काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल नुवाकोटको जिल्ला अधिवेशन परराष्ट्रमन्त्री डा.प्रकाश शरण महत समूहका कारण विथोलिन पुगेको छ ।
डा.महत निकट मानिने तरुण दलका अध्यक्ष अर्जुन न्यौपानेले आजका लागि जिल्ला अधिवेशन बोलाएका थिए । कांग्रेसका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीलाई समेत सइँको नदिएर अधिवेशन बोलाएपछि केसी समूहले पनि अलग अधिवेशन आह्वान गरेको थियो ।
सभापति शेरबहादुर देउवा निकटकै यी दुई समूहका कारण अलग अलग अधिवेशन आह्वान भएपछि केन्द्रबाट बालकृष्ण खाँड नेतृत्वको निर्देशक समितिले दुबै पक्षलाई आ–आफ्ना अधिवेशन रोक्न दिर्नेशन दिएपछि दुबै अधिवेशन तत्कालका लागि रोकिएको छ ।
जिल्ला सभापति केसी समूहले आफ्नो अधिवेशनलाई भेलाका रुपमा परिणत गरेको छ । तरुण दलका अध्यक्ष न्यौपानेले परराष्ट्रमन्त्री डा.महतलाई बोलाएर प्रमुख अतिथि बनाइ धुमधामसँग उद्घाटन गर्ने समपना केसी समूहले चकनाचुर बनाइ दिएको छ । तत्कालका लागि तरुण दल नुवाकोटको जिल्ला अधिवेशनको प्रमुख अतिथि बन्ने डा.महतको समपना तुहिएको छ ।
उता, कांग्रेसका जिल्ला सभापति एवम् सांसद जगदीश्वर नरसिंह केसीले तरुण दलको गाउँ र नगर अधिवेशन भएको आफूलाई कुनै जानकारी नआएको बताएका छन् । ‘गाउँ र नगर अधिवेशन नभइकन कसरी जिल्ला अधिवेशन हुन्छ ?’, उनले भने, ‘राजधानीका होटलमा भएका अधिवेशन र प्रतिनिधिहरूको लिष्ट लिएर हिँड्दैमा मान्नु पर्छ भन्ने छैन ।’
आफू जिल्ला सभापति हुँदा पनि तरुण दलको गतिविधि जानकारी नदिने न्यौपाने समूहका विषयमा केन्द्रमा आजको भेलाबाट निर्णय गराएर पठाउने केसीले उल्लेख गरेका छन् ।
तरुण दल हत्याउन परराष्ट्रमन्त्री महत लागेको आरोप छ । डा.महतलाई योजनामा सफल हुन नदिन केसी समूह कम्मर कसेर लागेको छ ।
रामचन्द्र पौडेल समूह भने दुबैको बिबादबाट फाइदा लिन ढुकेर बसेको छ । नुवाकोटमा केसी र महत समूहको ठूलो राजनीतिक लडाइँ छ ।











प्रतिक्रिया