महेन्द्रनगर, ३१ भदौ । सम्बन्ध सुधारका लागि भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतीय प्रहरीले नेपालका सीमावर्ती गाउँमा आतंक मच्चाएको छ ।
विहीबार राति कञ्चनपुरको दक्षिणी क्षेत्रस्थित बेलौरी नगरपालिका १४ भुडाँ गाउँमा हतियारसहित प्रवेश गरी भारतीय प्रहरीले छापामार शैली घर घरमा घुसेर आतंक मच्चाएको हो ।
भारतीय प्रहरी हतियारसहित नेपाली जनताको घरमा पस्दा उक्त क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । घरघरमा पसेर भारतीय प्रहरीले निकै दुःख दिएपछि गाउँलेहरु मिलेर प्रतिकार गर्दै तीन भारतीय प्रहरीलाई नियन्त्रण लिएर नेपाल प्रहरीको जिम्मा लगाएको भुडाका स्थानीय गणेश थापाले बताए ।
हतियारसहित अर्काको देशमा जान नपाइने भएपनि भारतीय प्रहरी पटक पटक रवाफ देखाउँदै सीमावर्ती गाउँमा आतंक मच्चाउँदै आएको छ ।
तीन भारतीय प्रहरी नियन्त्रणमा
समावर्ती गाउँमा आतंक मच्चाउन हतियारसहित नेपाल प्रवेश गरेकामध्ये सब इन्सपेक्टरसहित ३ भारतीय प्रहरी अहिले नेपाल प्रहरीको नियन्त्रणमा छन् । इलाका प्रहरी कार्यालय बेल्डाँडीका अनुसार अनुमतिविना भारतीय प्रहरीले भूडाका स्थानिय बहादुर शाही लगायतको घर खान तलासी गर्ने क्रममा स्थानियहरु बिरोध गरेपछि भूडा प्रहरीले तिनै जनालाई नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी बेल्डाँडी ईन्चार्ज गिन्द्र बोगटीका अनुसार सब–ईन्सपेक्टर सुवास चन्द, भारतिय प्रहरी जवान अर्जुन सिंह, प्रदिप कुमार पक्राउ परेका छन् । उनीहरुबाट एक पेस्तोल बरामद गरिएको छ । ईप्रका बेल्डाँडीका प्रहरी अनुसार ९ एमएमको पेस्तोल त्यसमा लाग्ने ९ राउण्डको गोली बोकेका पिलीभित जिल्ला कम्पोजनगरका भारतीय प्रहरी हुन् । भारतीय प्रहरी र डाँकुसहित बिहीबार राति नै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याईएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी नैनसिह कार्कीले घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको बताए ।











प्रतिक्रिया