नेपालको इतिहासमा विदेशीहरुको दबाब र निर्देशनमा नेपालकै पार्टी भित्रैकै गद्दार नेताहरुबाट यसरी कहिले पनि नेपालको राष्ट्रियता संकटग्रस्त हुन पुगेको थिएन ।
नेपालकै कपुतहरुबाटै नेपालका प्राकृतिक तथा सांस्कृतिक पहिचानहरु विस्थापित गरेर सार्वभौमसत्ता माथि नैं आक्रमक गराउने कुकर्महरु भएका थिएनन् ।
तर २०६३ सालपछि भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’को सक्रियता र लगानीमा नेपाल बिरुद्ध अनेकौं कुत्सित चलखेल प्रारम्भ गरिए । यसको प्रारम्भ २०६२ साल मंसिर ७ गते दिल्लीमा कांग्रेस, एमाले, माओवादीका गद्दार नेताहरुले १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका बेलादेखि भएको हो ।
शुरुमा कांग्रेस(आई) र ‘रअ’ मात्र सरिक थियो । तर पछि कांग्रेस (आई) को सक्रियतामा यूरोपका इसाई राष्ट्रहरु र अमेरिकी गुप्तचर सीआए पनि १२ बुँदेभित्र लुकेका बुँदाहरु धर्मनिरपेक्ष, गणतन्त्र र जातीय संघीयताको अवधारणा संलग्न रहन पुगे ।
विश्वको एक मात्र हिन्दु अधिराज्य र नेपाल र नेपालीहरुको अभिभावको रुपमा स्थापित हिन्दु राजसंस्था हटाउन सकिने खतरनाक खेल थाहा पाएपछि पश्चिमा देशहरु पनि नेपालको बिरुद्ध खनिएका थिए ।
यसरी विदेशीहरुको पारामा आफ्रनो जन्मभूमि माथि नैं आक्रमक भएर कांग्रेस, एमाले, माओवादीकाहरु लागेका हुन् । नेपाल जस्तो शान्तिपूर्ण देशलाई वरवाद गर्न खोज्ने यस्ता देशद्रोहीहरुलाई जेलमा राखेर उनीहरुले देशभित्र ब्रम्हलुट मच्चाएको देशको सम्पत्ति सर्वश्व सहित राष्ट्रिय करण गर्न नसकिञ्जेलसम्म नेपालको अस्त्त्वि बाँच्न सक्तैन ।
२०६३ सालदेखि अहिलेसम्म यिनीहरुले जति नैं अपराध गरेता पनि कुनै महसुस गरेका छैनन् । २०७२ साल असो ३ गते संविधानसभाबाट ह्वीप् लगाएर कांग्रेस र एमालेको संयुक्त सरकारले माओवादी समेतको समर्थनमा संविधान घोषणा गरिएपछि चौतर्फी असंतोष बढेको छ ।
संविधान घोषणापछि माओवादीको समर्थनमा एमालेका खड्ग ओली प्रधानमंत्री भए । उनले राष्ट्रियताको पक्षमा ठूल्ठूला कुरा गर्दै आएता पनि ७ महिनापछि माओवादीले सरकार छाड्ने धम्की दिएपछि माओवादीका प्रचण्डले आतंकवादको सेरोफेरोमा प्रधानमंत्री ओलीलाई फसाए ।
भागवण्डाको राजनीतिमा माओवादीले गरेका हत्या, अपहरण, आगजनी, बैंक लुटेको, डकैती, विकासका पूर्वाधार ध्वस्त बनाएका अनेकौं अपराधहरुको समर्थन गर्दै देश अशान्त क्षेत्रमा परिणत गर्न खोजिएको छ ।
त्यसैले २०६३ सालपछि कांग्रेस, एमाले, माओवादी जो जो सत्तामा रहेर विदेशीले चाहे अनुसार देश डुबाउन खोजे त्यस्ता देशद्रोही भरियाहरुलाई राज्यले कारवाही गरर देखाउ सक्नुपर्छ ।
त्यसो भएपछि मात्र विदेशीहरु पनि यो हिन्दु तथा बौद्ध स्थलमा कब्जा जमाउन नसकिने रहेछ भन्ठानेर फेरि कहिले पनि यो भूमि माथि गिद्दे नजर लगाउने छैनन् र यो पूण्यभूमिमा यस्ता गद्दारहरुको जन्म पनि कहिले हुने छैन ।
यसरी कारवाही गर्दा सर्वप्रथम २०६२ मंसिरमा १२ बुँदे सहमतिमा हस्ताक्षर गर्नेहरु र समर्थकहरु कम्तीमा १० जनादेखि १५ जनासम्म त्यस्ता देशद्रोहीहरुलाई जेलमा राखेर राज्यले कारवाही गर्नुपर्छ ।
