‘बाबा ८ बजिसक्यो मम्मी घर आउनु भएको छैन । हजुर आउनु हुन्छ कि नाई, भोली स्कूलमा परीक्षा र मासिक फि बुझाउनुछ’, आशिष्माले क्रन्दन सहितको मलिन स्वर सुनाउँछिन् । धेरै दिनपछि सन्देशले छोरीको बोली सुनेको थियो । छोरीको बोली सुनेपछि सन्देश मनभरि वसन्त सजाएर बोल्न थाल्छ, ‘म एकैछिनमा आउछु छोरी ! त्यसपछि तिमीलाई चाहिने जति पैसा दिउँला ।’
‘हवस बाबा !’
सन्देशले फोन राख्छ । अफिसमा ताल्चा लगाउँछ । अनि उ घरको लागि प्रस्थान गर्छ । बाइकको यात्रा भएकाले केही समयमै ऊ घरपुग्छ । छोरी बाहिर ढोकामा बसि रहेकी थिइन ।
‘छोरी ! किन ढोकामा बसि रहेकी ?, चिसो छ, भित्र बसेको भएपनि त हुन्थ्यो’, सन्देशले मुहार उज्यालो बनाउँदै मन्द मुस्कान छर्छ । उसको कुरा सुनेर मुहारमा हल्का चमक देखाउँदै आशिष्मा बोल्न थाल्छिन्, ‘मेरो साँझ यही बसेर बित्छ । बाबा अनि आमा घर आउनु हुन्छ कि भनेर रातीसम्म दैलोमा बस्छु । कहिले मुहार उज्यालो हुने मौका मिल्छ, कहिले पर्खाइमै रात पर्छ ।’
छोरीको कुरा सुनेर सन्देशले मनमा चिसो पसेको अनुभूति गर्छ । उसले छोरीलाई अंगालोमा बेर्छ । आँखाबाट आँशुका ढिकाहरु खस्छन् । आँखाबाट खसेको आँशु आशिष्माको हातमा पर्छ ।
‘बाबा ! किन केटाकेटी जस्तो आँशु खसाउनु हुन्छ ? तपाई त ठूलो मान्छे, रोएको सुहाउँदैन । अनि आफ्नो हालत कस्तो बनाउनु भएको छ । कपडा पनि मैलिएको रहेछ, कपाल अनि दाह्री किन यति लामो पालेको ?’, आशिष्माले बाबुको आँखाबाट बगि रहेको आँशु पुछिदिन्छिन् । अवोध छोरी यतिधेरै ज्ञानी भएको देखेपछि सन्देशले मुहारमा हल्का मुस्कान झुण्डाएर बोल्न थाल्छ, ‘के गर्छेउ छोरी केही–केही कुराले सबैलाई रुन बाध्य बनाउँदो रहेछ । काम गर्दागर्दै कपडा फेर्न पाइन, दाह्री र कपाल पनि काट्न पाइन ।’
‘बाबा ! मम्मी हिंजो देखि घर आउनु भएको छैन । उहाँले भन्नु भएको हजुर मेरो बाबा होइन रे ! उहाँ कतै जानु भयो भने म पनि उहाँसँगै जानुपर्छ रे ! तपाईसँग बोल्दै नबोल्नु भन्नु हुन्छ । त्यसैले उहाँको अगाडि म हजुरसँग धेरै बोल्दैन ।’
छोरीको कारुणीक कुरा सुनेपछि सन्देशले मनमा चिर्को परेको महसुस गर्छ । हरेक मानिसलाई आफ्नो जीवन जिउन छुट हुन्छ । समाज, घरपरिवारका कारण कतिपय मानिसले आफ्नो व्यक्तिगत जीवन सम्झौतामा रुमलेर अगाडि बढाएका हुन्छन् । तर केहीले जीवनलाई सम्झौतामा बाँध्न रुचाउँदैनन् । घरपरिवारको तिव्र दबाबपछि सन्देशसँग उर्मीलाको विवाह भएको थियो । त्यतिबेला यी सब कुराहरु सन्देशलाई थाहा थिएन । सन्देशले पनि आमाबाबाको कुरा काट्न नसकेर विवाह गरेको थियो । विवाह हुने समयमा उर्मीलाको चक्कर उसको गाउँलेसाथी नवराजसँग थियो । उनीहरु धेरै ठाउँमा घुम्न, रमाइलो गर्न पुगेका रहेछन् । जुन कुरा विवाह पछि सन्देशले थाहा पाउँछ । यो सब कुरा थाहा पाउँदा छोरी आशिष्माको