३० आश्विन २०८३, शुक्रबार

आफ्नै विहेको खबर नभएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lucky11विहानको आठ बज्छ । प्राप्ती (शिक्षा) को विवाह र जन्मदिनका लागि निम्ता पाएकाहरु क्रमशः लक्की चार्म निवासमा आउन सुरु गर्छन् । पाहुनाहरुलाई चियाखाजाले सत्कार गर्ने काम सन्देशको बहिनी रितिकाले गरिरहेकी थिइन् । उनी दाजुको आजै हुन लागि रहेको विहे र हुनेवाला भाउजुकै आजै परेको जन्मदिन मनाउन खबर पाउना साथ बिहानको पहिलो फ्लाईटबाट काठमाडौं आएकी थिइन् ।

काठमाडौंमा भएका सन्देश र शिक्षाका इष्टमित्रहरु पनि आईसकेका थिएँ । शिक्षाको साथी आस्था, सिर्जनाहरु पनि विवाहमा सघाउने भन्दै विहानै आईसकेका थिएँ । सबैको भागमा कुनै न कुनै काम परेको थियो ।

टेन्ट बिहानै टाँगिएको थियो । खाना पकाउनेहरुले आफ्नो काम गरिरहेका थिएँ । शिक्षालाई दुलहीकोरुपमा ऋङ्गार्नका लागि व्यूटीपार्लरबाट व्यूटिशियनहरु बोलाईएको थियो । शिक्षा दुलहीको भेषमा सजिदै थिइन् । दुलहीको कोठामा महिलाहरुको बाक्लो उपस्थिति थियो । महिलाहरु मात्र कोठामा भएकाले अनेक प्रकारका शव्दहरु एकपछि अर्को निस्कि रहेको थियो । कतिले शिक्षालाई जिस्काई रहेका थिएँ ।

‘आज राती त, शिक्षाले तोरी फूलेको देख्ने भइन् !’, विवाहको निम्ता पाएपछि आएकी जानकी दिदी ठट्यौली शैलीमा प्रस्तुत भएपछि शिक्षा लाजले भुतुक्क हुन्छिन् । उनको मुहार लाजको घुम्टोले ढाकिएको थियो । जानकी दिदीको कुरा सुनेपछि त्यहाँ भएका सबैजना हाँसोमा उड्छन् ।

‘तोरी फुलेको देख्ने हो कि, यो भन्दा पहिले नै दुलाहा राजाले देखाईदी सक्नु भएको छ ? मैले सुनेकी धेरै पहिला देखि घनिष्ठ सम्बन्ध छ रे !’, मेकअप गर्दागर्दै व्यूटिशीयन बोल्छिन् । उनको कुरा सुनेर आस्थाले आफूसँग भएको जानकारी बाँट्न खोज्छिन्, ‘चिनजान त पुरानै हो । तर तोरी फुलाउने गरी खेती नै हुन पाएको थिएन ।’

‘त्यसो भए शक्ति अलि बढी खर्च हुने भयो ।’

दुलहीको कोठामा हाँसो गुञ्जीएको थियो । कुरा गर्न कोही भन्दा कोही कम थिएनन् । एकतमासले एकपछि अर्को छेडखानीको प्रहार शिक्षाले खेपी रहेकी थिईन् । खुशीको दिन भएकाले जसले जे भनेपनि उनी मुस्कुराउँथिन् ।

घर थर्कने गरी म्यूजीक बजि रहेको थियो । पञ्चेबाजा बजाउनका लागि गाजा–बाजाको टोली पनि आई पुग्छ । हजुरबुबाले बाजा बजाउनका लागि बाहिरको एक छेउँमा ठाउँ बनाई दिन्छन् ।

‘विवाहको लागि सबै तयारी भइसकेको छ । म र आशिष्मा बृद्धाश्रममा गएर सबैलाई ल्याएर आउँछौ । आउँदा वर्थडे केक पनि ल्याउँछौ’, दुलहीको ऋङ्गारमा सजिन लागेकी शिक्षालाई जानकारी गराएर प्रतिक्षा र आशिष्मा कोठाबाट बाहिर निस्कन्छन् । उनीहरु कारमा पशुपतीतर्फ लाग्छन् । बृद्धबृद्धाहरुका लागि गाडीको व्यवस्था गरिएको थियो । केही समयमै बृद्धबृद्धाहरु लक्की चार्म निवास आईपुग्छन् । प्रतिक्षा र आशिष्माले वर्थडे केक पनि ल्याएर आउँछन् ।

समय बित्नेक्रमसँगै घडीले १२ बजेको सङ्केत गर्छ । सन्देश आउनासाथ केक काट्ने अनि विवाहको कामकारबाही सुरु गर्ने चाँजोपाँजो मिलाइएको थियो ।

