काठमाडौं, १६ असोज । नेपाली मुलका बिश्वचर्चित फेसन डिजाइनर प्रवल गुरुङलाई यतिबेला अमेरिकी राष्ट्रपति चुनावको भूत चढेको छ । र उनी यो चुनावी अभियानको एक अनिवार्य पात्र बनेका छन् ।
उनका डिजाइन अमेरिकी राष्ट्रपति पत्नी मिसेलदेखि बेलायती राजकुमारी केटसम्मले प्रयोग गर्ने गरेका छन् ।
हिलारी क्लिन्टनलाई राष्ट्रपति बनाउने अभियानमा लागेका प्रवलले डिजाइन गरेका टिसर्ट यतिबेला अमेरिकामा खोसाखोस भइरहेको छ ।
नेपालमा जन्मिएका प्रवल झण्डै डेढ वर्षअघि अमेरिकी नागरिक बनेका थिए । र उनको क्लिन्टनसँगकोे मित्रता सन् २०१४ देखि सुरु भएको हो ।
अहिले डेमोक्रेटिक उम्मेदवार क्लिन्टनले उनकै विश्व चर्चित ट्यालेन्टलाई चुनावमा प्रयोग गरेकी छन् ।
हिलारीलाई आर्थिक सहयोग जुटाउन उनले डिजाइन गरेको मेड फर हिस्ट्री लेखको रातो टिसर्ट सोल्ड आउट भएको हिलारीको चुनाव अभियानसम्बन्धी वेबसाइटले जनाएको छ ।
प्रवलले डिजाइन गरेको यो टिसर्टको मूल्य ४५ अमेरिकी डलर रहेको र उनको यो टिसर्ट चुनावी अभियानका क्रममा बेचिन्छ ।
प्रवल क्लिन्टनका सेलिब्रेटी सपोर्टरमध्येका एक हुन् । अमेरिकन पत्रिका ‘फास्ट कम्प्यानी’लाई दिएको एक अन्तरवार्तामा प्रवलले आफ्नो समर्थन हिलारीलाई हुनुको कारण खुलाउँदै भने ‘उनी वर्तमान र विगतका राष्ट्रपति भन्दा योग्य छिन् ।’
हिलारीको टिमसँगको सहमतिपछि प्रवलले सेतो र हरियो फूल बुट्टा भएको रातो टिसर्ट डिजाइन गरेका हुन् ।













प्रतिक्रिया