काठमाडौं, ६ असोज । नेकपा (माले)ले नेपाल–भारत संयुक्त विज्ञप्तिमा भारतीय रणनीति बमोजिम नेपालको संविधान संशोधनमा भारतीय मागलाई जायज ठह-याउँदै प्रधानमन्त्री दाहालले आन्तरिक मामलामा बाह्य शक्तिलाई प्रवेश गराएको भन्दै आपत्ति जनाएको छ ।
नेकपा (माले)को बिहीबार बिहान काठमाडौंमा बसेको स्थायी समिति बैठकपछि जारी विज्ञप्तिमा प्रचण्डले देशको भौगोलिक अखण्डतामाथि गम्भीर आँच पु-याउने काम गरेको जनाएको उल्लेख छ ।
‘नेपालको स्वतन्त्रता, सार्वभौभसत्ता र भौगोलिक अखण्डता अर्थात् नेपालको स्वतन्त्र अस्तित्वका सम्बन्धमा खतरा उत्पन्न गर्ने उपरोक्त सहमतिलाई असफल पार्न नेकपा (माले) दृढ प्रतीज्ञ भएर सक्रियता एवम् सम्पूर्ण शक्तिका साथ लाग्ने छ’, महसचिव सीपी मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेकपा (माले) भारतीय विस्तारवादका कार्यको विरोध गर्न सबै राजनीतिक शक्तिहरूसँग सहकार्य गर्न र त्यसलाई देशभक्त राजनीतिक गठवन्धनमा विकसित गर्न समेत सक्रियता साथ लाग्ने जनाएको छ ।
आफ्नो भूराजनैतिक विशेषताले गर्दा नेपालले असंलग्न तथा तटस्थ र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्दै आईरहेको भन्दै मैनालीले संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायका सम्बन्धमा भारतसंग समान दृष्टिकोण अपनाउने र भारतलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्यमा समर्थन गर्ने जस्तो प्रावधान नेपाललाई राष्ट्रिय हित विपरितको परराष्ट्र नीति अपनाउन तर्फ घचेट्ने दुश्प्रयास गरीएको जनाएका छन् ।











प्रतिक्रिया