम सुनेको प्रष्ट देख्न सकिन्थ्यो । निर्धारित समयमा उनले कार्यक्रको बिट मार्छिन् । कार्यक्रम सकिएपछि उनी कोठातर्फ सोझिन्छिन् ।
०००
‘दिदी आजको कार्यक्रम पनि सदाझै ए वान भयो, मैले सुरु देखि लाष्टसम्म सुनेकी थिएँ’, कृतिले चिया सुरुप्प पार्दै शव्दको खेती गर्छिन् । उनको कुरा सुनेर मुहार उज्यालो बनाउँदै प्राप्ती बोल्न थाल्छिन्, ‘हप्तैभरि कार्यक्रमलाई बेष्ट कसरी बनाउन सकिन्छ भनेर दुःख गर्छु, यति पनि नहुने हो भने त, बर्बाद भैहाल्यो नि !’
प्राप्ती अर्थात् सम्भवी क्षेत्री । उनले गृहजिल्ला दाङ छाडेको दुईवर्ष हुन लागेको थियो । उनी आजकाल काठमाडौंमा थिइन् । उनको साथमा सानीआमाकी छोरी कृति बस्नेत पनि बस्थिन् । सम्भवी र कृति अध्ययनको शिलशिलामा काठमाडौं आएका थिए । संकेतसँग टाढिएपछि सम्भवीले आफ्नो नाम नै बदलेकी थिइन् । सम्भवी भनेर कसैले बोलाउँदा संकेतकै बोली गुञ्जे जस्तो उनलाई लाग्थ्यो । उनी बिछोडको पीडाबाट हप्तौ पछि बाहिर निस्किएकी थिइन् ।
आफूलाई सम्हाल्न सक्ने भएपछि कृतिकै सल्लाह बमोजिम उनले प्राप्ती नाम राखेकी थिइन् । काठमाडौं आएपछि उनले रेडियोमा कार्यक्रम चलाउनका लागि प्रशिक्षण लिन्छिन् । मन देखि नै कार्यक्रम चलाउने इच्छा भएकाले उनले प्रशिक्षणकै क्रममा अरुले भन्दा उत्कृष्ट कार्यक्रम चलाउँछिन् । जसले गर्दा झरना एफएममा उनले कार्यक्रम चलाउने मौका पाउँछिन् । हजारौ विज्ञापनहरुमा उनको आवाज गुञ्जि सकेको थियो । कार्यक्रम चलाए वापत काठमाडौंमा बाँच्न सक्ने पारिश्रमिक पनि उनले पाईरहेकी थिइन् । जसबाट उनी र उनको बहिनीको जोहो चलिरहेको थियो ।
‘दिदी तिमी किन फेसबुकमा आफ्नो फोटो नै राख्दिनौ । आज पनि हजारौले तिम्रो कार्यक्रम हेरेका रहेछन् । फेसबुकमा कमेन्टको ओइरो छ । प्राप्तीजीको मुहार कस्तो छ ? तस्बिर हेर्न के गर्नुपर्छ भनेर लेख्नेहरु पनि टन्नैछन्’, कृति मुस्कुराउँछिन् ।
सम्भवी (प्राप्ती) ले पुरानो फेसबुक बन्द गरेर नयाँ फेसबुक प्राप्तीको नाममा बनाएकी थिइन् । जसमा उनले धेरै जसो आफ्नो कार्यक्रमको बारेमा पोष्ट गर्थिन् । उनका फ्यानहरु दिनप्रतिदिन बढि रहेका थिए । उनको फेसबुकमा म्यासेज पठाउनेहरुको होडबाजी नै थियो । एफएममा समेत फोन गरेर प्राप्तीको बारेमा खबर लिनेहरु धेरै थिए ।
संकेतसँग टाढा भएपछि प्राप्तीले अबदेखि कुनै पनि केटासँग सम्बन्ध नगाँस्ने निधो गर्छिन् । सधैभरी चञ्चले, चुलबुले देखिने छोरीको मुहारमा बादल लाग्न थालेपछि उनका बुबाले उनलाई के भएको छ भन्ने कुरा जानकारी लिने प्रयत्न गर्छन् । बुबाको धेरै करकाप पछि उनले संकेतसँगको सम्बन्धको बारेमा अबगत गराउँछिन् ।
‘बाबा मलाई माफ गर्नुहोस्, म बहकिएकी थिएँ ।’
छोरीले आफ्नो कम्जोरीमा पनि लज्जावोध गरेपछि उनले यस विषयमा छोरीलाई नै निर्णय गर्न आग्रह गर्छन् ।
सन्देसँग टाढिएको केही महिनापछि सम्भवी काठमाडौं आउँछिन् । काठमाडौंमा सुरुका दिनमा उनी आफन्तको कोठामा बस्छिन् । आफूले रेडियोमा कार्यक्रम चलाउन थालेपछि उनको बहिनी कृति पनि काठमाडौं आउँछिन् । त्यसपछि उनीहरु कोठा ल्याएर बस्न थाल्छन् ।
