काठमाडौं, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक विभाजन गरेर बहुराष्ट्रियताको कुरा गर्ने र अंगीकृतलाई मुलुकको सर्वोच्च पदमा लैजानैपर्छ भन्ने काँग्रेस–माओवादी घिडघिडो पूरा हुन नदिने बताउनुभएको छ ।
विहीबार नेकपा एमाले जिल्ला कमिटी ललितपुरद्धारा आयोजित पार्टी प्रवेश तथा समसामयिक अन्तरक्रिया कार्यक्रममा कांग्रेस, माओवादी र राप्रपाबाट एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्दै ओलीले बाटो विराएर, अरु पार्टीबाट पनि परिवर्तन सम्भव हुनसक्छ कि भनेर अल्मलिएकाहरु अब एमालेमा ध्रुवीकरण हुने निश्चित भएको बताउनुभएको छ । एमाले बाहेक अहिले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरण सम्भव नभएको पनि अध्यक्ष ओलीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बर्तमान प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कुनै अर्थ नभएको पनि बताउनुभयो । सरकारको साझेदार रहँदै गर्दादेखि नेकपा माओवादी केन्द्रको रवैया ठिक नभएको पनि बताउनुभयो । नेपाल टुक्र्याउनुपर्छ, विदेशबाट आउने वित्तिकै सरकारका उच्च ओहोदामा पुग्नुपर्छ र नेपालको झण्डा फेर्नुपर्छ भन्ने नाजायज माग एमालेलाई कहिल्यै मान्य नहुने उहाँको भनाई छ ।
नाजायज मागलाई संविधान संशोधन गरी माग पूरा गराउने प्रचण्ड हठ कुनै हालतमा पूरा हुन नदिइने पनि ओलीले चेतावनी दिनुभयो । एमालेको नेतृत्वमा रहेको सरकारलाई ढालेर काँग्रेसले इतिहासकै ठूलो महाभुल गरेको पनि ओलीले बताउनुभयो । त्योबेला सुरु गरेका अभियानहरुलाई निरन्तरता दिनसके मात्र नेपालको समृद्धिको बाटोमा हिँड्ने लक्ष्य पूरा हुने बताउनुभयो ।
नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि चन्दनपुरका उत्तमकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका चन्दनपुर गाउँ कमिटिका पूर्व इन्चार्ज बेदनाथ घिमिरे, राप्रपाका कालेश्वर गाउँ कमिटि अध्यक्ष सुवास तिमल्सिना र सचिवविदुर लामीछाने, नेपाली सेनाका पूर्व कर्णेल केदारनाथदुलाल सहितविभिन्न पार्टी परित्याग गरी ५० जनाभन्दा बढीले एमाले प्रवेश गरेका छन् । पत्रकारिता, कलाकारिता लगायतका स्वतन्त्र पेशाकर्मी समेत एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटिको प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताउनुभयो ।











प्रतिक्रिया