जन्म भइसकेको थियो । सन्देशले यी सब कुरा थाहा पाएपछि आफूसँगको सम्बन्ध तोड्न मन भए तोड्नका लागि पटक–पटक आग्रह गरेको थियो । तर उर्मीलाले नै सम्बन्ध तोडेकि थिइनन् । सन्देशसँग नाममात्रको सम्बन्ध कायम थियो । उता प्रेमीसँगको सम्बन्धलाई पनि उर्मीलाले अगाडि बढाइ रहेकी थिइन । सन्देश विदेश गएकोसमयमा त उर्मीलाले हदै पार गरेकी थिइन । जुन कुरा सन्देशले थाहा पाएपछि आफ्नो तर्फबाट सबै खाले सम्बन्ध श्रीमतीसँग तोडेको थियो । झगडा पर्नेक्रममा उर्मीलाले सधैभरी छोरी आशिष्मा आफ्नो प्रेमी नवराजको सन्तान भएकोसम्म भन्न पछि पर्दिनथिन् । उनले सो कुरा छोरीलाई पनि भनि रहन्थिन् । उर्मीलाको दिलदिमागमा प्रेमीसँग नै घरजम गर्ने थियो । प्रेमी नवराज आर्थिकरुपले समस्यामा परेका कारण उनीहरुले विवाह गरेका थिएनन् । आर्थिक कारोबार मिल्नासाथ उनीहरुले घरबार गर्ने योजना बनाई सकेका थिए ।
‘बाबा के म अर्कैको सन्तान हुँ ?’, आशिष्माले प्रश्न गरेपछि सन्देशको मुटुमा एकाएक ठूलो बज्रपात पर्छ । उसले मुटु गाँठो परेजस्तो महसुस गर्छ । छोरीलाई जोडले अँगालोमा कस्छ, अनि ओंठ चलाउँछ, ‘तिमी मेरै छोरी हौ । मेरै काखमा जन्मिएकी हौं, मेरै औंला समाएर हिंड्न सिकेकी हौ । बोल्न पनि मैले नै सिकाएको हुँ, अनि कसरी अरुको छोरी हुन सक्छौं ? तर तिम्री आमाले तिमीलाई मसँग बस्न नदिने सोंचेकि छे भने तिमीले जे भन्छौ म त्यही मान्छु ।’
‘हाम्रो घरपरिवारमा कलह आउनुमा हजुरको खासै दोष छैन । मम्मीले म सुतेपछि धेरैबेर आफ्नो प्रेमीसँग कुरा गर्नु हुन्छ, धेरै पटक मैले सुनेको पनि छु । यसमा धेरै दोष मम्मीको छ । कि उहाँले विवाह नगर्नु पथ्र्यो, गरेपछि इमान्दारिता देखाउनुपथ्र्यो, मम्मीले आफ्नो तर्फबाट इमान्दारिता देखाउन सक्नुभएन । जहाँसम्म हजुरको सवाल छ, हजुरले मम्मीलाई श्रीमान्को नाताले प्रेमको सागरमा तैराएर आफूमा समर्पित बनाउने कुरामा गाम्भीर्यता देखाउनु भएन । घरपरिवार कसरी सुखी राख्नुपर्छ, जीवनसँगिनीलाई आफूमा कसरी लिप्त बनाउनुपर्छ भन्ने कुरा तपाईले आफ्नो जीवनमा लागू गराउन सक्नु भएन । यही कुरा हजुरबाट कम्जोरी भएको छ । जहाँसम्म मैले यो घर छाड्ने कुरा छ, त्यो मबाट हुँदैन । म यहीं जन्मे, यो नै मेरो घर हो । मेरा सबै आफन्त यही छन्’, आशिष्माले मनको कुरा हाँडीमा मकै उछुटिए सरी पोख्छिन् । उनले ठूलो मान्छे सरह प्रवचन दिएको सुनेपछि मुहारमा हल्का मुस्कान ल्याएर सन्देश बोल्न थाल्छ, ‘छोरी सानी छिन् भनेको त, म भन्दा पनि ओजपूर्ण कुरा गर्ने भइछन् । खुशी लाग्यो । हिंड अब भित्र जाउँ, आज बाबुछोरीले धेरै कुराहरु गर्नुपर्छ ।’
‘हवस ।’
बाबुु छोरी घरभित्र पस्छन् । सन्देशको आमा र बाबा भान्सा कोठामा थिए । कोठाभित्र पस्नासाथ सन्देशले आमा र बाबालाई ढोग गर्छ ।
