रुकुम, १६ असोज । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले रुकुमस्थित विभिन्न कार्यालयका प्रमुखहरुलाई सूचनाको हक सम्बन्धी ऐनमा रही आम नागरिकको पक्षमा नरम भएर काम गर्न आग्रह गर्नुभएको छ ।
आईतबार रुकुम मुसिकोटमा आयोजित सूचनाको हक सम्बन्धी अनुशिक्षण गोष्ठीमा बोल्दै उहाँले प्रत्येक जनताले कुनै पनि सूचना माग्न पाउने अधिकार सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले दिएको बताउनुभयो ।
आफ्नो अधिकारका लागि नागरिकले सार्वजनिक निकायमा आवश्यक परेको सूचनामा टिप्पणी गर्न पाउने भएकोले टिप्पणी गर्नुपूर्व आम नागरिक जागरुप हुनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरु संधै नागरिक प्रती जवाफदेही र जिम्मेवार भई आफ्नो कर्ममा रहेर जनताको पक्षमा काम गर्न सके त्यो नै सौभाग्यको कुरा हुने बताउनुभयो ।
सरकारी निकायमा कुनै पनि नागरिकले सूचना मागेको खण्डमा नागरिकको सूचना पाउने हकमा कठोर नबन्न समेत उहाँले आग्रह गर्नुभयो । लोकतन्त्रमा जनताको नासोलाई सूचना प्रदान गर्ने काममा निष्ठापूर्वक लाग्ने कर्मचारीले नै जनतालाई आवश्यक परेको सूचना दिन सक्ने उहाँले प्रष्ट पार्नुभयो ।
आगामि दिनमा रुकुम जिल्ला सूचना लिने र दिने जिल्लाको रुपमा परिवर्तित भई सुशासन र पार्दशिता तर्फ उन्मुख हुनेमा आफू विश्वस्त रहको बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त बाँस्कोटाले आजैको दिनदेखि प्रत्येक कर्मचारीले नागरिकको मन जित्ने काम गर्दै एक असल नमुना कर्मचारी बन्नुपर्नेमा प्रेरित गर्नुभयो ।
पद भन्दा पनि क्षमता र गुणलाई विशेष रुपमा आत्मासाथ गरी प्रत्येक कर्मचारीले संधै जनताको हितमा कर्तव्यनिष्ठ भएर लाग्न समेत अनुरोध गर्नुभयो । यसैबिच उक्त कार्यक्रममा रुकुमका २४ ओटा सरकारी कार्यालयका प्रमुखहरुको उपस्थितिमा सूचनाको हक सम्बन्धी ऐनलाई कार्यान्वयन गर्न हस्ताक्षर सहितको लिखित प्रतिबद्धता समेत जाहेर भएको छ । सो लिखित प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी बंशी कुमार आचार्य र स्थानिय विकास अधिकारी भरत कुमार शर्माले राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटालाई हस्तान्तरण गर्नुभएको छ ।
जिल्ला विकास समिति रुकुम र वासको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रुकुम र राष्ट्रिय सूचना आयोग नेपालको समन्वयमा सूचनाको हक सम्बन्धी अनुशिक्षण गोष्ठी कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमको संचालन बासका कार्यकारी प्रमुख नमस्कार शाहले गर्नुभएको थियो ।













प्रतिक्रिया