उता,

एयरपोर्टमा ओर्लनासाथ सन्देश हत्तारिदै पशुपती पुग्छ । त्यहाँ पुग्दा सबै बृद्धबृद्धाहरु लक्की चार्म निवासमा हुन लागि रहेको शिक्षाको विवाहको भोज खान गएका छन् भन्ने कुरा उसले थाहा पाउँछ । यो कुरा थाहा पाएपछि सन्देशले शिक्षाको विवाह अरु कसैसँग हुन लागेछ भन्ने अनुमान गर्छ । आँखाबाट अनबरत आँशु झर्न थाल्छन् । लामो सुस्केरा छाड्छ । संसार शून्यताभित्र हराएको भान उसलाई भइरहेको थियो । बृद्धाश्रमबाट बाहिर आउँछ । धुलोमा लतपत सिँढीमा ऊ बस्छ । पशुपतीको दर्शनका लागि आउने जानेहरुको संख्या अत्यधिक थियो । त्यहाँको भीडले उसको सोँचमा कुनै पनि असर गरेको थिएन । आँखा ओभएका थिएनन् । मनमा कुराहरु खेलिरहेका थिएँ, ‘शिक्षाको विवाह हुन लागि रहेको रहेछ । हाम्रै घरबाट उनको डोली उठ्दै रहेछ । बाबाआमाको सहमतिमा नै उनको विवाह हुन लागि रहेको होला ? उनलाई सधै राम्रो होस् । अहिलेसम्म उनले मेरो घर धानि दिइन् । यो पनि ठूलो कुरा हो । लक्की चार्म वास्तबमै सबैका लागि लक्की साबित भइन् । उनको नाम लक्की चार्म राखेर मैले राम्रो काम गरेको रहेछु ।’

आँखामा टलपलाएका आँशुहरुलाई सन्देशले पुच्छ । अनि मनमनै बोल्न थाल्छ, ‘आज त खुशीको दिन हो । लक्की चार्मको दिन हो । यस्तो दिनमा पनि म किन उदास छु । उनको खुशीमा रमाउनुपर्छ । सँगीतमा नाँच्नुपर्छ । साथ पाएपछि शुभ सोँच्नेहरुले सच्चा माया कहिल्यै गर्दैनन् । मेरो प्रेम निश्वार्थ छ । पाउनु र गुमाउनुको परिणामलाई जसले सहजरुपमा आत्मसात गर्न सक्दैन, उसलाई प्रेम गर्न छुट पनि छैन । म अब घर जान्छु । शिक्षालाई टाढैबाट भएपनि आर्शीवादका शव्दगुच्छाले उनको सुखद् भविष्यको कामना गर्छु । किन कि म त्यहाँ देखिए भने हुन सक्छ, उनको खुशीको दिनमा ग्रहण लाग्नेछ । मेरो कारणले उनको विवाह रोकियो भने यो भन्दा दुःखको कुरा अर्को हुनेछैन ।’

सन्देशको हातमा फूलको गुच्छा र उपहार थियो । उनको अगाडि एक युवक आउँछ । उसलाई देख्दा सहजै अनुमान लगाउन सकिन्थ्यो कि उसको दिमागी हालत त्यति ठीक छैन । सन्देशको अगाडि आएर उ बोल्न थाल्छ, ‘दाजु मलाई हजुरले ल्याएको फूलको गुच्छा र उपहार दिनुहोस् न । सबैले मलाई पागल भन्छन्, तर म पागल छैन । आज मेरी मायालुको जन्मदिन । मसँग भएको पैशा पनि हरायो । उनलाई उपहार दिनुछ । के मलाई यो फूल अनि उपहार दिन सक्नु हुन्छ ?’

सन्देशले हातमा भएको फूल र आफूसँग भएको उपहारको पोका उसलाई दिन्छ । खुशी हुँदै उक्त युवक बाटो लाग्छ । सन्देश मन्द मुस्कान छर्दै बोल्न थाल्छ, ‘मेरो लक्की चार्मका लागि ल्याईदिएको थिएँ, उसको लक्की चार्मलाई काम लागोस । प्रेममा परेर दिमागी सन्तुलन बिग्रिए जस्तो छ । उसलाई छिटै ठीक होस् । उसले आफ्नो लक्की चार्मको साथ पाओस् ।’

