काठमाडौं, १० असोज । नयाँ शक्ति पार्टी, नेपालका आर्थिक व्यवस्थापन तथा सुशासन विभागका संयोजक रामेश्वर खनालले विकास र समृद्धिका लागि स्रोत साधन मात्र सबै कुरा नभएको बरु सुशासन, सदाचार र कार्यदक्षता अनिवार्य रहेको बताउनुभएको छ ।
नयाँ शक्ति पार्टी, नेपालका केन्द्रीय कार्यकारी समिति सदस्यहरुलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा ‘विकास र समृद्धिको योजना’ विषयमा प्रशिक्षण दिँदै उहाँले भन्नुभयो – ‘विश्वका कतिपय देशहरुले विकास गर्न सक्ने पृष्ठभूमि र प्रशस्त स्रोत–साधन हुँदाहुँदै पनि विकास गर्न सकेका छैनन् भने कतिपय त्यस्ता देशहरु पनि छन् जोसँग कुनै स्रोत–साधन नहुँदा पनि विकासको चुचुरोमा पुगेका छन् ।’ जापानसँग विकासका लागि चाहिने कुनै प्राकृतिक स्रोत नहुँदा पनि विकसित भएको तर, नेपाल जहाँ प्रशस्त स्रोत साधन हुँदाहुँदै पनि गरीबको गरीब भएको उदाहरण दिँदै उहाँले प्रश्न गर्नुभयो – ‘जापानले उत्पादनका लागि चाहिने ९० प्रतिशतसम्म कच्चापदार्थ अन्य देशबाट आपूर्ति गर्छ तर पनि उसले विकास गरेको छ । तर, खै नेपालमा विकासका लागि कानून, योजना सबै कुरा हुँदाहुँदै पनि किन विकास भएन ?’
विकास र समृद्धिका लागि स्रोत–साधनले मात्र नहुने बरु त्यसका लागि सरकार र सार्वजनिक संस्थानहरु बलियो हुनुपर्ने र सुशासन÷सदाचार पूर्वशर्त रहेको उहाँले बताउनुभयो । नेपालको विकास कृषिले मात्रै सम्भव नहुने भएकोले औद्योगिकीकरण आवश्यक रहेको उहाँले बताउनुभयो । औद्योगिकीकरणको लागि आवश्यक ऊर्जा र जनशक्तिको सम्भावना प्रशस्त भएकोले त्यसैको उपयोग गरेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने उहाँको भनाइ थियो । देशको दीगो विकासका लागि अर्थतन्त्रमा विविधीकरण गर्नुपर्ने उहाँले बताउनुभयो । ‘उत्पादनलाई विविधीकरण गर्न सकिएन भने हामीले अवलम्बन गरेको उत्पादनको कुनै एउटा क्षेत्रमा मन्दी आउदा अर्थतन्त्र नै संकटमा पर्नसक्छ’, उहाँले भन्नुभयो – ‘त्यसैले दीगो र समृद्धशाली विकासका लागि हरेक घरपरिवारस“गै राष्ट्रले पनि उत्पादनलाई विविधिकरण गर्न जरुरी हुन्छ ।’ बोलेर र लेखेर मात्रै विकास सम्भव नभएकोले बोलेको कुरा व्यवहारमा लागू गर्नुपर्ने र व्यवहारमा लागू गर्न सकिने कुरा मात्रै योजनामा ल्याउनुपर्ने खनालले बताउनुभयो ।
कार्यक्रममा संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले पार्टीको संगठनात्मक सिद्धान्त, विधान र आचारसंहिता विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो । उहाँले सबै अभियन्ताहरु संगठन निर्माणका लागि आ–आफ्नो कार्यक्षेत्र केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कृषि, वन तथा भूमि मामिला विभाग प्रमुख मदन राईले नयाँ शक्तिका अभियन्ताहरुको जीवनशैली र कार्यशैली पनि नयाँ हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । प्रदेश नं. ३ का संयोजक गंगानारायण श्रेष्ठले पार्टी निर्माणका लागि जनपरिचालनको आवश्यकता, महत्व र कौशलमाथि प्रकाश पार्दै अबको युग निर्माणको भएकोले अब ध्वंशको लागि होइन निर्माणका लागि नयाँ शक्ति बनाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि विभाग संयोजक डा. राजेन्द्र केसीले पार्टीको आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो । डा. केशवमान शाक्यले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेतृ कल्पना धमलालगायतका नेताहरुले बोल्दै संगठन निर्माणमा जोड दिनुभएको थियो । प्रशिक्षण कार्यक्रम १२ गतेसम्म चल्नेछ ।













प्रतिक्रिया