२९ कार्तिक २०८३, आइतबार

नेतालाई जनताको प्रश्न – ‘अहिले नै संविधान संशोधन गर्ने बेला भयो र ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan– दीपेन्द्र सापकोटा

काठमाडौँ, २ असोज । खोटाङकी अञ्जु राई हाँडीगाउँस्थित तरकारी बजारमा ठेलाको तरकारी पसल थापेर बस्नुभएको छ । दिनको करिब ५०० देखि एक हजार रुपैयाँसम्मको व्यापार गर्ने उहाँको ध्यान आफ्नै व्यवसाय, श्रीमान् र एक मात्र छोरीमा केन्द्रित छ ।

राजनीतिमा उहाँको पटक्कै रुचि छैन । तर उहाँलाई गत वर्षको असोज ३ गते देशले नयाँ संविधान दिएको भने थाहा छ । संविधान बनेपछि आफ्नो जीवनमा केही परिवर्तन भएको उहाँलाई महसुस भएको छैन । यति हुँदाहुँदै पनि उहाँ खुसी नै हुनुहुन्छ । कारण यस्तो छ – “नयाँ संविधान बनेसँगै महिला ठूलो पदमा (राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख) आसीन भएका छन् । त्यही नै उपलब्धि हो ।”

जननिर्वाचित संविधानसभाले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको वर्षदिन पुग्दै गर्दा त्रि–चन्द्र क्याम्पसमा स्नातकोत्तर अध्ययनरत विद्यार्थी बाग्लुङका किरण रायमाझीमा भने केही उत्साह छ । ‘संविधान नै नबन्ला कि’ भन्ने चिन्ताका बीच संविधान नै बनेर वर्षगाँठ मनाउनु नै उपलब्धि मान्नुहुन्छ उहाँ । वर्तमान सरकार मधेसकेन्द्रित दलकै सहमतिमा बनेकाले यो सरकार बनेपछि संविधान कार्यान्वयन हुने आशा उहाँको छ । उहाँले भन्नुभयो, “यदि मधेसीले उठाएका माग उचित छन् भने संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ ।”

राष्ट्रिय मावअधिकार आयोगमा सवारी चालकका रुपमा कार्यरत बर्दियाका रामकृष्ण चौधरी संविधान बनेपछि पहिलेको तुलनामा राजनीतिक स्थिरतासँगै धेरै कुरामा प्रगति भएको अनुभव सुनाउनुहुन्छ । तर सङ्घीयताको कार्यान्वयन चाँडो गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सुविधा राजधानी केन्द्रित हुँदा सर्वसाधारण धेरै कुरामा सास्ती भोगिरहेका छन्, अब काठमाडौँमा हुने काम जिल्ला–जिल्लाबाट हुनुप¥यो, गाउँ–गाउँमा बाटो पुर्याउनुपर्यो ।”

बागबजारको सडक किनारमा जुत्ताको पालिस लगाइरहेका सर्लाहीका महेन्द्र रामलाई संविधानमा के लेखिएको छ थाहा छैन । तर संविधान निर्माणपछि मधेस आन्दोलन उठेको उहाँलाई राम्ररी थाहा छ । मधेस–पहाडमा समानता खोज्नुपर्ने विचार राख्ने उहाँले भन्नुभयो, “मधेसका माग पनि सम्बोधन गर्नैपर्छ ।” भोजपुर मूल घर भएका डम्बरबहादुर तामाङले संविधान समयसँगै संशोधन गर्ने विषय भएको स्वीकार गर्नुभए पनि ‘अहिले नै संशोधन गरिहाल्ने बेला भा’छ र ? भन्नुहुन्छ । पूर्व राष्ट्रसेवक कर्मचारी ७८ वर्षीय उहाँलाई छिमेकी देश भारतको संविधान २१६ पटक संशोधन भएको हेक्का छ । संविधानमा केही अपरिवर्तनीय कुरा हुनुपर्नेमा जोड दिनुहुने उहाँले भन्नुभयो, “अङ्गीकृत नागरिकलाई राष्ट्रप्रमुख, सरकारप्रमुख बनाउने कुरा संशोधन गर्न हुन्न, संशोधन गर्दा ‘सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने’ गरी गर्नुपर्छ ।”

पाल्पाकी उषा पाण्डे भट्टराई भने जनताद्वारा निर्वाचित प्रतिनिधिले भारी बहुमतद्वारा पारित गरेको संविधान संशोधन हुनु भनेको लोकतान्त्रिक निर्वाचन प्रणालीकै विरुद्धमा भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “संविधान संशोधन आवश्यकै छैन, एकाध व्यक्तिले राखेको माग पूरा गर्दै जाने हो भने त यो देशमा कहिल्यै संविधानको संशोधन गरेर सकिँदैन ।” रासस