२९ कार्तिक २०८३, आइतबार

विमलेन्द्र निधिको निर्णयविरुद्ध उत्रिए भीम रावल, गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawal

धनगढी, २ असोज । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले मधेस आन्दोलनका नाममा टीकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिने सरकारी तयारीप्रति कडा आपत्ति जनाएका छन् ।

एमाले ७ नं प्रदेशको पहिलो बैठकपछि कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले सरकारले कुनैपनि निहुँमा टीकापुरमा भएजस्तो जघन्य अपराधका घटना फिर्ता लिए गम्भीर परिणाम भोग्न तयार हुनुपर्ने चेतावनी दिएका हुन् ।

शनिबार मात्रै मन्त्रालयमा पत्रकार सम्मेलन गरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनका सबै मुद्दा दसैं अगाडि नै फिर्ता लिने र टीकापुर घटनाका अभियुक्तमाथि मुद्दा नचल्ने जानकारी गराएका थिए । उनले क्याविनेटबाट छिट्टै मुद्दा फिर्ता लिने तयारी भइरहेको बताएका थिए ।

निधिले मुद्दा फिर्ता लिने भनेको भोलिपल्टै एमाले उपाध्यक्ष रावल सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले जघन्य, नृशंस र विभत्स हत्याकाण्डलाई राजनीतिक खोल ओढाएर संरक्षण गर्न नपाइने भन्दै त्यो अमानवीय घटनाका सबै दोषीलाई कानुनी रुपमा कारबाही हुनुपर्नेमा जोड दिए । उनले मुद्दा फिर्ता लिएर दण्डहीनतालाइ प्रश्रय नदिन सरकारलाई चेतावनी दिए ।

‘घर भित्रबाट निकाली भाला रोपेर, टाउको ढुंगाले थिचेर, विभत्स र नृशंस किसिमले भएको हत्याकाण्ड कसरी राजनैतिक घटना हुन सक्छ ?’ चेतावनी दिँदै उनले भने– ‘सरकारले कुनैपनि निहुँमा यस्ता जघन्य अपराधका घटना फिर्ता लिए गम्भीर परिणाम भोग्न तयार हुनुपर्छ ।’

उपाध्यक्ष रावलले मधेसका नाममा ९० प्रतिशत जनताका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिने गम्भीर षडयन्त्र भइरहेको भन्दै जनता सचेत हुनुपर्ने बेला आएको बताए ।