३० आश्विन २०८३, शुक्रबार

पूँजीवाद ! साम्यबाद ! समाजबाद ! हैदराबाद !

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishwa-Binod

भारतीय रेलको एकटंकारको आवाजले मलाई निकै सताई रहेको थियो । देशमा काम नपाएपछि भारत भास्सिनुको कुनै बिकल्प थिएन । हुन पनि हामी चाईनाले बनाएको छाता ओढेर बिग्रेपछि तिनै भारतीयलाई बनाउन लगाएर ओढ्ने हामीहरु त्यै छाता बिग्रेपछि फेरि कवाडीमा बेच्छौं र शालिनताको महसुुस गर्छौं । वाह ! यो मेरो देशको चलन नै हो किन पछुतो मानुँ म हँ?

बोर्डर कट्ने बेलामा सयौंको संख्यामा हामी नेपालीहरु भारतको भूमिमा सपना साँचेर जाँदै गरेका थियौं । कोही बन्धकको बारी निखन्न जान लागेको भन्थे त कोही साहुको रिन तिर्न जान लागेको भन्थे । आफू गाउँका एक जना नेताले बिदेश पठाइदिन्छु भनेर पैसा डुवाई दिएपछि त्यही रिन तिर्नको सोझोले बिदेशको रेलमा दौडिई रहेको थिएँ ।

पढ्दै नपढेको म मोरो ग्वाँकलाई देश काल परिस्थितिको बारेमा के थाहा ? तर त्यही रेलमा नेपालका जस्ता देखिने केही भुँडीवाल मान्छेहरु गफ्फिएर बसेका थिए । म अर्धनिन्द्रामा उनीहरुको बातचित सुन्दै थिएँ । नेपालको बारेमा निकै कुरा गर्दै थिए उनीहरु । एक जनाले बिदेशी हस्तक्षेपको कुरा गरिरहेको थियो भने अर्को भन्थ्यो – आखिर बिदेशी हस्तक्षेपको कुरा गर्ने हो भने तपाई यहाँ किन बिदेशी रेल किन चढ्नुहुन्छ हँ ? पहिलो मान्छे भन्थ्यो – यो त परिवर्तन हो नि । दोश्रो मान्छे भन्थ्यो – त्यसो भए परिवर्तनलाई आत्मसात गर । तिम्लाई थाहा छैन नेपालको बारेमा जे हुन्छ त्यसका सम्झौताहरु बिदेशी भूमिमा हुन्छन् । यो चलन त हाम्रो पुख्र्यौली चलन भएको तिमिलाई थाहा छैन ।

उनीहरु एकछिन साम्य भए । एक क्षणपछि पुन बिभिन्न राजनीतिक कुरा फेरि बढाउन थाले । त्यहाँका मानिसले पूँजीवादका फाइदाका बारेमा व्याख्यान गर्दै थिए । अर्कोले त्यसको बेफाइदाको बारेमा सम्झाउँदै थियो । यौटाले साम्यबादको बारेमा व्याखान गर्दा अर्काले त्यही साम्य बादको बेफाईदाको बारेमा जमेर कुरा गर्थे । फेरि समाजबादको फाइदा र बेफाइदाको बारेमा घम्साघम्सी पथ्र्यो । मलाई लाग्थ्यो कि त्यहाँ प्रतियोगितात्मक बादबिवाद प्रतियोगिता छ जस्लाई प्राय नेपालको संसद भवनमा देख्न पाइन्छ । म मोरो अनपढ ग्वाँकलाई यी बादको बारेमा के थाहा र यस्को बारेमा के बोल्ने तर मलाई उनीहरुलाई सोध्न चाहिँ मन थियो । पाएको भए मैले सोध्ने थिएँ – यी वाद मध्ये कुन चाँहि बादले पेटभर खान दिन्छ ? तर म जस्तो सानो मान्छेले उनीहरुसँग सोध्न उचित लागेन । यहाँ सानालाई खिसि गर्ने चलन छ नि त !

यिनै बादै बादको कुरा हुँदा रेल घ्याच्च रोक्कियो । केही मानिसहरु रेलबाट तल झर्नको लागि तम्तयार भएका थिए । मेरो लागि त्यो नौलो परिबेश थियो । मैले तिनै बिभिन्न वादका बारेमा कुरा गर्नेलाई भनेँ – ए हजुर तपाईहरुमध्ये कोही पूँजीवादमा, कोही साम्यबाद त कोही समाजवाद भन्ने ठाउँ झर्ने होला तर म त नौलो छु मलाई चाँहि हैदराबाद आउनासाथ झार्दिनुहोला है, कामको खोजीमा निस्केको हुँ । खै मैले के भनेँ तर उनीहरु मेरो मुखमा हेरेर गलल्ल हाँस्न थाले । जदौ !

(अर्काले भनेको सुनेर तोडमोड गरेर लेखेको)