
भैरहवा, १७ असोज । देशको लागि केही गर्लान भन्ने आसमा जनताको पसिना बेचेर तिरेको राजस्वबाट तलव खाने कर्मचारीहरुको प्रबृत्ति झन् पछि झन् लुटतन्त्र तर्फ अग्रसर देखिएको छ ।
जनताले तिरेको राजश्वबाट आफ्नो सेवासुबिधा लिने उनीहरुले विभिन्न किसिमका बदनाम समेत गर्न थालेपछि उनीहरुप्रतिको विश्वास घट्दै गएको छ । बिदाको दिन एका विहानैदेखि सरकारी मोटरसाइकलको सरकारी कर्मचारीद्वारा चरम दुरुपयोग भएको फेला परेपछि कर्मचारी प्रति जनताको विश्वास अझ खस्कीएको हो । गत शनिबार चार बटा सरकारी नम्वर प्लेटका मोटरसाइकलको प्रयोग गरी कर्मचारीहरु भैरहवाको एक क्याफेमा गई तास खेल्दै गरेको अवस्थामा ट्राफिक प्रहरीको फन्दामा परेका हुन ।
उनीहरुले उक्त क्याफेको बाहिर पार्किङ गरी राखेका चारबटा मोटरसाइकलहरु देखिएपछि खोजतलासी गर्दा उनीहरुले क्याफेको भित्र तास खेलिरहेको अवस्थामा आफुले फेला पारेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दामोदर मल्लले बताए । साथै आफु क्याफे भीत्र प्रबेश गरेको देखेपछि सबै कर्मचारीहरु एकाएक भागेको समेत मल्लेले बताए ।
घटनाको रहस्य
गत शनिबार अर्थात १५ गतेको कुरा हो एका विहानै करिब ९ बजेको समयमा भैरहवाको लुम्बिनीरोडमा अवस्थित एक क्याफेको अगाडी चारबटा सरकारी नम्बर प्लेटका मोटरसाइकलहरु देखिए । तर मोटरसाइकलको संख्या चारवटा नै भएतापनि सरकारी कर्मचारी भने कतिजना थिए भन्ने पत्ता लागेको छैन् । लु १ ब २९४, लु १ ब २९३, लु १ ब ३७८ र लु १ ब ५८४ नम्बरका मोटरसाइकलहरु उक्त क्याफेको अगाडी रोकिएको अवस्थामा राखिएका थिए । त्यो कुरा एकाएक जिल्ला ट्राफिक प्रहरी कार्यालय समक्ष पुगेछ । तर जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दामोदर मल्लको नेत्रीत्वमा ४÷५ जना तत्काल त्यस रेष्टुरेण्टको बाहिर मोटरसाइकलहरु पार्किङ गरी राखेको स्थानमा त आए तर उनीहरु तत्काल लाई अलमलिए । किनकी उनीहरु कतै महत्वपूर्ण कार्यक्रमको लागि पो आएका हुन की ? उनीहरुसंग प्रमुख जिल्ला अधिकारी मार्फत विदाको दिन सरकारी गाडि चलाउन पाउने पास पो छ की ? भन्ने जस्ता आसंकाले उनीहरुलाई केहीबेर रोक्यो । तर सरकारी कर्मचारीहरु किन यसरी बीदाको दिन सरकारी साधनको प्रयोग गरे भन्ने कुरा प्रमुख मल्ललाई खड्किरह्यो । उनले बिचार गरे जतिबेला सम्म ती कर्मचारीहरु उक्त क्याफे बाट बाहिर आउँदैनन् त्यतीबेला सम्म उक्त क्याफेको बाहिर कुरेरै भएपनि बस्ने निधो उनले गरे । क्याफेको भीत्र भएका कारण कतै मदिरा सेवन गरी बसेका रहेछन् की भन्ने आसंकाले उनीहरु बाहिर आइ मोटरसाइकल चलाएको अवस्थामा मापसे चेक गर्ने र यदी मदिरा सेवन गर्नकै लागि आएका रहेछन भने बल्ल कारवाही गर्ने दाउमा मल्लले त्यो निधो गरेको बताए । तर विहान करिब ९ बजेको समयमा सो स्थानमा देखिएका चारबटा मोटरसाइकलहरु मध्ये करिब १ बजेको समयमा लु १ ब ५८४ नम्बरको मोटरसाइकल त्यहाँ देखिएन् । मल्लका अनुसार सो समयमा आफुले दुइ वटा भवरलोड बोकेर गुरवनिया तर्फ जाँदै गरेको ट्रकलाई पक्राउ गर्न लागेका कारण उक्त मोटरसाइकल पनि सोही समयमा उम्कन सफल भएको हुनसक्ने बताए । करिब ४ घण्टा वितीसक्दा समेत बाहिर निस्कने छाँटकाँट नदेखिएपछि आफुले विभिन्न माथिल्लो निकाय संगको छलफल अनुसार उनी सो क्याफेको भीत्र गएर भएपनि तथ्य पत्ता लगाउने अवस्थामा पुगे । अन्तत् ः दिनभर यसरी बाहिर ननिस्कनुको रहस्यमय काहानी फेला परेरै छाड्यो । गलत काम गर्नेको पर्दाफास नभएर त कहाँ उम्कन्थ्यो र ? फलस्वरुप उनीहरु एकाएक ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लको फन्दामा परे । उनीहरु तास खेल्दै गरेका कारण बाहिर ननिस्कीएको जानकारी सहित क्याफेको बाहिर आएका मल्लले आफुलाई देखेपछि ती सबै कर्मचारीहरु भागेको समेत बताए । तर मदिरा सेवन गरे नगरेको बारे उनले केही बोल्न चाहेनन् । किनकी मदिरा सेवन गरेको भन्ने पक्का गर्नको लागि उनीहरुको मेडिकल रिपोर्ट गर्नुपर्ने हुँदा कर्मचारीहरु एकाएक भागेपछि त्यो सम्भव नभएकाले मदिरा सेवन गरेकै भएपनि प्रमाण प्राप्त नभएपछि उनी केही बोलेनन् । त्यस पश्चात व्यवारीसे अवस्थामा मोटरसाइकल छाडेर उनीहरु एकाएक भागेपछि जिल्ला प्रहरी कार्यालयमा लगि ती मोटरसाइकलहरु राखिएको ट्राफिक प्रहरी प्रमुख मल्लले बताए ।
को थिए उनीहरु ?
