काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा ठूलो राष्ट्रघात गरेको भन्दै नेकपा (माओवादी)ले त्यसका विरुद्ध कडा संघर्षमा उत्रने घोषणा गरेको छ ।
नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले शनिवार एक विज्ञप्ति जारी गर्दै विगतमा भएका राष्ट्रघाति सम्झौतालाई फेरि निरन्तरता दिँदै थप राष्ट्रघाती सम्झौताहरु गरेको उल्लेख गरेका छन् । प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुँदे सहमति देशका निम्ति ठूलो बेइज्जति र शर्मनाक विषय भएको विप्लवको दाबी छ ।
प्रचण्डले नेपाली जनताको परामर्श नै नलिएर भारतलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका रुपमा समर्थन गर्ने सहमति गरेको, नयाँ दिल्लीबाटै नेपालका भूकम्प पीडितलाई पैसा बाँड्ने योजना बनाएको, नेपालमा निरन्तर विरोध र खारेजीको माग हुँदै आएका महाकाली पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत आयोजनालाई कार्यान्वयन गर्ने फेरि सहमति जनाएको भन्दै यसले प्रचण्डको ‘विस्तारवाद सामुको नाङ्गो दलाली र आत्मसमर्पण’ प्रष्ट भएको बताइएको छ । विप्लवले भनेका छन्- ‘२५ बुँदे सहमतिमा भारत सामु नेपालका प्रधानमन्त्री प्रचण्डको आत्मसमर्पन र चाकरी नाङ्गो रुपले पोखिएको छ । उनको अनुहार नकावविहिन बन्न पुगेको छ भने भारतको विस्तारवादी रवैया पनि भद्दा प्रकारले उदाङ्गिएको छ ।’
भारत भ्रमणका क्रममा प्रचण्डले गरेको २५ बुँदे सहमतिलाई कुनै पनि हालतमा लागु हुन नदिने घोषणा पनि नेकपा (माओवादी)ले गरेको छ । साथै प्रचण्डले संविधान पनि भारतकै चाहना बमोजिम संशोधन गर्नेसम्मका कबुल गरेर चरम राष्ट्रघात र नेपाली नागरिकहरुका लागि समेत घोर लज्जित बनाएको भन्दै यसका विरुद्धमा आम नेपाली जनतालाई संघर्षमा उत्रिन अपिल विप्लवले गरेका छन् ।
















प्रतिक्रिया