२८ आश्विन २०८३, बुधबार

पुरातन सोचलाई परास्त गर्दै इन्जिनियरर्स एशोसियसनमा एमालेले ऐतिहासिक विजय प्राप्त गर्दैछ

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjib-rokha

यही भदौ ३१ गते हुनगइरहेको नेपाल इन्जिनियरर्स एसोसियसनको ३१ औं कार्यकारिणी परिषद्को निर्वाचनमा पाँच वटा समूह भिड्दै छन् । जसमा अहिलेसम्मको सर्वेक्षणले प्रगतिशील तथा पेशागत इन्जिनियर समूह अग्र स्थानमा देखिएको छ । डा. सुमित्रा अमात्यको नेतृत्वमा निर्वाचनमा होमिएको प्रगतिशील समूहबाट यसपटक थुप्रै युवा उम्मेदवारलाई अघि सारिएको छ । ती मध्ये एक हुन् ई. सञ्जीव रोकाहा । कोषाध्यक्षका उम्मेदवार रहेका युवा नेता रोकाहा विभिन्न संघ संस्थामा आवद्ध छन् ।

२०५८ सालमा कान्तिपुर इन्जिनियरिङ कलेजबाट विई कम्प्युटर इन्जिनियरिङ गरेका उनी एसोसियन अफ इन्जिनियरिङ स्टुडेन्ट्स नेपालका संस्थापक महासचिव एवं अध्यक्ष (२०६०) हुन् । जनकपुर इन्जिनियरिङ कलेजमा प्रशासन प्रमुखको रुपमा कार्य गरेका रोकाहासँग स्यामसुङ इण्डिया इलेक्ट्रोनिक्स प्रालि (नयाँ दिल्ली)मा रिजनल कोर्डेनेटरको रुपमा पनि काम गरेको अनुभव छ । युवा अभियानका सम्पादक, पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजका अध्यक्ष समेत रहेका रोकाहा हाल डी एण्ड डी इन्फोटेकका प्रबन्ध निर्देशक छन् । कार्यदक्षतामा अनुभवी र दक्ष उनै युवा नेता रोकाहासँग इन्जिनियरर्स एसोसियसनको निर्वाचन र प्रगतिशील समूहको तयारीबारे दैनिक नेपालले गरेको कुराकानीः

निर्वाचनको तयारी कस्तो छ ?

नेपाल इन्जिनियर एशोसियसनको ३१ औं कार्यकारिणी परिषद्को निर्वाचनको पूर्व सन्ध्यामा हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न परियोजनाहरु सरकारी कार्यालय र निजी क्षेत्रमा कार्यरत इन्जिनियर साथीहरुसँग छलफल, सुझाव र सल्लाहका निमित्त भ्रमण सम्पन्न गरेका छौं । उपत्यका बाहिरको भ्रमणले हामीलाई उत्साहित बनाएको छ । अहिले हामी उपत्यकाभित्र केन्द्रीत रहेर भेटघाट, छलफलमा व्यस्त छौं । अहिलेसम्मको हाम्रो अध्ययनअनुसार यथेष्ट बहुमतका साथ प्रगतिशील तथा पेशागत समूह विजयी हुने निश्चित देखिएको छ ।

तपाईको उम्मेदवारी किन ?

हाम्रो उम्मेदवारी नेपाल इन्जिनियरर्स एसोसियसनलाई सम्पूर्ण इन्जिनियरहरुको साँझा संस्थाको रुपमा रुपमान्तरण गर्नलाई हो । हामी पेशागत हकहितलाई सम्वद्र्धन गर्दै सुरक्षित इन्जिनियरिङ समाज निर्माण गर्न चाहन्छौं । हामी देशैभरीका करिब ३५ हजार इन्जिनियरहरुको साँझा आवाज बन्न चाहन्छौं । त्यसकारण यो निर्वाचनमा हामीले परिवर्तनको पक्षमा मत मागिराखेका छौं । र हामीले परिवर्तनका हाम्रा एजेण्डाहरु घोषणा पत्रमार्फत सार्वजनिक गरिरहेका छौं । हामी निर्वाचनलाई कुनै इन्जिनियरको हारजितको विषय नबनाई आफूले प्राप्त गरेको मत संख्याको आधारमा नेतृत्वमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था विधान संशोधनमार्फत गर्न चाहन्छौं ।

एजेण्डाहरु के के छन् ?

