सोल । दक्षिण कोरियाले पछिल्लो समय ईपीएस मार्फत नेपाली कामदारहरुको मागलाई वृद्धि गरेसंगै सरदर ४० हजार नेपालीहरु विभिन्न पेशामा कार्यरत रहेको प्रारम्भिक आकाँडा रहेको पाईन्छ । यहाँको व्यस्त दैनिकी संगैको थकान र साथीभाई, आफन्त एक अर्कालाई भेटघाट गरि सुखदुःख एक आपसमा साटासाट गर्नका लागि हरेक वर्ष मनाईने कोरियाली महान पर्व छुसक र सलनाललाई पर्खिनु बाहेक अरु कुनै विकल्प छैनन यहाँ ।यसपालिको कोरियाली महान पर्व छुसक भने नेपाल तामाङ संघ दक्षिण कोरियाले आयोजना गरेको “को म्हेन्दो डाङ” नेपथ्य लाईभ कन्सर्ट २०१६ अरु वर्षमा मनाईने छुसक भन्दा एक एतिहासिक र पृथक रुपमा बिते दक्षिण कोरियाका नेपालीहरुको लागि । यसमा जोडिएको ३ मुख्य विषयवस्तु भन्नू नै अत्याधुनिक अन्तर्राष्ट्रिय केबिएस कन्सर्ट हलमा नेपालीहरुको लागि कोरियाको ईतिहासमा अहिले सम्मकै ठूलो धनराशि अर्थात करिब नेपाली एक करोड रुपैयाँ लगानीमा आयोजकले नेपालको चर्चित सांगीतिक समुह नेपथ्य ब्यान्डलाई पस्काउने जुन तयारी र अदम्य साहस गरे त्यो भन्दा पनि महत्वपूर्ण पक्ष विश्वमा छरिएर रहेका आम नेपालीजनसमुदायको ध्यानाकर्षण गर्न त्यति नै सफल भए।
राजधानी सोलको पश्चिम् तर्फ रहेको बालसन स्थित अन्तर्राष्ट्रिय केबिएस एरिना हल नेपालीहरुको शहर भनेर चिनिने तुङ्देमुनबाट करिब सत्र किलोमीटरको दुरिमा रहेको छ।सेप्टेम्बर पन्ध्रमा मा “को म्हेन्दो डाङ(पवित्र फुलको कोसेली )” नेपथ्य लाईभ कन्सर्ट हुने कुराको जुन तयारी गर्दै थिए त्यति नै मात्रामा आम कोरियावासी नेपाली संगीतप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरु पनि व्यग्र प्रतिक्षारत थिए नेपथ्य कन्सर्टमा आमुनेसमुने झुम्न , नाच्न र हलको अवलोकन गर्न । नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङको लाइभ प्रस्तुति हेर्ने सौभाग्य कमै मात्रामा मिल्छ्न भन्ने उदाहरण सेप्टेम्बर पन्ध्रको कन्सर्टमा सहभागी दर्शकहरुले खचाखच भरिएको केबिएस एरिना हल र त्यतिकै मात्रामा हल बाहिर उपस्थित रहेका संगीतप्रेमी दाजुभाइ तथा दिदिबहिनीहरुको अत्यधिक चापले प्रष्ट देखिन्थ्यो ।यहाँ सम्मकि हल देखि बालसन स्टेसनसम्म करिब पाँच सय यार्ड सम्म दर्शकहरुको घुँईचोले आयोजकलाई हम्मेहम्मे त पार्यो नै ।सबैभन्दा गम्भीर विषयवस्तु भनेको हल व्यवस्थापन पक्ष र सोल प्रशासनिक पक्षको ध्यानाकर्षण गराए उक्त दिनको कन्सर्टले । अपेक्षित भन्दा बडी दर्शको ओइरोको कारण कुनै अप्रिय घटना हुन सक्ने अड्कल भनौं या संकेत हल व्यवस्थापन पक्षबाट अयोजकलाई निर्देशित गरिसकेका थिए ।र अन्ततोगत्वा हलले प्रहरी प्रशासनसमक्ष सहयोग माग्नु पर्ने अवस्था समेत सिर्जना भई सकेको थियो । आयोजकले व्यवस्था गरिएको बोन्सर ,हल प्रशासन र प्रहरी प्रशासनबिचमा एक किसिमको खैलाबैला नै चल्यो ।आखिर नेपाली कन्सर्टमा यी अप्रत्याशित दर्शकहरुको ओइराउनुका पछाडि नेपथ्य ब्यान्ड र गायक अमृत गुरुङ को हुन ? भन्ने बारेमा ऊनीहरु बिचमा टिकाटिप्णी र भलाकुसारीले मेरा मनमा एक किसिमको तरङ्ग नै उब्जाए । केबिएस एरिना हलभित्रको दर्शकको घुँईचो र हल बाहिर देखिएका दर्शकको अत्यधिक चाप हेर्दा यस्तो लाग्थ्यो कि कुनै सेमिनार या ठुला राजनेताहरुको भाषण सुन्न लालायित छ्न यी जमातहरु ।