‘भाग्यमानी भएस्, अनि आज धेरैदिन पछि घर आइस । बाहिर कतै गएको थिइस् र !’, बाबा (हरिप्रसाद) ले प्रश्न गर्छन् । उनको कुरा सुनेर सन्देश बोल्न थाल्छ, ‘यहीँ थिए, बाबा । आजकाल कामकाज राम्रो भइरहेको छ । त्यसैले अलि व्यस्त थिए । जसले गर्दा घर आउन पाइन ।’
‘हामीलाई ढाँट्नु पर्दैन । तँ घर किन आउँदैनस, हामीलाई थाहा छ । यस्तो गर्नु भन्दा बरु अर्को बिहे गरेर मजाले घरजम गरे भैहाल्यो नी ! किन बतासिएकी श्रीमतीलाई पकडेर बसेकोछस्’, आमा (फूलमति)ले मनको भँडास पोख्छिन् । आमाको कुरा सुनेर मन्द मुस्कान छर्दै सन्देश बोल्न थाल्छ, ‘हजुरहरुले खोजी दिएको मान्छेलाई त्यसै के पाखा लगाउनु भनेर तमासा हेर्दै बसेको छु ।’
‘हामीले हाम्रो गल्ती स्विकार गरिसकेका छौं । हाम्रो सोचाइँ राम्रो थियो । छोराको जीवन सुखमय होला भनेर धेरै प्रयासपछि लगन जुराएका थियौं । तर खोजाई गलत भयो । यसमा हाम्रो के दोष ! अनि अहिले गल्ती सच्चा भनि रहेका छौं नी ! तर तँ नै हाम्रो कुरा सुन्दैनस’, बुवाले एकैसासमा मनको कुरा खोल्छन् । उनको कुरा सुनेर सन्देशले निधार खुम्चाउँदै ओंठ चलाउँछ, ‘भने जस्तो सजिलो कहाँ छ र ? भन्नासाथ छाड्न अनि नयाँसँग सम्बन्ध जोड्न । तर पनि तपाईहरु नआत्तिनुहोस्, हाम्रो घरको यो अवस्था आउनुको पछाडि तपाई अनि मेरो गल्ती नभएकाले निकास हाम्रै पक्षमा निस्कनेछ ।’
‘ल, ल अब कुरा धेरै भयो, खाना पस्केउ, सन्देशकी आमा, छोरा धेरैदिनपछि घर आएको छ, नातिनी पनि भोकाई होला । आज धेरैदिनपछि सँगै बसेर खानुपर्छ ।’
‘हवस ।’
आमाले खाना पस्कन्छिन् । सबैजना खाना खान बस्छन् । खाना खाइसकेर सन्देश र आशिष्माले हात चुठ्न लागि रहेका थिए । त्यही समयमा उर्मीला घर आउँछिन् । नौ बजि सकेको थियो । उर्मीला उभिन सक्ने स्थितिमा थिइनन् । उनले मदिरा सेबन गरेकी थिइन । सन्देशले आशिष्माको हात धोइदिन लागि रहेको थियो । एकाएक आशिष्मालाई उर्मीलाले तान्छिन् ।
‘लाज छैन, अर्काको छोरीको हात धोइ दिन’, उर्मीला कड्किन्छन् । उनले छोरीको हात समाउँछिन् । अनि छोरीलाई हेर्दै कुरालाई निरन्तरता दिन थाल्छिन्, ‘तँलाई जति भने पनि हुँदैन । तेरो बाबु अर्कै हो । नातासम्बन्ध नै नभएको मान्छेले हात समात्दा गाली गर्नु पर्दैन ।’
श्रीमतीको चर्तिकला देखेपछि सन्देशको पुर्पुरो तातिन्छ । उसले रिसले बंगारा बजाउँछ । अनि कड्किएर बोल्न थाल्छ, ‘थुक्क पाजी, दुनियाँ नाठाहरुसँग बसेर रक्सी धोकेर आएकी छे । लाज छैन, यहाँ आएर जे पाए त्यही भन्न । यदि यो घर तेरो होइन, हामी तेरा मान्छे होइनौं भने किन लाज पचाएर यहाँ आएकी छेस्, तेरा मान्छेहरु जहाँ छन्, त्यही गएर बस न । कुकुरनी ।’