मुलुकमा राजनीतिक आन्दोलन समाप्ती पश्चात अब विकास र समृद्धिको एक मात्र एजेण्डा हामीसामू छ । विकास र समृद्धिको खाका हामी इन्जिनियरहरुले कोर्ने हो । त्यसकारण यसको नेतृत्व पनि इन्जिनियर समुदायलाई दिन आवश्यक छ । विकसित मुलुकहरुमा हेर्ने हो भने इन्जिनियरहरुले नेतृत्व गरेका विकास अभियानहरु सफल भएका छन् । त्यस्तै, स्वाधिन अर्थतन्त्र र आर्थिक रुपान्तरणको अभियानमा हामी राज्यलाई महत्वपूर्ण योगदान गर्न चाहन्छौं । हामी अहिले विकासको नयाँ परिभाषा खोजिरहेका छौं । त्यसकारण हाम्रो उम्मेदवारी राज्यको नीति निर्माण तहमा इन्जिनियरहरुको सम्मानजनक उपस्थितीका लागि हो ।

निर्वाचनमा तपाईको समूहले जित्ने आधार के–के छन् ?

हामी निश्चित एजेण्डाहरुका साथमा निर्वाचनमा होमिएका छौं । अन्य समूहहरुका एजेण्डा र हाम्रा एजेण्डा हेर्नुहुन्छ भने जितको आधार तपाई त्यहीबाट देख्न सक्नुहुन्छ । त्यस्तै हामीले उठाएका उम्मेदवारहरु विभिन्न क्षेत्रमा आफूलाई अब्बल सावित गरी स्थापित भइसकेका अनुहार हुनुहुन्छ । इन्जिनियरङ समुदाय मात्र होइन् समग्र देशको नेतृत्व गर्नसक्ने सक्षम व्यक्तिहरु हाम्रो समूहका उम्मेदवार हुनुहुन्छ । हाम्रो समूहमा सिनियर व्यक्तिहरुसहित अधिकांश युवाहरुको बाहुल्यता छ । यो उम्मेदवारी छनोटले समेत हामीलाई विजयको दरिलो आधार बनेको छ । त्यस्तै, विगत लामो समयदेखि नेपाल इन्जिनियरर्स एसोसियसनलाई नेतृत्व गरिराखेको लोकतान्त्रिक समूहको अदुरदर्शी नेतृत्व, नीतिहिनता एवं पूरातन मानसिकताका कारण आज आम इन्जिनियर साथीहरुले नीतिसहितको नेतृत्वको स्थापित गर्नलाई परिवर्तन चाँहेका छन् । र यो परिवर्तनको नेतृत्व हाम्रो समूहले गर्नेमा सबै इन्जिनियरहरु विश्वस्त बनेका छन् । त्यसकारण यो पटकको निर्वाचनमा हामी एतेहासिक विजय प्राप्त गर्दैछौं । हामी विजयी भएपश्चात निर्वाचनमा होमिएका सम्पूर्ण समूहहरुको प्रतिनिधित्व हुनेगरी एक सल्लाहकार समूहको निर्माण गरी अगाडि बढ्नेछौं । र यो संस्थालाई इन्जिनियरहरुको मालाको रुपमा विकसित गर्नेछौं ।

युवा इन्जिनियरका बारेमा के छ तपाईको धारणा ?