दुई ठूला राष्ट्रहरुको च्यापोमा परेको यो सानो देश र यहाँका विविध संस्कृति र परप्परामा आवद्ध नेपालीहरुलाई राष्ट्रियताको डोरीले कस्नसक्ने स्रोतहरु विस्थापित गर्न खोजेकै बेलादेखि नेपाल खतरनाक मोडमा पुगेकोछ ।
नेपाल सानो भएता पनि अनेकौं जाति र विविध संस्कतिले गर्दा यो एउटा सानो संसार जस्तो छ । नेपाल दुई ठूला देशहरुको वीचमा रहेकाले हामी नेपालीहरुले हिडदा र व्यवहार गर्दा सँधै होसियार हुुनुपर्दछ भन्ने कुरालाई बुझ पचाएर नेपालका २०६३ सालपछिका सत्तासीनहरुले बुझ्न नैं चाहेनन् ।
वास्तवमा नेपालको राष्ट्रियताको आधार पृथ्वीनारायण शाहले मार्गदर्शन गरेको बाटो नैं हो । तर राष्ट्र् निर्माताले देखाएको बाटोलाई अपनाइएन र २०६३ पछि सत्तासीनहरुले सुदृढ राष्ट्रियता कायम गर्ने कुरा सुन्न नैं चाहेनन् र बरु राष्ट्रियतालाई कमजोर बनाउन सक्रिय भए ।
नेपाल अधिराज्यको यस्तो बनोट छ कि हिमाली क्षेत्र, पहाडी र तराई क्षेत्रमा विभिन्न जाति जनजातिहरुको बसोबासोमा जसरी बिभिन्नता छ त्यसरीनैं नेपालको पूर्वदेखि पश्चिमसम्मको माटोको अवस्था यस्तोछ कि यहाँ अनेकौं किसिमको हावापानी भएकाले विभिन्न प्रकारका खाध्य पदार्थहरुको उत्पादन हुनेगर्दछ । यहाँको हावापानी यस्तो छ कि बाहै्र महिना काम गर्न सकिन्छ ।
संसारका अनेकौं देशहरुमा जे जति उत्पादन हुन्छ थोरबहूत यो भूभागमा उत्पादन हुने गर्दछ । कैयौं नदी र सयौं खोला र झरनाहरुले गर्दा यसभूभागलाई प्रकृतिको देनको रुपमा लिइन्छ तर यो पूण्यभूमिलाई हामीले चिन्ह सकेनौं । अहिले दशभक्त नेपालीहरु सबैलाई चिन्ता छ कि यो सुन्दर, शान्त र नेपाललाई कसरी एकताको सुत्रमा आवद्ध गरेर बचाएर राख्न सकिन्छ ?
२०४७ सालको संविधानले राम्ररी काम गर्दागर्दै त्यस संविधानमा संशोधन र सुधारको कुरा नगरी एकैचोटी संविधानसभाबाट संविधान बनाउने बहुलठ्ठी कुरामा लागेर धारामा पानी छँदाछदै कांग्रेस, एमाले, माओवादीहरुले कुवा खने ।
नेपाल र नेपाली जनताको चहाना अनुसार कुनै काम गरिएन । नेपाललाई जोगाउन नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई समन्वय र संतुलनकासाथ अगाडि बढाउने नेपालीहरुको सुझबुझ रहिरह्यो भने नेपाललाई वाह्यशक्ति केन्द्रहरुको यसक्षेत्रमा चलखेल रहिरहन सक्तैन नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई एकैसाथ हिडाउन सक्ने आवश्यकताको बोध हामी सबै नेपालीहरुमा हुनुपर्छ । देशभन्दा ठूलो गणतन्त्र होइन ।
अव बीना पूर्वाग्रह राजा र जनताको संयुक्त प्रयासमा देशभित्रका ब्याप्त भ्रष्टाचार र विदेशी हस्तक्षेपबाट मुक्त भएर यो पूण्यभूमिलाई बचाउन हामी सबै सक्रिय हुनुपर्छ । नेपालको हिन्दु अधिराज्य र राजसंस्था नेपालको सार्वभौमसत्ता र सुरक्षा अवधारणासँग संवन्धीत छ ।
त्यसैले नेपालको राजसंस्था र विश्वको एक मात्र हिन्दु अधिराज्य सम्मानपूर्वक निरन्तरता दिएर नेपालको राष्ट्रियता र संसदीय प्रजातन्त्रको सुदृढीकरण गरेर नेपाललाई स्थिर बनाउन हामी सबै सशक्त बन्नुपर्छ ।















प्रतिक्रिया