‘फेसबुकमा फोटो हालेर केही पनि फाइदा छैन । आजकाल जताकतै षड्यन्त्रका गन्धहरु फैलिएका छन् । कदम–कदममा फाइदा र नोक्शानको तराजुमा सम्बन्धलाई जोखेर षड्यन्त्रका तानाबानाहरु बुन्ने प्रशस्तैछन् । त्यसैले भविष्यमा कुनै पनि खराब दिनको सामना गर्न नपरोस् भनेर नै फेसबुकमा आफ्नो तस्विर नराखेकी हुँ’, प्राप्तीले एकै साँसमा आफ्नो कुरा भन्छिन् । उनको कुरा सुनेर कृति परेली उचाल्दै बोल्न थाल्छिन्, ‘तिम्रो कुरा पनि ठिकै होला । तर आफू त फोटो खिच्योकी फेसबुकमा हालिन्छ । जसले जे सोँचे–सोँचोस ।’
‘अनि दिदी तिमीलाई रेडियोमा फोन गर्नेहरुले के भन्छन् ?’, कृतिले प्रश्न गर्छिन् । उनको कुरा सुनेर प्राप्तीले खान लागेको चिया टेबुलमा राख्छिन् । अनि खित्का छाडि–छाडि हाँस्छिन् । केही समयपछि हाँसोको लबेदासँगै उनी बोल्न थाल्छिन्, ‘के–के भन्छन्, भन्छन्, कुरैगरि साध्य छैन । एउटाले त हजुरको बोली नसुन्दासम्म निन्द्रै लाग्दैन । भोटौ, यदि हजुरलाई म मन परेछु भने विहे गरौला । मेरो यति सम्पत्ती छ । म यस्तो मान्छे, हजुरको इच्छा छ भने घरपरिवारलाई समेत ल्याएर आउँछु । भन्थ्यो ।’
‘अनि तिमीले के भन्यौ त ?’
‘के भन्नु र ! छुटकारा पाउनु थियो, त्यसैले म ४० वर्षको हुन लागे । हजुर जत्रो त मेरो छोराछोरी छन् भने । अनि थाहा छ, त्यसले के भन्यो ?’
‘के भन्यो ?’
‘त्यसो भए आमाको यति मिठो स्वर छ भने छोरीको झनै कति मिठो होला । छोरीको हात दिनुहोस्, म विहे गर्छु, हजुरलाई सासु भए पनि बनाउँछु, भन्यो । हत्तन पत्त मैले फोन काटे’, प्राप्ती हाँस्न थाल्छिन् । उनको कुरा सुनेर कृति पनि पेट मिचिमिचि हाँस्छिन् । केही समय दुबैजना हाँसोको सगरमाथामा चढ्छन् ।
‘मान्छेहरु पनि अजिबका हुन्छन् । अनि दिदी तिमीसँग एउटा कुरा सोधु ?’
‘हुन्छ ।’
‘रिसाउँछौ कि ?’
‘रिसाउँदिन, सोध ।’
‘तिमीलाई संकेत सरको याद आउँछ ?’, कृतिले मलिन स्वर सुनाउँछिन् । उनको प्रश्न सुनेर हाँसिरहेकी प्राप्तीको मुहारमा बादल लाग्छ । उनको मनमा संकेतको मुहार नाँच्न थाल्छ । उनले लामो सुस्केरा छाड्छिन् ।
कृतिले अब गाली खाइने भयो भनेर मन खिन्न बनाएकी थिइन् । यस्तैमा सम्भवीले मुहारमा मन्द मुस्कान झल्काउँदै ओठ चलाउँछिन्, ‘सम्झना त आईहाल्छ नि ! संकेत सरबाट नराम्रो मात्र कहाँ भएको थियो र ! उहाँले मेरो लागि धेरै कुरा गर्नु भएको थियो ! कसैले पनि राम्रो गरेको छ भने त्यसको गुणलाई कहिल्यै बिर्सनु हुँदैन ।’
‘अनि किन बोल्नै छाड्यौ त ?’
‘घर परिवारको लागि । बाबा थुनिनुमा उहाँको अफिसको पनि हात छ ।’
‘तर ठूलोबाबाले निवेदन संकेतसरको अफिसका स्टाफहरुले दिएका हुन भन्नु हुन्थ्यो त ?’
‘जेसुकै होस् । संकेत सरसँगको सम्बन्ध दिगो बनाएको भए, बाबा अनि मम्मीले नराम्रो मानि हाल्नु हुन्थ्यो नि !’
‘के तिमीले संकेत सरलाई मन पराउन थालिसकेकी
थियौ ?’
‘कति चाट्न सकेको दिमाग । मलाई, यो प्रसङ्गमा अब कुरा नै गर्नु छैन’, सम्भवीले आँखा तर्छिन् । कृतिले बालापन देखाउँछिन्, ‘भन न, प्लीज !’
