१ कार्तिक २०८३, आइतबार

उत्तर कोरियामा बाढी: एकसय ३३ को मृत्यु, ३९५ बेपत्ता

24.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

North Korean leader Kim Jong Un speaks during a ceremony at the meeting hall of the Central Committee of the Workers' Party of Korea

सोल, २७ भदौ । उत्तर कोरियाली सीमा क्षेत्रमा आएको भीषण बाढीमा परी १३३ व्यक्तिको मृत्यु भएको छ । बाढीमा परी ३९५ व्यक्तिहरु हराइरहेका र हजारौँ घरहरु बगाएपछि त्यस इलाकामा ठूलो मानवीय सङ्कट परेको संयुक्त राष्ट्रसंघले प्योङ्गयाङ्ग सोतलाई उद्धृत गर्दै जनाएको छ ।

प्योङ्गयाङ्गका सरकारी अधिकारीहरुले दिएका आङ्कडा अनुसार पनि तुमेङ नदीमा आएको बाढीबाट प्रभावित उक्त इलाकाबाट करिब एक लाख सात हजार व्यक्ति सो क्षेत्रबाट आफ्नो घर छोडी भागेका तथ्य संयुक्त राष्ट्र संघद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

केही दशकयताकै दुर्भाग्यपूर्ण मुसलधारे वर्षाका कारण चीन र रसियासँगको सीमाक्षेत्र नजिकका नदीमा पनि भीषण बाढी आएर त्यहाँका बासिन्दाले अत्यन्त कष्टपूर्वक गुजारा चलाइरहेका उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले बताएका छन् ।

तुलनात्मक हिसाबले आर्थिक रुपमा विपन्न उत्तर कोरियामा बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपले बारम्बार सताइ रहन्छ । वन, जङ्गलको विनाश यसको आंशिक कारण हो भने भौतिक पूर्वाधारको निर्माणमा कमजोरी पनि अर्को कारण हो ।

सन् २०१२ को वर्षा ऋतुमा पनि कडा आँधीबेहरीसहित परेको अविरल व्यापक वर्षाका कारण कम्तीमा एकसय उनान्सत्तरी जनाले ज्यान गुमाउनुपरेको थियो ।

पछिल्लो बाढीको कारण ३५ हजार ५०० भन्दा बढी घर प्रभावित भएको बताइएको छ । तीमध्ये ६९ प्रतिशत घरहरु पूर्णरुपमा नष्ट भएको आठ हजार ७०० सार्वजनिक भवन क्षतिग्रस्त भएको संयुक्त राष्ट्र संघको कोअर्डीनेसन अफ ह्युम्यानिटरियन एफेएर्स (ओसिएचए) द्वारा जारी विज्ञप्तिमा बताइएको छ ।

बाढीकैे कारण करिब १६ हजार हेक्टर कृषियोग्य जमिन जलमय भएको र कम्तीमा एक लाख ४० हजार जनतालाई तत्काल पिउने पानी शुद्धिकरण गर्ने रसायन, खाद्यान्न, औषधि तथा चुलोचौका चलाउने सामग्री जस्ता मानवीय सहायताको आवश्यकता परेको छ ।

यता उत्तर कोरियाली सरकारले वर्षा रोकिनासाथै भत्केका र पहिरोले क्षतिग्रस्त बनाएका सडक खुलाउन पहिलो प्राथमिकता दिई उद्वारका सामान तथा निर्माण सामाग्री तत्कालै ढुवानी सुचारु गर्ने जनाएको छ ।

जाडो याम सुरु हुनु भन्दा पहिल्यौ २० हजार आवासीय भवन पनि शीघ्र पुनःनिमाण गरिसक्ने पनि जनाइएको छ । रासस/एएफपी