वास्तवमा नेपथ्य ब्यान्डले करिब दुई दशक भन्दा लामो सांगीतिक यात्रा पार गरि सकेको यो अवस्थामा यिनका गीत संगीतलाई माया नगर्ने सायदै होलान् । साँच्चिकै नेपालीपन झल्काउने खालको गीत संगीत प्रस्तुति गर्न सक्नु र अर्को बडो महत्वपूर्ण पक्ष भनेको ठेट लोक भाकालाई नेपाली र पाश्चात्य संगीतको मिश्रण गरि नेपाली लोक रकमा अभिव्यक्त गर्न सक्नु सबैभन्दा सुरन्दर पक्ष नेपथ्यको । झन्डै डेढ दर्जन भन्दा बढी आफ्नो चर्चित गीतहरु सुनाउने क्रममा बिचबिचमा ब्यान्डका प्रमुख गायक अमृत गुरुङले हजारौं संख्यामा रहेका दर्शकको भिडलाई आफ्नो देशप्रेमको माया , भाषा, संस्कृति झल्किने खालका अभिव्यक्तिले त्यो हल भित्रको माहोल साच्चिकै मातृभुमी नेपाल नै हो कि भन्ने एक खालको भान सबैमा देखिन्थ्यो ।कोरियाको सीप र श्रमले जसरी नेपालीहरुलाई सबल बनाएका छन त्यसै गरि यी सीपहरु छिटोभन्दा छिटो आफ्नो मातृभुमीमा प्रयोगमा ल्याउनु पर्ने र देशको विकासमा यिनै युवाहरूले नै नेतृत्व लिनु पर्ने जस्ता सन्देशले हजारौं दर्शकलाई मन्त्रमुग्द र मौनता पनि पारेका थिए ।नेपथ्यको हरेक गितका भावहरुले के गाउँ , के शहर सबैको प्रतिनिधित्वको अभिव्यक्ति दिई रह्न्थे।उपस्थित आम संगीत प्रेमी दर्शकहरुको भिडभाडलाई देख्दा यस्तो आभास हुन्थ्योकि कुनै मदिराको प्यालामा लठिएर झुमीरहेको हो या गीत संगीतले चरमोत्कर्ष शिखर चुमीसकेको हो यी कुराहरुको अड्कल गर्न बडो गाह्रो देखिन्थ्यो ।अझ नेपथ्यका गीत संगीतको प्रस्तुति कुनै एउटा ज्वारभाट उल्टिएर आएको स्वरुप भन्दा कम देखिन्थ्यो । गीत संगै एलईढी स्क्रिनमा देखाईएका पुराना पुराना फोटोहरु, बूढा बा बुढी आमाको तस्वीरहरुले घरको बुढी आमा र बुढा बालाई सम्झिन सबै दर्शकलाई ध्यान केन्द्रित गर्थे ।
भनिन्छ “Silence is the greatest music ever “
” मौन पछि कुनै चिज महानतम छ भने त्यो संगीत हो ।” गायक अमृत गुरुङको मुखारवृन्दबाट प्रस्फुटन भएका शब्दहरुले यहि कुराहरूलाई निर्देशित गरिरहेका हुन्थे ।
आखिर नेपाली गीत संगीतमा थुप्रै महान् हस्तीहरु नजन्मिएका पनि होईनन ।तर नगण्य रुपमा मात्रै छ्न जसले नेपाली गीत संगीतको दयारालाई विश्व ईतिहासमा फराकिलो पार्न सफल भएका छ्न । भनिन्छ नेपाली समाजको परम्परामा हरेक समुदायमा पुष्प गुच्छा यानिकी फुलको महत्व र स्थान बेग्लै हुने गर्द्छ्न ।को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्टले जति आफ्नो प्रभुत्व जमाउन सफल भए त्यो दिन ,त्यति नै मात्र नेपथ्य कन्सर्टको शिर्षक संग जोडिएको “को म्हेन्दो डाङ” (पवित्र फुलको -कोसेली ) ले नेपाली समुदायहरुमा अझ भनौं विषेश गरि तामाङ समुदायमा अत्यन्तै महत्वपूर्ण मानिने उक्त फुलले उति नै महत्वको चरितार्थ यसले गरेको छ चाहे धार्मिक , सांस्कृतिक र सामाजिक हरेक क्षेत्रमा यसको आफ्नै अस्तित्व रहेको छ।
औद्योगिक क्रान्तिको फड्को पार गरि सकेको दक्षिण कोरिया विश्वका जति पनि विकासित र औद्योगिक राष्ट्रहरु जो विकासको द्रुत गतिमा लम्किरहेका छ्न आज उसंग रहेको भौतिक विकासका मापदण्डहरुसंग साझेदारी गर्ने क्षमता हामी संग नहोला तर नेपाली गीत संगीतलाई पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधि जडान हलमा उतार्न सक्नु वा प्लेट्फर्म तयार पार्न सक्नुमा आज हरेक नेपालीले चाहे त्यो राजनितिकर्मी , सामाजिक अभियान्ता ,संगीतकर्मी बुद्धिजीवी ,पत्रकार , विद्यार्थी , खेलाडी जो भएतापनि हरेक नेपालीको छाती गर्वले प्रफुल्लित भएको हुनुपर्छ । गीत संगीत एउटा अदभूत शक्ति हो र यहि शक्तिको माध्यमले नै प्रवासी भुमिमा नेपालीहरु बिचको एकताको सन्देश अन्तर्राष्ट्रिय समुदायसम्म बुलन्द आवाज उदघोष गर्न सफल भएका छौं हामी ।यस अर्थमाकि हामी नेपालीहरु कोरियाको सांगीतिक क्षेत्रमा ईतिहास रच्न सफल भएका छौं र ” को म्हेन्दो डाङ( पवित्र फुलको कोसेली ) नेपथ्य लाईभ सांगीतिक कार्यक्रम २०१६ ले एउटा महानतम र नविनतम शृंखलाको कोसेढुङ्गा सावित अभिलेख स्थापित गर्न सफल भएको छ ।
(लेखक नेपाल तामाङ संघ एवं लमजुङ परिवार दक्षिण कोरियाका महासचिव तथा वेभ टिभीका सक्रिय सदस्य हुन् ।)
















प्रतिक्रिया