१ कार्तिक २०८३, आइतबार

संविधान दिवस विरुद्ध मधेसी मोर्चाले माइतीघर मण्डलामा प्रदर्शन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३१ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले असोज ३ गते प्रथम संविधान दिवसका दिन राजधानीमा विरोध प्रदर्शन गर्ने निर्णय गर्दै कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

यसअघि मधेसी मोर्चाले असोज ३ गते कालो दिवसका दिन तराईका सबै जिल्लाहरूमा प्रदर्शन गर्ने निर्णय गरिसकेको छ ।

राजधानीको हकमा भने असोज ३ गते दिउँसो दुई बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने निर्णय भएको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मुख्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले माइतीघर मण्डलामा संविधान दिवस विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

महासचिव सुमनले भन्नुभयो, ‘संविधान विरुद्ध रहेका सबै पक्षसँग समन्वय गरेर कालो झण्डा र ब्यानरसहित प्रदर्शन गर्ने निर्णय भएको छ ।’

सरकार गठनका बेला प्रधानमन्त्री पुष्कमल दाहालको पक्षमा मतदान गरेको मधेसी मोर्चाले संविधान संशोधनको मागलाई जोडदार रुपमा उठाउँदै आएको छ । मोर्चाले संविधानका कतिपय विषय मधेसी विरुद्ध रहेको दाबी गर्दै आएको छ ।

सरकारले असोज ३ गते प्रथम संविधान दिवस भव्यताका साथ मनाउने तयारी गरिरहेका बेला सरकारलाई मतदान गरेर समर्थन दिएको मधेसी मोर्चाले भने विरोध प्रदर्शन गर्न लागेको छ ।