‘हो–हो, संकेत सरलाई मैले माया गर्थे । यदि उक्त कुरा थाहा नपाएको भए, उहाँ काठमाडौंबाट फर्कना साथ मैले नै प्रपोज गर्ने सोँचेकी थिएँ । तर भाग्य अनि समयले हामीलाई साथ दिएन । अब त पुग्यो तँलाई । कि अरु केही बाँकी छ ?’, प्राप्तीका आँखाहरु रसाएका थिएँ । उनलाई देखेर कृतिको पनि चित्त दुःखेको थियो । मुहार मलिन बनाउँदै कृतिले पुनः प्रश्न गर्छिन्, ‘यदि संकेत सर फेरि तिम्रो जीवनमा झुल्कनु भयो भने के गर्छेउ ?’
‘के गर्नु, उहाँले केही सोध्नु भएछ भने जवाफ दिन्छु, अनि आफ्नो बाटो लाग्छु ।’
‘पछि लागेमा ?’
‘विहे गरेको मान्छे, केको मेरो पछि लागेर बस्छन् । त्यसैमा त्यो दिनपछि उहाँले अहिलेसम्म मलाई भेट्ने प्रयास नै गर्नुभएको छैन । मजाले आफ्नो जीवन व्यतीत गरिरहेको मान्छेले अब किन विगतलाई कोट्याउँदै हिँड्छ ? केटा मान्छेको जात, एउटा गए अर्को आउँछ भन्दै अगाडि बढ्छन् । त्यसैमा पैशा कमाउनेहरुको त झनै रबाफ र सोँच नै बेग्लै हुन्छ । अब यो विषयमा मलाई कुनै कुरा गर्नु छैन । तेरो परीक्षा आउने समय भएको छ, मजाले पढ, फाल्तु गफ गरेर फाइदा छैन ।’
‘ओके छ त । म अब पढ्छु, तिमी अर्को हप्ताको पनि कार्यक्रमलाई कसरी बेस्ट बनाउन सकिन्छ, त्यसबारेमा सोँच्दै गर’, कृति मुस्कुराउँदै पढ्नका लागि किताब–कापीहरु समाएर कौशीमा निस्कन्छिन् । प्राप्ती विगततर्फ फर्कन्छिन् ।
उनको मनमा संकेतको तस्बिरहरु नाँची रहेका थिएँ । त्यो दिनपछि संकेतसँग उनको भेट भएको थिएन । प्राप्तीको नाममा फेसबुक बनाएपछि उनले संकेतको फेसबुक सर्च गरेर हेर्न खोजेकी थिइन् । तर संकेतले फेसबुक बन्द गरेका कारण उनले भेटाउँदिनन् । रेडियोमा कार्यक्रम चलाउन थालेपछि उनले संकेतको मोबाइलमा ल्याण्ड लाईनबाट फोन पनि गरेकी थिइन् । संकेतको मोबाइल सधै स्वीचअफ हुन्छ । धेरैदिनसम्म पनि उनको मोबाइल स्वीचअफ भनेपछि प्राप्तीले फोन गर्न छाड्छिन् । उनलाई पनि ‘संकेतले आजकाल के गर्दै होलान ?’ भनेर जान्ने इच्छा थियो । तर मनको इच्छा व्यक्त गर्ने पक्षमा उनी थिइनन् ।
‘आज कृतिको कुराले अतीत ताजा बनेर आयो । साँचै आजकाल संकेत सर कहाँ हुनुहुन्छ होला ? के गर्दै हुनुहुन्छ होला ? उहाँको काम कस्तो चल्दैछ होला ? घरमा समय दिनुहुन्छ कि नाई ? श्रीमतीसँग आजकाल उहाँको सम्बन्ध कस्तो छ ?’
प्राप्तीको मनमा यस्तै–यस्तै कुराहरु खेल्न थाल्छन् । लामो सुस्केरा छाड्दै उनी खाटमा पल्टन्छिन् । केही समय खाटमा कोल्टो फेर्दै विगतबाट उम्कन खोज्छिन् । तर संकेतसँग गाँसिएका हरेक पलहरु मिठा थिएँ । जसले गर्दा उनको दिल अनि दिमाग संकेतको यादमा लठिएको थियो ।
‘सम्भवीजी ! रेडियो कार्यक्रम त आज पनि बाबाल थियो । सुरु देखि अन्त्यसम्म मोहनी लगाउने । आवाजको जादु !’, संकेतले रातो गुलाबको फूल दिँदै प्रशंशाको बगैचा निर्माण गर्छ । संकेतको हँसिलो मुहार अगाडि देखापरेपछि सम्भवी मनभरि खुशी सजाउँदै गुलाबको फूल समात्न अगाडि बढ्छिन् । संकेतको चित्र क्रमशः हराउँछ । आँखा अगाडि घरको भित्ता थियो ।
‘मलाई यो के हुन थाल्यो, संकेत सरको भूतले आज फेरी निदाउँनै नदिने जस्तो छ । जसरी हुन्छ, भूतको जादूलाई छुमन्तर बनाउने बुटी बनाउँछु’, सम्भवीले लामो सुस्केरा छाड्छिन् । आँखा चिम्म गर्छिन् । छेउँको सिरानीलाई अङ्गालो हाल्दै निदाउँने प्रयास गर्छिन् ।
(लक्की चार्म उपन्यासबाट)















प्रतिक्रिया