१९ कार्तिक २०८३, बिहिबार

एकै दिन दुई वटा सहकारीमा चोरी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– झलक पाली

डोटी, १३ असोज । डोटीको लक्ष्मीनगर गाउँ विकास समिति वडा नं. २ सिलङ्गीबागमा अवस्थित दुई वटा सहकारी सँस्थाहरुमा गए राति एकैसाथ चोरी भएको छ ।

कारोबारका हिसाबले जिल्लाकै पहिलो स्थानमा पर्ने लक्ष्मी सरस्वती बहुउद्धेश्यीय सहकारी सँस्था लिमिटेड र पिनाकेश्वर महिला बचत तथा ऋण सहकारी सँस्था लिमिटेडमा तोडफोड सहित चोरी भएको हो ।

राती करिब ११ बजेदेखि ४ बजेको बिचमा चोरी भएको हुनसक्ने लक्ष्मी सरस्वती बहुउद्धेश्यीय सहकारी सँस्थाका व्यवस्थापक ठक्कर कठायतले जानकारी दिए ।

बिहान करिब साढे ४ बजेको समयमा स्थानीय बासिन्दाले मेन गेटमा ताला काटेको र बत्ति बन्द गरेको देखेपछि घटनाबारे जानकारी प्राप्त भएको हो ।

कठायतका अनुसार लक्ष्मी सरस्वती बहुउद्धेश्यीय सहकारी सँस्थाबाट ८३ हजारको डेल ब्राण्डको ल्यापटप र सरस्वतीनगर गाविसको वडा नं. ६ देखि ९ सम्मका सहकारी ऋण सम्बन्धी फाईलहरु चोरी भएको उनले बताए । सहकारी सँस्थामा रहेको नगद ९ लाख ५७ हजार रकम भने लक तोड्ने प्रयास गरे पनि चोरी गर्नबाट बचेको उनले बताए ।

त्यस्तै पिनाकेश्वर महिला बचत तथा ऋण सहकारी सँस्थाको दराज तोडफोड गरि नगद २ हजार ५ सय रकम चोरी भएको उक्त सँस्थाका व्यवस्थापक ईन्द्रा महताले जानकारी दिईन् ।

वि.सं. २०६४ सालमा स्थापित लक्ष्मी सरस्वती बहुउद्धेश्यीय सहकारी सँस्था जिल्लामै सबैभन्दा बढि कारोबार गर्ने सहकारी हो ।

त्यस्तै वि.सं.२०६७ मा स्थापित पिनाकेश्वर महिला बचत तथा ऋण सहकारी सँस्था पनि ग्रामीण महिलाहरुको सक्रियतामा छोटो समयमै फड्को मारिरहेको सँस्था हो ।

सहकारी सँस्थाहरुमा तोडफोड गरी चोरी भएको विषयमा जोरायल प्रहरीचौकी ईन्चार्ज सई बिरन्द्र कार्कीको नेतृत्वमा मुचुल्का तयारी गरिसकेको र आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक उद्धवदेव भट्टले जानकारी दिए ।