२८ आश्विन २०८३, बुधबार

ओलीका सल्लाहकार भन्छन्- चिनियाँ राष्ट्रपतिको भ्रमण रद्द हुनुमा प्रचण्ड दोषी छन्

12.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xi-jinping

काठमाडौं, २२ भदौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार गोपाल खनालले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण रद्द हुनुमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जिम्मेवार रहेको बताएका छन् ।

दैनिक नेपालसँगको कुराकानीमा उनले नेपालका राष्ट्रिय स्वार्थलाई अगाडि बढाउँदै भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न खोजेका पूर्व प्रधानमन्त्री ओलीलाई हटाउन बाह्य शक्तिको गोटी बनेका प्रचण्ड चिनियाँ राष्ट्रपतिको भ्रमण रोकिनुले थप पुष्टि गरेको बताए ।

‘स्वभाविक रुपमा पूर्ववर्ती सरकारले नेपालका राष्ट्रिय स्वार्थलाई अगाडि बढाउँदै दुईटै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्न खोजेको थियो,’ उनले भने– ‘दुईटै छिमेकसँग नेपाली स्वार्थमा सम्बन्ध अगाडि बढिरहेका बेला बाह्य चलखेल भयो र सरकार ढालियो । चलखेलको गोटीको रुपमा प्रचण्ड प्रस्तुत भए । यो भ्रमण रोकिनुले थप पुष्टि गरेको छ ।’

पूर्व प्रधानमन्त्री ओलीका सल्लाहकार खनालले यो सरकारले ऐतिहासिक भ्रमण किन गराउन सकेन् ? भन्ने प्रश्न हरेक नेपालीको मनमा उब्जिएको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनतालाई स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे ।

खनालसँग गरिएको कुराकानी यसप्रकार छः

Gopal-khanal

मुख्य गरी चिनियाँ राष्ट्रपतिको भ्रमणको बारेमा दुबै देशका सरकार प्रमुखको तहमा र उच्च अधिकारीको तहमा छलफल भइरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला चिनियाँ राष्ट्रपतिलाई नेपालका राष्ट्रपतिको तर्फबाट निम्तो दिइएको थियो र चीनले निम्तो स्वीकार गरेको थियो । यसबीचमा चीनले पनि भ्रमणको तयारी गरिरहेको सार्वजनिक भइरहेको बेला जसरी भ्रमण स्थगित भयो यो नेपाली कुटनीति र नेपाली सम्बन्धमा ठूलो धक्का हो । भ्रमण रद्द गरिनुको कारण अघिल्लो सरकारले गरेका ऐतिहासिक सम्झौता यातायात तथा पारवाहन, कनेक्टिभिटी, रसुवागढी, पोखरा, काठमाठौं रेलमार्ग लगायतका सम्झौतालाई कार्यान्वय गर्न अहिलेको सरकार उदासिन भएको र चिनियाँ राष्ट्रपतिको अवधारणा वान बेल्ट वान रोड परियोजनामा नेपालकोतर्फबाट तयारीहरु नभएको विवरण आएको छ । यस्तो हो भने नेपालका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

नेपाल र चीनबीच भएका सम्झौतालाई प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन गर्ने प्रतिबद्धता गरिरहेको अवस्थामा, यतिमात्रै होइन् नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण गराउन विशेष दूत पठाएको गतिविधी हेर्दा यो सरकारले पनि देशलाई आत्मनिर्भरतिर लैजाने सम्झौता कार्यान्वयन गर्ने आशा नेपाली जनतामा थियो । तर, अब नेपालले त्यो अवसर गुमाएको छ । यसमा पूर्णत वर्तमान सरकार जिम्मेवार छ । ओली सरकारले असन्तुलित सम्बन्ध राख्यो भन्दै त्यतिबेला कुतर्क गर्दै आएका थिए । तर, अहिले जून ढंगको परिणाम देखिएको छ यसले चीन र भारतमा नेपालको कुटनीति असफल भएको देखाउछ । अर्काे के सन्देश दिन्छ भन्दाखेरी यो सरकारले छिमेकीसँगको सम्बन्धलाई सन्तुलित ढंगले अगाडि बढाउन सक्दैन् भन्ने पुष्टि गरेको छ ।