काठमाडौं, २२ भदौ । यही भदौ ३१ गते हुनलागेको नेपाल इन्जिनियर्स एशोसियसनको ३१ औ कार्यकारिणी परिषद्को निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत इन्जिनियर समूह बलियो देखिएको छ ।
यो समूहमा युवा उम्मेदवारको उल्लेख्य उपस्थिती, केही फरक काम गर्नसक्ने युवाहरुको समूह (जसले आफूहरुलाई फरक कामबाटै इन्जिनियरिङ समुदायमा पहिचान स्थापित गरिसकेका छन्), इन्जिनियरका हकहितमा स्पष्ट घोषणापत्र, देशभरीका इन्जिनियरहरुको साथले निर्वाचनमा विजयी हुने करिब निश्चित भइसकेको एक युवा इन्जिनियर जितेन्द्र मिश्रले बताए ।
इन्जिनियर्स एशोसियसनको निर्वाचनमा पाँच समूहले भाग लिँदैछन् । जसमा अहिलेसम्मको माहोल प्रगतिशील समूहको पक्षमा देखिएको छ । यो समूहले आफ्नो विचार र एजेण्डाबाटै देशभरका इन्जिनियरलाई आकर्षित गरेको छ । जसका कारण पनि जित सुनिश्चित भएको बताइन्छ ।
अर्काे कारण यो समूहमा चर्चित अनुहारको उम्मेदवारी छ । जसमा ई. डा. सुमित्रा आमात्यले नेतृत्व गरेकी छन् । त्यसैगरी चर्चित कम्युनिष्ट नेता मनमोहन अधिकारीका छोरा प्रा.डा. प्रकाशचन्द्र अधिकारी पनि उम्मेदवार छन् । त्यसैगरी युवाका तर्फबाट चर्चित नेता सन्जीव रोकाहा पनि सशक्त उम्मेदवार हुन् । यसकारण पनि यो समूह निर्वाचनमा बलियो देखिएको इन्जिनियरहरु बताउँछन् ।
यस्ता छन् प्रगतिशील समूहका चर्चित तीन अनुहारः
ई. डा. सुमित्रा अमात्य (अध्यक्षका उम्मेदवार)
यो निर्वाचनमा एमालेको तर्फबाट पेशागत तथा प्रगतिशील समूहको नेतृत्व ई. डा.सुमित्रा अमात्यले गर्नु भएको छ । उहाँ राष्ट्रिय योजना आयोगका निवर्तमान सदस्य, फोहरमैला व्यवस्थापन केन्द्रको पूर्व कार्यकारी निर्देशक एवं पहिलो आर्किटेक पीएचडी महिला हुनुहुन्छ । त्यस्तै, सुमित्रा कम्युनिष्ट पार्टीका संस्थापक तुलसीलाल अमात्यकी बुहारी पनि हुनुहुन्छ ।
यसपटक इन्जिनियर्स एसोसियसनको अध्यक्षमा एमालेले महिला उम्मेदवारका रुपमा उहाँलाई अघि सारेको छ । जसले पनि चुनावी माहोल अझै बढाएको छ । उहाँ निर्वाचित भए इन्जिनियर्स एसोसियसनको ५१ वर्षे इतिहासमा पहिलो महिला अध्यक्षको रेकर्ड कायम गर्नुहुनेछ ।
सन्जीब रोकाहा (कोषाध्यक्षका उम्मेदवार)
चर्चित युवा नेता एवं युवा अभियन्ता विभिन्न संघ सस्थामा रहेर काम गरिरहेका ई. सन्जीब रोकाहाको उम्मेदवारीले निर्वाचनको पूर्व सन्ध्यामा व्यापक माहोल निर्माण भएको छ । बिशेषत अन्य बिचार समूहका इन्जिनियरलाई आकर्षण गर्नसक्ने व्यक्ति रोकाहाको उम्मेदवारीले थप उत्साह थपेको छ । २०५८ सालमा कान्तिपुर कलेजबाट इन्जिनियरिङ क्यारियर सुरु गरेका रोकाहा त्यतिबेलाका चर्चित इन्जिनियरिङ विद्यार्थी नेताका रुपमा स्थापित हुनुभएको थियो । पछिल्लो समय आधादर्जन भन्दा बढी संस्थामा आवद्ध रोकाहा अनुभवी एवं बौद्धिक व्यक्ति हुनुहुन्छ । पूर्वाञ्चल विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न उहाँले चालेको नागरिक अभियान पछिल्लो समय सर्वाधिक चर्चाको विषय बनेको थियो । रोकाहाले आजसम्म जहाँ जहाँ गएका छन् त्यहाँका समस्यालाई समाधान गर्न अभियान चलाएर सफल बनाउँदै आउनुभएको छ । उहाँ जहाँ जानुहुन्छ त्यहाँ नयाँ माहोल सिर्जना गर्ने व्यक्तित्वको रुपमा चिनिनुहुन्छ । आउँदै गरेको निर्वाचनमा रोकाहालाई ठूलो संख्यामा स्वतन्त्र इन्जिनियरहरुको समर्थन रहेको बताइन्छ ।
प्राध्यापक डाक्टर प्रकाश अधिकारी (सदस्य उम्मेदवार, नेपाल इन्जिनियरिङ परिषद्)
४० वर्ष लामो प्राध्यापन जिम्मेवारी सम्हालेका प्रा.डा. प्रकाश अधिकारी चर्चित पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका पुत्र हुनुहुन्छ । हाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका अधिकारीले माइनिङ इन्जिनियरिङमा स्नातकोत्तर गरी क्लाइमेट चेञ्ज (वातावरण परिवर्तन) विषयमा विद्यावारिधी गर्नुभएको छ । कम बोल्ने सालिन व्यक्तित्वका धनी अधिकारीको परामर्शदाताको रुपमा देश तथा विदेशमा लामो अनुभव छ ।
प्रगतिशील समूहबाट इन्जिनियर्स एशोसियसनको निर्वाचनमा होमिएका तीनै उम्मेदवारले परिवर्तनको पक्षमा मतदान गर्न सम्पूर्ण इन्जिनियरहरुलाई अपिल गरेका छन् । कांग्रेस निकट लोकतान्त्रिक समूहलाई यी तीन अनुहारको कारण यो निर्वाचनमा ठूलो चुनौति थपिएको बताइन्छ ।












प्रतिक्रिया