– नरेश केसी
भैरहवा, ३१ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले छिमेकी मुलुक भारतको भ्रमण गर्दा सबै सजग हुनुपर्नेमा जोड दिएका छन् ।
विहीबारदेखी भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसंग कुनै राष्ट्र र राष्ट्रियता विरोधी सम्झौता गरे त्यसको प्रतिवाद गर्ने जनाए । अध्यक्ष विजुक्छेले भारतको भ्रमण सामान्य भएता पनि विगतका इतिहांसले नेपालीहरुलाई झस्काइरहेको जनाउदैं भने “कसैले महाकाली, कसैले कोसी बेचे अब त्यस्तो नहोस् भनेर हामी सजग हुनु जरुरी छ । प्रचण्डले त्यस्तो गल्ती गरे क्षमा पाउने अवस्था छैन । हिजोका नेपाली र आजका नेपालीको चेतना स्तर धेरै फरक छ ।”
विहीबारदेखी लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै व्यवस्थापीका संसदका सदस्य समेत रहेका नेता विजुक्छेले स्थानिय निकाको निर्वाचन नगर्दा जनता अत्यन्त मारमा परेकोले सरकारले तत्काल स्थानिय निर्वाचन गराउनुपर्नेमा जोड दिए ।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन किन नगरेको भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष विजुक्छेले पूर्ववर्ती केपी ओलीको सरकारको स्मरण गर्दै भने– उहाँ (केपी) नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता र देशभक्ती विरुद्ध कुनै पनि निर्णय र कदम नचाल्ने प्रतिबद्धता जनाएका कारण आफ्नो पार्टीले समर्थन गरेको तर प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रियताप्रति संवेदनशील र बफादार नदेखिएका कारण आफ्नो पार्टीको समर्थन नरहेको उनको भनाई छ ।












प्रतिक्रिया