३० आश्विन २०८३, शुक्रबार

विद्यालयमा बारुद बिछ्याउनेहरु बिरुद्ध…!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sargam-bhattrai-1किन कुरा बुझ्दैनौ, या सुन्दैनौ ?
हेर ! कति त्रासमा,
आश बोकेर शास धानेका छन् मान्छेहरु ?
आँशु ठोसेर आगो बाल्दैछन् जिन्दगीको,
तितो बिगत र अपांग वर्तमान घिसार्दै,
सुन्दर भोलिको पर्खाईमा रहेको बेला,
किन फेरि हिंस्रक बनेर, पुनरागमन गर्छौ ?
हुने खानेहरु छुँदैनौ, सक्दैनौ,
हुँदा खानेहरु र दिएर खानेको खुट्टै निर,
बिद्यालयलाई ‘बारुदालय’ बनाएर फेरि के माग्दैछौ ?

———————————-

जाऊ !
तिम्रा मालिकलाई सुनाईदेऊ :

हिजो परिवर्तनका लागि  बन्दुक बोक्छु भन्थ्यौ,
हो ! मैले पत्याएँ, हामीले पत्यायौँ,
अन्यायका लागि बम बोक्छु भन्थ्यौ,
मैले पत्याएँ,हामीले पत्यायौँ,
तिम्रा लागि संगीनमा बसी बारुदको खेती गरेँ,
बारुदबाट शान्ति फल्छ भन्थ्यौ !
अझै फ़लेन त खोई ?
तर तिमी त्यहि शान्तिको छाती निरै,

कल्पबृक्षलाई बिषबृक्ष बनाउने ध्याउन्नमा,
बिद्यालयलाई ‘बारुदालय’ बनाएर फेरि के माग्दैछौ ?
उफ् ! 
तिमीले कसरी सोच्न सक्यौ ?
कलिला मष्तिष्कहरुलाई ढाल बनाउन ?
जो तिमीलाई केहि भन्दैनन्, भनेनन्,
जो केहि जान्दैनन्, न तिम्रो कर्तुतका सुराकी हुन,
न तिम्रो लक्ष्यका अवरोधक नै,
हे निर्दयी मान्छे ! बुद्दलाई बदनाम गरेर,
कलिला कोपिलाका दायाँ बायाँ,
बिद्यालयलाई ‘बारुदालय’ बनाएर फेरि के माग्दैछौ?
———————————–
कृपया,
आऊ ! हाम्रा दुखहरु धितो राख,
आश र बिश्वासहरु धितो राख,
ईमानहरु धितो राख,
अभाव र त्रासहरु धितो राख,
बिन्ती छ ! हाम्रो स्वाभिमान धितो राख,
तर तिम्रा आफ्नै प्रतिबिम्ब उडाउन,
तिम्रा आफ्नै रगत लिएर ताते ताते गर्ने,
तिम्रा आफ्नै बोली बोल्ने सुगाहरु तिम्रा किल्ला होईनन्,
तिम्रा शत्रु त हुँदै होईनन्,
जानाजान् तिमी उनकै सर्जक भएर पनि,
किन लाजै नमानी हिंस्रक बनेर,
धिक्कार छ तिमीलाई,
आफ्नै सन्तानको छाती माथि पड्काउन,
बिद्यालयलाई ‘बारुदालय’ बनाएर फेरि के माग्दैछौ?
जवाफ देऊ:
बिद्यालयलाई ‘बमालय’ बनाएर फेरि के माग्दैछौ ?