यसरी सरकारी सेवा सुविधामा रमाएका उनीहरुलाई सरकारी कामकाजको लागि सरकारले उपलब्ध गराएको सवारी साधन व्यक्तिगत त्यो पनि घिन लाग्दो काममा प्रयोग गरी मोज गर्ने कर्मचारीको काम गर्ने कार्यालय पनि पक्कै सामान्य होइन् । उनीहरु जिल्लाको मुहार फेर्ने कार्यालय जिल्ला प्राविधिक कार्यालय रुपन्देहीमा कार्यरत कर्मचारी हुन । तर उनीहरुले जिल्लाको नभई आफ्नो मुहार फेर्नमा अग्र स्थानमा देखिए ।
ती चारवटा मोटरसाइकल मध्ये लु १ ब २९४ नम्बरकको मोटरसाइकल सब ओभरसियर चिरञ्जीवी पाण्डेको नाममा, लु १ ब २९३ नम्बरको मोटरसाइकल सब ओभरसियर चेतनारायण ज्ञवालीको नाममा र लु १ ब ३७८ नम्बरको मोटरसाइकल सव इन्जीनियर सत्य नारायण शाहको नाममा जिल्ला विकास समितिको जिन्सी शाखाको रेकर्डमा देखिएको छ भने लु १ ब ५८४ नम्बरको मोटरसाइकल इन्जीनियर शंकर शाहको नाममा जिल्ला प्राविधिक कार्यालयको रेकर्डमा देखिएको छ । यसरी जिल्लाको महत्वपूर्ण निकायमा कार्यरत उनीहरुको उक्त व्यवहारले अव आउने नयाँ कर्मचारीले के सिक्लान ? के भन्लान उनीहरुलाई जनताले ? तर यो कुरा थाहा भएरपनि मनपरी गरेका उनीहरुलाई सायद कसैको डर नहुन सक्छ ।
के कारवाही हुन्छ उनीहरुलाई ?
सामान्य तया शनिबार अर्थात नेपाल सरकारले तोकेको सरकारी विदाको दिन सरकारी गाडिको प्रयोग गर्ने अधिकार उनीहरुलाई हुँदैन् । यद्यपी विशेष कामको शिलशिलामा यदी प्रयोग नै गर्नुपर्ने भएमा पनि प्रमुख जिल्ला अधिकारी मार्फत पास लिएर मात्र उनीहरुले विदाको दिन सरकारी साधनहरु प्रयोग गर्न पाउने प्रावधान छ । तर विना कुनै अनुमति यसरी सरकारी मोटरसाइकलको दुरुपयोग गरेका उनीहरुलाई अब के कारवाही होला त ? यो सबैमा उब्जने प्रश्न हो । सामान्य तया यसरी सरकारी साधनको दुरुपयोग गर्ने जो कोही कर्मचारीलाई पनि सरकारले उपलब्ध गराउँदै आएको सवारी साधनको सुविधा सोही दिनदेखि कटौती गर्नुपर्ने हो । तर यसबारे सम्बन्धित कार्यालय जिल्ला प्राविधिक कार्यालय रुपन्देहीका प्रमुख पुस्कर पोखरेलको प्रतिकृया सुन्दा लाग्छ उनैको आडमा उनीहरुले यसरी सरकारी साधनको दुरुपयोग गरेका हुन् । किनकी प्रमुख पोखरेलले भन्छन् यस्तो त कहिले कसो भइहाल्छ तै पनि म सम्झाउँला अब यस्तो नगर्नु भनेर । के उनीहरुलाई आज सम्म थाहा थिएन र अब सम्झाउनु पर्ने ? यसरी नाजायज जवाफ दिएर उम्कने हाकीमले खै के गर्नेहुन हेर्न बाँकी नै छ ।
तर विभिन्न समयमा विभिन्न कर्मचारीहरुबाट सरकारी साधनहरुको दुरुपयोग हुने समाचार अन्य समयमापनि सुनिएतापनि सरकारले सामान्य रुपमा उक्त कर्मचारीलाई देखावटि रुपमा कारवाही गरेपनि यसको नियन्त्रणमा खासै चासो दिएको भने पाइँदैन् ।
– माधब न्यौपानेबाट ।












प्रतिक्रिया