रुकुम, १७ असोज । विगत १५ वर्ष पहिले रुकुम जिल्लामा औपचारिक रुपमा दर्ता भई मानव अधिकारको पक्षमा आवाज उठाउँदै आईरहेकोे संस्था हरप्लेस रुकुमले शान्ति र सुशासनको पक्षमा वकालत गर्दै आईरहेको छ ।
नेपालमा चलेको तत्कालिन १० वर्षे सशस्त्र द्धन्दको बेला रुकुमबाटै शान्तिको बिगूल फूक्ने उदेश्यले पत्रकार र कानुन व्यवसायीको सहकार्यमा यस संस्थाको जन्म भएको हो । मानव अधिकारको सम्बद्र्धन र प्रवद्र्धन मार्फत दिगो शान्ति स्थापना कायम हुन्छ भन्ने मान्यताका साथ हरप्लेस रुकुम शान्ति र सुशासनको पक्षमा अघि बढिरहेको छ ।
स्थापना कालबाटै रुकुमलाई केन्द्रिय कार्यालय बनाएर अन्य जिल्लामा शाखा विस्तार गरेको हरप्लेस रुकुमले सामाजिक न्याय, शान्ति र सम्बृद्धिको पक्षमा काम गरिरहेको छ । द्धन्द रुपान्तरण र शान्ति निर्माणको क्षेत्रमा रहि हरप्लेस रुकुमले स्थापना कालबाटै शान्ति जागरण नामक रेडियो कार्यक्रम समेत संचालन गरेको थियो ।
मानव अधिकार सम्बद्र्धन तथा पवद्र्धन, द्धन्द रुपान्तरण र शान्ति निर्माण, सुशासन र जवाफदेहिता तथा संस्थागत क्षमता विकासका यी चार वटा क्षेत्रलाई हरप्लेस रुकुमले मूख्य क्षेत्रको रुपमा हेर्दैै आईरहेकोे छ । बाँकेको नेपालगञ्जमा क्षेत्रिय कार्यालय रहेको हरप्लेस रुकुमले सल्याण, दाङ्ग, प्यूठान, रोल्पा र बर्दिया जिल्लामा समेत जिल्ला शाखाको स्थापना गरेर मानव अधिकार र सामाजिक न्याय लगायतको अन्य क्षेत्रमा काम गरिरहेको छ ।
आज रुकुम सदरमुकाम मुसिकोट खलंगामा संस्थाको १६औं साधारण सभाको उद्घाटन सत्र कार्यक्रममा बोल्दै हरप्लेसका कार्यकारी प्रमुख टोप बहादुर खड्काले संस्थाको प्रगति विवरण तथा संचालित कार्यक्रमहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । आगामी दिनमा हरप्लेस रुकुमले समुदाय स्तरमा दिगो शान्ति स्थापनाका लागि मानव अधिकारको पक्षमा रहंदै सुशासन र सामाजिक न्यायमा समेत अघि बढ्न थप कार्ययोजना बनाएको खड्काले बताउनुभयो । संस्थाले आजै अधिवेशन मार्फत हरप्लेसको नयाँ नेतृत्व सहितको अर्को कार्य समिति समेत चयन गर्ने भएको छ ।













प्रतिक्रिया