काठमाडौँ, २२ भदौ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन गर्न अपरिहार्य रहेको बताउनुभएको छ ।
जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०२औँ जन्मजयन्तीका अवसरमा बिपी कोइराला स्मृति ट्रस्टले यहाँ आज आयोजना गरेको कार्यक्रममा सभापति देउवाले निर्धारित समयभित्रै सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन गर्न सकिए मात्र संविधान पूर्णताले पूर्णता पाउने धारणा राख्नुभयो ।
संविधान कार्यान्वयन र निर्वाचनका लागि सबैसँग छलफल गरेर अघि बढ्ने बताउँदै उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनमा सबै दलको सहमति आवश्यक छ ।”
बिपी कोइरालाको अद्वितीय राजनीतिक क्षमताको प्रशंसा गर्दै सभापति देउवाले बिपी लेखन, दर्शन, विचार, साहित्य र अर्थशास्त्रमा उत्तिकै निपुण रहनुभएको स्मरण गर्नुभयो ।
काँग्रेस नेता एवम् पूर्वमन्त्री डा रामशरण महतले बिपीको पालामा राजनीतिक नेतृत्व अघि र मुलुुक पछि रहेकामा हाल मुलुक अघि बढिसकेको तर नेतृत्व पछि नै रहेको बताउनुभयो । मुलुकमा योग्यता र क्षमताभन्दा राजनीतिक भागबन्डा र गुटको बोलवाला बढेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
श्रम तथा रोजगारमन्त्री एवम् ट्रस्टका सदस्य सूर्यमान गुरुङले बिपी कोइरालासँगका प्रसङ्ग स्मरण गर्दै बिपीका असाधारण क्षमताका कारण उहाँका समकक्षीले बिपीलाई अत्यन्त आदर गर्ने गरेको बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले बिपी कोइरालाको नाम र दर्शन जपेर मात्रै अघि बढ्न नसकिने बताउँदै त्यसलाई समयसापेक्ष रुपमा व्यवहारमा उतार्ने खाँचो रहेको औंल्याउनुभयो ।
कार्यक्रममा काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, नेता होमनाथ दाहाल, ट्रस्टका उपाध्यक्ष श्रीहर्ष कोइराला, महासचिव रामचन्द्र पोखरेल, कार्यकारी निर्देशक राजेन्द्र पराजुलीलगायतले नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीले गरेका योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा बिपी साहित्य सम्मानबाट साहित्यकार भुवन ढुङ्गानालाई र बिपी सेनानी सम्मानबाट प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । ती सम्मान क्रमशः रु एक लाख एक हजार र रु २५ हजार राशिका हुन् । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । रासस












प्रतिक्रिया