‘मान्छे मेरा होइनन्, घर मेरो हो, बुझिस् ! भुस्याहा कुकुर जस्तै त्यसै लुरुक्क घर छाडेर जाउँला र मस्तीले बसौंला भनेको होलास । चिरेर सम्पत्ती लग्छु, अनि बल्ल घर छाड्छु । कुरा भने ठूला–ठूला गर्दो रहेछ । साथमा बस्न लागेको यतिका वर्ष हुँदा समेत अरुले पासो लगाईदिएको सन्तानमा खुशी मनाऔं गर्ने नामर्द’, यति भनेर उर्मीलाले छोरीको हात तान्दै कोठातर्फ लतारछिन् । उनी कोठातर्फ लागेपछि मनभरि बेदानाको पोका बोकेर सन्देश वैठक कोठातर्फ सोझिन्छ ।
कोठामा पुग्नासाथ उर्मीलाले छोरीलाई कुट्न थाल्छिन् ।
‘मैले तँलाई त्यो पाजीसँग नबोल्नु भनेको होइन । किन बोलिस ?’ उर्मीलाले आशिष्मालाई कुटेको टाढै सुनिन्थ्यो । आशिष्मा भने एक शव्द पनि मुखबाट ननिकालेर चुपचाप चोटमाथि चोटको दुःखाई सहेर उभीएकी थिइन । कुट्दासम्म कुटेपछि थाकिएर उर्मीला खाटमा बस्छिन् । केही समय कोठा शान्त बन्छ । आशिष्माको आँखाभरि आँशु थियो । आमा खाटमा लम्पसारिएपछि आशिष्मा आमाको छोउँमा गएर उभिन्छिन्, अनि रुदैं ओंठ चलाउँछिन्, ‘मम्मी, हजुरको यो चर्तिकला मैले कहिलेसम्म देखख्नुपर्ने हो ? आमा ! भन्ने शव्द जुन मैले पढेको छु, देखेको छु, के यस्तै हुन्छन् आमा ? तपाईले कतिबेला आमाको कर्तव्य निर्वाह गर्नु भयो ? आमाले छोराछोरीलाई कुलतमा फस्नु हुँदैन भन्ने शिक्षा दिन्छन् । तर तपाई सधैभरी रक्सी धोकेर आउनु हुन्छ । छोरीले के खाई, के लगाउँछे, पढेकी छे कि छैने कहिले तपाईले चिन्ता गर्नु भएको छ ? घर चलाउने बुहारीले हो, तर घरको असल बुहारी हजुर कहिल्यै बन्न सक्नु भएन । बाबाआमाको घर छाडेर आएपछि श्रीमतीले श्रीमानको घरलाई स्वर्ग बनाउँछन्, तर तपाईले श्रीमतीको अर्थ समेत बुझ्न सक्नुभएन । त्यसैमा मलाई अरु कसैको छोरी भनेर रातदिन भन्नु हुन्छ, म कसरी अरुको छोरी भए ?
मान्छेको नाता रगतको मात्र हुँदैन । रगतको नाता मेटिन सक्छ, तर भावनाको नाता कहिल्यै मेटिदैंन । नातासम्बन्ध कायम राख्न नजानेपछि त्यसको कुनै अर्थ र औचित्य रहँदैन । म कसकी छोरी हुँ मलाई थाहा छैन, तर मेरा आमा तपाई हो, बाबु सन्देश श्रेष्ठ नै हो । यदि तपाईलाई बाबासँग बस्ने मन छैन भने किन उहाँको नामको सिन्दुर र पोते लगाउनु हुन्छ ? किन उहाँलाई धोकामा राखि रहनु भएको छ ? हरेक कुराको सीमा हुन्छ, अति भयो, तपाईले सीमा नाघ्नुभयो । म यही घरको छोरी अनि नातिनी हुँ, म यही बस्छु, कँही कतै जाँदैन, बुझ्नुभयो ?’
आशिष्मा एक तमासले बोलि रहेकी थिइन । तर उर्मीला नशाको तालमा झुमेकाले उनी खाटमा पल्टनासाथ भुस भइसकेकी थइन् । उनले छोरीको कुरा सुन्दैनिन् । बैठक कोठामा बसेको सन्देशले छोरी बोल्न लागेको सुनेपछि कान ठाडो बनाउँछ । सन्देशले छोरीको सबै कुरा सुन्छ । छोरीको कुराले उसको मनले शितलता प्राप्त गर्छ । बेदनाका ज्वारभाटाहरु उर्लिने मनमा हर्षको भण्डार लाग्छ । आँखामा खुशीको आँशु टलपलाउँछ । ऊ छोरीप्रति अझँ धेरै नतमष्तक बन्छ ।
(लक्कीचार्म उपन्यासको अंश)
















प्रतिक्रिया