सन्देश पशुपती क्षेत्रबाट बाहिर निस्कन्छ । बाहिर आएपछि फूलको गुच्छा किन्छ । ट्याक्सीमा चढेर उ लक्की चार्म निवास पुग्छ । ट्याक्सी भित्रबाटै उसले आफ्नो घरतर्फ हेर्छ । विवाहको व्यापक तयारी गरिएको थियो । पञ्चेबाजा एकतमासले टाढा सुनिने गरी ‘प्याँ, प्याँ’ गर्दै बजि रहेको थियो । घर सजाएर झकिझकाउ बनाइएको थियो । बगैचाका रुख, फूल अनि घरमा झिमिक झ्याँक गर्ने बत्ती बलि रहेका थिएँ । मानिसहरुको बाक्लो उपस्थितिको चित्र सन्देशको आँखामा कोरिन्छ । मनभरि बेदना अनि छटपटिका ज्वारभाटाहरु उम्लन थाल्छन् । आँखा चिम्लन्छ, मनमा शिक्षाको मुहार मुस्कुराई रहेको थियो । उनी दुलहीको भेषमा सजिएकी थिइन् । शिक्षाको मुहार देखिएपछि उसले आँखा खोल्छ अनि गहबाट बगेको आँशुलाई पुच्दै मन्द मुस्कानसहित ऊ बोल्न थाल्छ, ‘शिक्षा ! तिमीलाई जन्मदिन अनि विवाहको शुभकामना । तिमीलाई सधै राम्रो होस । धेरै प्रगति गर्नु । दुःखका दिनहरु तिमीले कहिल्यै देख्न नपरोस् । तिमी जहाँ जान्छौ, उज्यालो भविष्यको रेखा कोरिनेछ । म अब तिम्रो जीवनमा कहिल्यै देखा पर्नेछैन । तिमीलाई धेरैधेरै शुभकामना !’

उता,

सन्देशको मूर्ती अगाडि बसिरहेको सोहन (कुकुर)ले हावाको बेगबाट थाहा पाउँछ कि बाहिर सन्देश आएका छन् भन्ने कुरा । सोहन बरन्डामा आएर बाहिर हेर्छ । सन्देशले हातमा ल्याएको फूल गेटको अगाडि राख्न लागेको सोहनले देख्छ । यो देखेर सोहन दौडदै शिक्षाको निजक पुग्छ । अनि भुकेर शिक्षाको ध्यान भङ्ग
गराईदिन्छ । त्यसपछि शिक्षाको साडी समाएर उनलाई जबरजस्ती तान्छ । सोहनको अनौठो हर्कत देखेर सबैले उसलाई गाली गरिरहेको थिएँ ।

‘सोहनले केही भन्न खोज्दैछ । उसले मामुलाई बाहिर जान अनुरोध गर्दैछ । निश्चय नै उसले केही थाहा पाएको छ’, आशिष्माको कुरा सुनेर शिक्षा सोहनको पछि–पछि बाहिर निस्किन्छिन् । घरका अन्य सदस्यहरु पनि उनको पछि–पछि हिँड्छन् । गेटको बाहिर फूलको गुच्छा राखिएको थियो । जसमा जन्म दिन र विवाहको शुभकामना कार्ड पनि थियो ।

कार्डमा जन्मदिन अनि शुभविवाहको लागि कामना गरिएको थियो । कार्डमा नाम नलेखिएको भएपनि अक्षर सन्देशको भएकाले शिक्षाका आँखाहरु रसाउँन थाल्छन् । शिक्षाले रुन्चे स्वरमा गेटपालेसँग यस विषयमा जानकारी लिन्छिन् । गेटपालले यस बारेमा अनभिज्ञता प्रकट गर्छ । सोहन भुक्न थाल्छ ।

दुलहीको भेषमा सजिएकी शिक्षा आँखाभरि आँशु सजाएर भूइँमा थ्याँच्च बस्छिन् । अनि उनी डाँको छाडेर रुन थाल्छिन् । रुवाईसँगै आँखाबाट बगेको आँशुले मुहारको सजावटलाई लतपत पारिदिएको थियो । रुँदारुँदै उनले मनको वहहरु पोख्न सुरु गर्छिन्, ‘सन्देश सरले मेरो विवाह अरुसँगै हुन लागि रहेको छ, भन्ने सोँच्नु भएछ । त्यसैले उहाँ घरभित्रै नपसेर फर्कनु भयो । मेरो संसार उजाडियो । अब म फेरि एक्लै हुने भए । निराशा अनि कुण्ठाका बीच मेरो दिनचर्या बित्ने भयो ।’

शिक्षा जोडजोडले रोई रहेकी थिइन् । उनको व्यथित अवस्थालाई देखेर त्यहाँ भएका सबैका आँखाहरु रसाएका थिएँ । उनीहरु सबैको मन अमीलो बनेको थियो । एकप्रकारले भन्ने हो भने त्यहाँ विवाहको माहोल नभएर मलामीको अवस्था थियो । यस्तैमा सोहन भुक्न थाल्छ । ऊ भुक्दै शिक्षाको अगाडि आएर बस्छ । सोहन ‘कुइँ, कुइँ’ गर्दै केही समयपछि दुईटा खुट्टाले उभिन्छ । एकछिन् सबै शक्ति लगाएर उफ्रन्छ अनि भुक्दै सडकमा दौडन थाल्छ । सबैले सोहन दौडिएको हेरिरहन्छन् । केही समयमा सोहन सडकमा बिलाउँछ ।

(लक्की चार्म उपन्यासको एक अंश)