१९ कार्तिक २०८३, बिहिबार

कालिकोटमा पत्रकार शाही र रावलमाथि प्रहरीको आक्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pabitra-shahi

कालिकोट, १० असोज । कालिकोटका पत्रकारद्वय पवित्रकुमार शाही र रमेश रावल प्रहरीबाट कुटिएका छन् ।

आइतबार राति ८ वजे मान्म—५ को एक घरमा आगलागी भएको बेला रिपोर्टिङ सकेर फर्किएका पत्रकारद्वय शाही र रावलमाथि प्रहरीले अनायशै आक्रमण गरेको हो । प्रत्यक्षदर्शी स्थानीय कृष्णकला शाहीका अनुसार, आगलागी भएको घरबाट करिब १ सय मिटरको दूरीमा रहेको हाम्रो कर्णाली खबर दैनिकको कार्यालयमै प्रहरी गएर आक्रमण गरेको हो । एकजना हवल्दारले पत्रकार पवित्रकुमार शाहीलाई छातीमा हानेर लगाएको सर्ट च्यातेका थिए भने अर्का पत्रकार रावललाई कोठा भित्रबाटै झिकी कुटपिट गरेर ज्याकेट च्यातिदिएका छन् । पत्रकारद्वय शाही र रावलले बिगत लामो समयदेखि जिल्लामा प्रहरी लगायतका सरकारी तथा विभिन्न निकायबाट भएका बेथितिका विषयमा समाचार लेख्दै आएका थिए । उनीहरुले केही दिन अघि महिला तथा बालवालिका कार्यालयमा दिनदाहडै महिला विकास अधिकृत लगायतका कर्मचारीले मदिरा सेवन गरेको समाचार बाहिर ल्याएका थिए । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी भत्ता समेत वितरण नगरेको समाचार आफू कार्यरत मिडियामा प्रकाशन गरेका थिए ।

कालिकोटका प्रहरी प्रमुख डिएसपी योगेन्द्रकुमार खड्काले भने राति झगडा गरेको सूचना आएको आधारमा पक्राउ गरिएको बताए । दुई जना पत्रकारबाहेक अन्य कोही नभएका कारण झगडाको प्रमाण नभेटिएकाले पक्राउ गरेका पत्रकारलाई प्रहरीले छोडेको थियो । कुनै पनि कमजोरी नभेटाएपछि प्रेस चौतारी नेपाल कालिकोटका उपाध्यक्ष नन्दकेश अधिकारीको रोहबरमा उनीहरुलाई छाडिएको थियो ।

शाही प्रेस चौतारी कालिकोटका अध्यक्ष, नेपाल पत्रकार महासंघ कालिकोटका उपाध्यक्ष एवं नागरिक दैनिकका संवाददाता हुन । त्यस्तै अर्का पत्रकार रावल कारोबार दैनिकका संवाददाता तथा स्थानीय हाम्रो कर्णाली खबर दैनिकमा कार्यरत छन् ।

कालिकोटमा भर्खरै आएका डिएसपी योगेन्द्र खड्काले पत्रकारको पुर्णरुपमा सुरक्षा दिन्छु भन्ने प्रतिबद्धता गरेपनि पत्रकारलाई नै बिनाकारण प्रहरी लगाएर आक्रमण गर्नुले उनको प्रतिबद्धताको खिल्ली उँडेको महासंघका अध्यक्ष कालीबहादुर मल्लले बताए ।