काठमाडौं, ९ असोज । युवासंघ नेपाल केन्द्रिय प्रचार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ ।
युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्रलामाको प्रमुख आतिथ्यतामा भएको सो बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।
उक्त बैठकले बाबु छतपुलीको संयोजकत्वमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भेला गर्ने निर्णय गर्नुका साथै प्रत्येक आइतबार मुलुकको समसामयिक राजनीति, युवा आन्दोलन, सरोकार र चासोका विषयमा युवा सम्वाद कार्यक्रम चलाउने निर्णय गरेको छ ।
युवा संघ नेपाल प्रचार तथा प्रकाशन विभागको सो बैठकले युवा संघमा आबद्ध युवाहरुलाई आधारभूत पत्रकारिता तालिम दिने निर्णय गरेको छ । युवा संघ नेपालको नियमित प्रकाशन ‘युवा आवाज’को प्रकाशन पनि गर्ने निर्णय गरेको छ ।
बैठकमा संघका उपाध्यक्ष चन्द्र लामाले युवा संघ नेपाल राष्ट्रिय स्वाधिनताको पहरेदाररहेको र वर्तमान सरकारले हिन्दी भाषालाई कामकाजको भाषा बनाउने संशोधन प्रस्ताव ल्याएमा हिन्दी सिनेमा बहिष्कार अभियान सञ्चालन गर्ने उद्घोष गरे ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख तथ युवा संघ नेपालका स्थायी कमिटी सदस्य प्रभात विक्रम कटुवालको अध्यक्षतामा बसेको सो बैठकले शुभविजया दशमी, दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।
‘हामी तराई मधेशमा प्रचारको माध्यमबाट अन्धविश्वास हटाउँदै जनचेतना जगाउने सामाजिक सञ्जालमा अभियान सञ्चालन गर्दछौं,’ प्रचार विभाग प्रमुख प्रभात विक्रम कटुवाल भने ।












प्रतिक्रिया