युवा इन्जिनियरहरु यो देशको परिवर्तनका सम्वाहक शक्ति हुन् । आज भर्खरै अध्ययन सम्पन्न गरेका इन्जिनियर साथीहरुलाई सहज रुपमा रोजगार प्राप्त गर्ने वातावरण छैन् । त्यसकारण हामी नयाँ इन्जिनियर साथीहरुलाई रोजगार सहजताको वातावरण निर्माण गर्न चाहन्छौं । आज धेरै इन्जिनियर साथीहरु नेपाल इन्जिनियरर्स एसोसियसनको सदस्य किन बन्ने भनेर प्रश्न गर्नुहुन्छ । र सदस्यता लिनुभएको छैन् । हामीले स्थापित गरेका नेतृत्वले यसको आवश्यकतालाई पुष्टि गर्न नसक्दा यो निराशा देखिएको छ । हामी यो मान्यता बदल्न चाहन्छौं । त्यस्तै, हामी हरेक इन्जिनियरिङ क्षेत्रमा गैर इन्जिनियरको नेतृत्वलाई निरुत्साहित गर्न चाहन्छौं । आज मुलुकमा नविन सोचसहितको वैज्ञानिक अविष्कार हुँदा राज्यले यसलाई पहिचान गर्न सकेको छैन् । हाम्रा हजारौं साथीहरु विदेशिन बाध्य छन् । ठूला परियोजनाहरुको निर्माण गरी सम्पूर्ण इन्जिनियरहरुलाई स्वदेशमै सम्मानजनक ढंगबाट काम गर्ने वातावरण हामी निर्माण गर्न चाहन्छौं । त्यस्तै, निजी संस्थाहरुमा रहेको चरम पारिश्रमिक मतभेदको अन्त्यका निमित्त न्यूनतम पारिश्रमिक निर्धारण गर्न चाहन्छौं । इन्जिनियरिङ स्टाफ कलेजको अवधारणा हामीले सार्वजनिक गरिसकेका छौं ।

कोषाध्यक्षको उम्मेदवारको हैसियतमा तपाईको योजना के छ ?

नेपाल इन्जिनियरर्स एसोसियसनलाई केही व्यक्तिहरुको निजी क्लबको रुपमा रुपान्तरण गर्न चाहने सोचलाई हामी यसपटक आम इन्जिनियरहरुको सहयोगमा परास्त गर्दैछौं । आर्थिक पारदर्शिता र फजुल खर्चको अन्त्य हाम्रा प्रमुख एजेण्डा हुन् । त्यस्तै, इन्जिनियरहरुको वृत्तिविकास एवं समस्यामा परेकाहरुलाई सहयोगका निमित्त हामीले इन्जिनियर हित कोषको अवधारणा सार्वजनिक गरेका छौं । आज सदस्यतावाफत लिइएको शुल्क कहाँ कसरी खर्च भयो ? उचित विवरण सार्वजनिक गरिएको छैन् । संस्था प्राय इन्जिनियर दिवस मनाउने प्राचिन कर्मकाण्डीमा सिमित छ । हामी ठूलो सोचका साथ, नयाँ कार्यक्रमहरुका साथ उपस्थित हुनेछौं ।

अन्त्यमा

आज भूकम्पपछिको पुनर्निर्माण क्षेत्रमा कार्यरत इन्जिनियर साथीहरुलाई अत्यन्त न्यून पारिश्रमिक दिइएको छ । जोखिमपूर्ण स्थानमा काम गरिरहँदा विमाको व्यवस्था हुन जरुरी छ । त्यस्तै, पारिश्रमिक र भत्ता कम्तीमा सय प्रतिशतले वृद्धि गर्न जरुरी छ । हामी ती इन्जिनियर साथीहरुको सुरक्षा एवं हकहितका निमित्त सदैव पहल कदमी गर्नेछौं । माथि उठान भएका विषयहरुको सम्बोधनका निमित्त हामीले विवेकपूर्ण ढंगबाट नेतृत्व चयन गर्न आवश्यक छ । तसर्थ आगामी निर्वाचनमा सम्पूर्ण इन्जिनियर साथीहरुले डा. सुमित्रा आमात्यको नेतृत्वमा रहेको प्रगतिशील तथा पेशागत समूहलाई आफ्नो अमूल्य मत दिइ विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएको छु ।