काठमाडौं, ४ असोज । लडाकु शिविरको अनियमितता छानबिनबाट बच्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग कुरा मिलाएको खुलासा भएको छ ।
मंगलबार बसेको नेकपा माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउने प्रतिबद्धता व्यक्त गरेको भन्दै ब्रिफिङ गरेपछि यो कुराको खुलासा भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले आफूले कुरा गर्दा अख्तियार प्रमुख लोकमानसिंह कार्कीले गल्ती महसुस गरेको र छानबिनको प्रक्रिया अघि नबढाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी बैठकमा गराएका थिए ।
प्रचण्ड भारत भ्रमणमै रहेका बेला अख्तियारले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी लडाकु शिविरमा भएको अनियमितता छानविन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो र सम्बन्धि पदाधिकारीहरुलाई सोधपुछका लागि ३० दिनको म्याद दिएर पत्र पठाएको थियो ।
यसैकारण प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण पनि रद्ध भएको थियो ।
बैठकमा प्रचण्डले अख्तियारले एमालेको उक्साहटमा लडाकु शिविर अनियमितता छानविन प्रक्रिया अघि बढाउन खोजेको आरोप पनि लगाएका थिए ।












प्रतिक्रिया