काठमाडौं,१६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषय तथा नेपाली सेना सम्बन्धी जानकारी लिने उद्धेश्यले जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नु भएको छ ।
उक्त कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले स्वागत मन्तव्य राख्नु हुंदै ईतिहासको कालखण्डहरुमा अनेकौं चुनौतिका बाबजुद देशको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको संरक्षण गरी नेपाललाई अक्षुर्ण राख्ने जिम्मेवारी समस्त नेपाली र विशेष गरी नेपाली सेनाको भएको तथा नेपाली सेना व्यवसायिक तथा गैह्र राजनितिक संस्थाको रुपमा स्थापित रहेको र रहीरहने कटिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
त्यसैगरि, कार्यक्रममा सम्बन्धित विभागका रथीहरुले वर्तमान बस्तुस्थितिको जानकारी गराउनुको साथै नेपाली सेनाको ईतिहास, विकासक्रम, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यहरु र भावी कार्यदिशा सम्बन्धी प्रस्तुतिकरण गर्नु भएको थियोे ।
कार्यक्रममा रक्षा मन्त्री बालकृष्ण खाँडले आफ्नो मन्तव्यको क्रममा नेपाली सेनाले स्थापना कालदेखि नै भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि पु¥याउंदैं आएको योगदानको प्रशंसा गर्नु हुदैं नेपाली सेनालाई अझ सशक्त र आधुनिक बनाउंदैं सेनाको क्षमतालाई थप अभिबृद्धि गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
निर्देशनको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सेनाले राष्ट्रिय स्तरमा गरेको प्रकृति संरक्षण, विकास निर्माण तथा विपद् व्यवस्थापन जस्ता कार्यहरु लगायत अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्ति स्थापनार्थ गरेको कार्यहरुको प्रशंसा गर्नु हुदैं नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवम् थप क्षमतावान बनाउन नेपाल सरकारले पुर्ण सहयोग गर्ने दृढता व्यक्त गर्नु भएको थियो । निर्देशनकैै क्रममा उहाँले नेपाली सेना राज्यको अन्तिम शक्तिको रुपमा रहेको हुंदा आईपर्नसक्ने जस्तोसुकै चुनौतिहरुलाई पनि सामना गर्न सक्ने गरी तयार रहनु पर्ने कुरामा समेत जोड दिनु भएको थियो । त्यस्तै, विगतको महा भुकम्पमा नेपाली सेनाले पु¥याएको योगदानले नेपाली सेना जनता माझ सम्मानित भएको समेत उल्लेख गर्नु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
कार्यक्रमको अन्त्यमा बलाधिकृत रथी बलदेव राज महतले समापन मन्तव्य राख्नु हुंदै कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा, भौतीक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, रक्षामन्त्री बालकृष्ण खाँड, वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी, रक्षा सचिव श्रीधर सापकोटा, प्रधानमन्त्री कार्यालय तथा रक्षा मन्त्रालयका पदाधिकारीहरु लगायत नेपाली सेनाका रथीहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया