काठमाडौं, २१ भदौ । नेकपा एमालेका नेता लालबाबु पण्डितले छिमेकी देशले भने अनुसार संविधान संशोधन गरे नेपालको सार्वभौमिकता नजोगिने दावी गरेका छन् ।
रिपोर्टर्स क्लवले राजधानीमा मंगलवार आयोजना गरेको कार्यक्रममा एमाले नेता पण्डितले कांग्रेसतिर लक्षित गर्दै प्रश्न गरे- ‘संविधान जारी गरेको जस लिने नेताहरु नाङ्गै हिंड्न थाले भोलि के हुन्छ ?’
उनले संविधान जारी गरेको जस लिन खोज्ने कांग्रेस नै संविधान संशोधन नगरी कार्यान्वयन गर्न नसकिने वताएर नाङ्गै हिंडेको तर्क गरे । ‘संविधान हाम्रै नेतृत्वमा जारी गरेको भन्नुहुन्थ्यो, अव संशोधन नगरे कार्यान्वयन नै गर्न सकिंदैन भनेर नाङ्गै हिंड्न थाल्नु भएको छ, यसरी नाङ्गै कहिलेसम्म हिंड्ने ?’
संविधानको सर्वस्वीकार्यताको गलत अर्थ लगाइएको वताउँदै पंण्डितले संविधान अस्वीकार गर्ने मधेसी मोर्चालाई हिस्सा दिनु नै संविधानको सर्वस्वीकार्यता नभएको वताए । ‘संविधान जारी गर्न नदिने मधेसी मोर्चाले स्वीकार गरेपछि संविधान सर्वस्वीकृत हुने भए संविधानसभाको चुनाकै विरोध गर्नेको विचारलाई कसरी संविधानमा समावेश गर्ने ?’ पण्डितको प्रश्न थियो ।
संविधान कार्यान्वयन गर्दै जाँदा आवश्यक परेमात्रै संशोधन गर्ने उनले स्पष्ट पारेका छन् । पण्डितले मधेसलाई अलग राष्ट्र बनाउन खोज्नेहरुले कसैको इसारामा संविधान संशोधन गर्न चाहेको तर्क गरे ।
‘अलग राष्ट्र बनाउँछु भन्नेहरु अहिले संविधान संशोधनको कुरा गर्दै छन्’ पण्डितले भने, ‘छिमेकीले आज मधेश शान्त चाहियो संविधान संशोधन गर भन्दैछ, भोलि अलग मधेश, स्वतन्त्र मधेशका लागि संविधान संशोधन गर भन्नेछ । यसरी संविधान संशोधन गरियो भने भोलि नेपालको सार्वभौमिकता के हुन्छ ? स्वतन्त्रतातर्फ सोचौं, नेपाली भएर सोचौं ।’ उनले संविधान संशोधन गर्नै नहुने भन्ने पक्षमा एमाले नभएको तर औचित्यका आधारमा मात्रै संशोधन हुनु पर्ने वताए ।












प्रतिक्रिया